पोखरा, १२ भदौ २०८३।
चीनले भोटेकोशी नदीमा पुनः बाढी आउन सक्ने भन्दै नेपाल सरकारलाई सतर्क गराएको छ। चीनतर्फबाट नेपालको परराष्ट्र मन्त्रालय हुँदै प्राप्त सूचनाका आधारमा राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले भोटेकोशी नदीको तल्लो तटीय क्षेत्रमा रहेका बासिन्दा, यात्रु तथा उद्धारकर्मीलाई विशेष सतर्कता अपनाउन आग्रह गरेको हो।
प्राधिकरणका अनुसार चीनबाट प्राप्त भू–उपग्रह तस्बिर तथा प्रारम्भिक विश्लेषणले भाद्र १० गते बाढी आएको स्थानमा नदी थुनिएर ठूलो ताल बनेको देखाएको छ। उक्त ताल निरन्तर बढिरहेको र कुनै पनि बेला फुट्न सक्ने जोखिम रहेको चिनियाँ पक्षको सूचनामा उल्लेख छ।
सम्भावित जोखिमलाई ध्यानमा राख्दै अर्को सूचना जारी नभएसम्म भोटेकोशी नदीको तल्लो तटीय क्षेत्रमा बसोबास गर्ने नागरिक, यात्रु, उद्धारमा खटिएका सुरक्षाकर्मी तथा अन्य सबैलाई नदी किनार र जोखिमयुक्त क्षेत्रबाट सुरक्षित स्थानमा रहन प्राधिकरणले अनुरोध गरेको छ।
यसैबीच चीनको जलस्रोत मन्त्रालयले भोटेकोशीको शिरतर्फ छोचेन खोला र पुरेपु छाङ्पो नदीको संगमस्थलमा पहिरोका कारण नदी थुनिएर बिहीबार बिहानसम्म करिब २० लाख घनमिटर पानीको ताल बनेको जनाएको छ। उक्त तालबाट पानी ओभरफ्लो भएर बाहिर बग्न थालेको चिनियाँ सञ्चारमाध्यमले उल्लेख गरेका छन्।
चिनियाँ पक्षका अनुसार आगामी तीन दिनमा उक्त स्थानमा थप करिब ३० लाख घनमिटर पानी जम्मा हुन सक्ने अनुमान गरिएको छ। चीनको सरकारी प्रसारक सीसीटीभीलाई उद्धृत गर्दै चिनियाँ सञ्चारमाध्यमले ताल फुट्ने जोखिम उच्च रहेको जनाएका छन्।
उक्त ताल नेपाल–चीन सीमा नजिकैको तिब्बत स्वायत्त क्षेत्रअन्तर्गत केरूङ काउन्टीमा पर्ने छोचेन खोला र पुरेपु छाङ्पो नदीको संगमस्थलमा बनेको हो। यो स्थान रसुवागढी नाकाबाट करिब २.५ किलोमिटरको दूरीमा रहेको बताइएको छ।
चीनको जलस्रोत मन्त्रालयले तालको अवस्थालाई निरन्तर निगरानी गरिरहेको जनाएको छ। सम्भावित रूपमा ताल फुटेर ठूलो बाढी आएमा तत्काल उद्धार तथा राहत कसरी सञ्चालन गर्ने भन्ने विषयमा अध्ययन, सम्भावित अवस्थाको नमुना अभ्यास र प्राविधिक विश्लेषणसमेत भइरहेको चिनियाँ पक्षले जनाएको छ।
यसअघि बुधबार आएको बाढी तथा पहिरोले नेपालमा ठूलो जनधनको क्षति गरेको थियो। उपलब्ध विवरणअनुसार हालसम्म २७० जनाको शव फेला परेको र करिब एक हजार व्यक्ति बेपत्ता रहेको जनाइएको छ।
उता बाढीका कारण चीनको दक्षिणपश्चिमी तिब्बत स्वायत्त क्षेत्रस्थित केरूङ बन्दरगाह क्षेत्रमा समेत ठूलो क्षति पुगेको छ। चिनियाँ पक्षले विपद्पछि आपत्कालीन उद्धारकर्मी, जनमुक्ति सेना (पीएलए), इन्जिनियरिङ टोली, दूरसञ्चार सेवा प्रदायक तथा राहत संस्थाहरूलाई परिचालन गरेको जनाएको छ।
उद्धार तथा राहतका लागि जनशक्ति, विमान, आवश्यक उपकरण र राहत सामग्री प्रभावित क्षेत्रमा पठाइएको बताइएको छ। चीन आननङ ग्रुपका आठ इन्जिनियरको टोलीले ड्रोनमार्फत नदी थुनिएर ताल बनेको स्थानको हवाई तस्बिरसमेत संकलन गरेको जनाइएको छ।
बिहीबार बिहानसम्मको चिनियाँ पक्षको विवरणअनुसार केरूङ क्षेत्रमा भएको घटनामा तीन चिनियाँ नागरिकको मृत्यु भएको छ भने दुई जनाको उद्धार गरिएको छ। त्यहाँ २६० विदेशी नागरिकसहित ५५८ जना अझै बेपत्ता रहेको ग्लोबल टाइम्सले जनाएको छ।
भोटेकोशी नदीमा पुनः बाढीको सम्भावना देखिएपछि नेपालतर्फ नदीको तल्लो तटीय क्षेत्रमा जोखिम बढेको भन्दै सम्बन्धित निकायले नागरिकलाई उच्च सतर्कता अपनाउन र सम्भव भएसम्म नदी किनार तथा जोखिमयुक्त स्थानबाट टाढा रहन आग्रह गरेका छन्।
china daily wrote “