भोटेकोशी बाढी अपडेट : मृत्यु हुनेको संख्या तीनसय ८९ पुग्यो, उद्धार र बेपत्ताको खोजी तीव्र

भोटेकोशी बाढी अपडेट : मृत्यु हुनेको संख्या तीनसय ८९ पुग्यो, उद्धार र बेपत्ताको खोजी तीव्र


  • जनसञ्चार डट कम समाचारदाता
  • शुक्रबार, १२ भाद्र २०८३
  • 836
    Shares

पोखरा, १२ भदौ २०८३।

रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण मृत्यु हुनेको संख्या ३८९ पुगेको छ। नेपाल प्रहरीका अनुसार बिहीबार राति ९ बजेसम्म बाढी तथा पहिरोबाट प्रभावित विभिन्न आठ जिल्लाबाट ३८९ जनाको शव फेला परेको हो।

प्रहरीका अनुसार चितवनमा १३७, नवलपरासी पूर्वमा ८७, धादिङमा ३३, गोरखामा ३२, तनहुँमा २८, नवलपरासी पश्चिममा २७, रसुवामा १७ र नुवाकोटमा २८ जनाको शव फेला परेको छ। प्रारम्भिक विवरणसँग तुलना गर्दा पछिल्लो समय नदीको बहावसँगै तल्लो तटीय जिल्लामा शव फेला पर्ने क्रम बढेको देखिएको छ।

बाढीमा अझै ठूलो संख्यामा मानिस बेपत्ता छन्। सुरक्षाकर्मी, स्थानीय बासिन्दा तथा आफन्तहरूले नदी किनार, बाढीले पुरिएका संरचना र प्रभावित क्षेत्रमा निरन्तर खोजी गरिरहेका छन्। प्रहरीले हालसम्म ४६६ जनालाई उद्धार गरेको जनाएको छ। रसुवाबाट मात्रै २८९ जनाको उद्धार गरिएको विवरण सार्वजनिक भएको छ।

रसुवा सबैभन्दा बढी प्रभावित

बाढीको मूल प्रभाव रसुवाको तल्लो तटीय क्षेत्रबाट सुरु भएर नुवाकोट, धादिङ हुँदै त्रिशूली नदीको बहावसँगै चितवन, गोरखा, तनहुँ तथा नवलपरासीसम्म पुगेको छ। बाढीले घर, सडक, पुल, जलविद्युत् आयोजना, सरकारी तथा निजी संरचना र सञ्चार पूर्वाधारमा ठूलो क्षति पुर्‍याएको छ।

सरकारले बाढीपछि जोखिममा रहेका नागरिकलाई सुरक्षित स्थानमा सार्न, अवरुद्ध सडक खुलाउन, घाइतेको उपचार गर्न तथा बेपत्ताको खोजी तीव्र बनाउन सुरक्षा निकायलाई परिचालन गरेको छ। नेपाल प्रहरीले प्रभावित क्षेत्रमा उद्धार, खोजी, राहत वितरण, शव व्यवस्थापन र क्षतिको मूल्याङ्कनका लागि थप जनशक्ति परिचालन गरेको जनाएको छ।

नेपाल प्रहरीका वरिष्ठ प्रहरी अधिकृतको कमाण्डमा थप टोली परिचालन गरिएको छ। उद्धार तथा खोजीमा ड्रोन, सञ्चार उपकरण, तालिमप्राप्त कुकुरसहितका टोली समेत प्रयोग गरिएको प्रहरीले जनाएको छ। घटनास्थलको वस्तुस्थिति बुझ्न, घाइतेको उद्धार, शव व्यवस्थापन र अन्य सुरक्षा निकायसँग समन्वय गर्न विशेष टोली परिचालन गरिएको छ।

सेनाका हेलिकप्टरदेखि स्वास्थ्य टोलीसम्म परिचालन

उद्धार कार्यलाई तीव्र बनाउन नेपाली सेनाले पाँच वटा हेलिकप्टरसहित दुई हजारभन्दा बढी सैनिक परिचालन गरेको जनाएको छ। सेनाका अनुसार बिहीबार बिहानसम्म हवाई माध्यमबाट ११४ र स्थलमार्गबाट ६३ गरी १७७ जनाको उद्धार गरिएको थियो।

सरकारले उद्धार गरिएका घाइतेको उपचारका लागि नुवाकोटस्थित जिल्ला अस्पतालमा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीका चिकित्सकसहितको स्वास्थ्य टोली परिचालन गरेको छ। गम्भीर घाइतेको उपचारका लागि काठमाडौंका प्रमुख अस्पताललाई समेत तयारी अवस्थामा राखिएको छ।

नेपाल प्रहरीले पनि आफ्नै अस्पतालबाट चिकित्सकसहितको टोली प्रभावित क्षेत्रमा पठाएको छ। एम्बुलेन्स तथा आवश्यक स्वास्थ्य सामग्रीसहित चिकित्सक टोली परिचालन गरिएको र नेपाल प्रहरी अस्पतालको इमर्जेन्सी तथा ट्रमा वार्डलाई तयारी अवस्थामा राखिएको जनाएको छ।

सडक तथा यातायातमा ठूलो असर

बाढीले पृथ्वीराजमार्गको गल्छी–स्याफ्रुबेँसी सडक, मुग्लिन–नारायणगढ सडक तथा त्रिशूली नदी आसपासका विभिन्न सडकखण्डमा समेत जोखिम बढाएको थियो। सम्भावित थप क्षतिलाई ध्यानमा राख्दै केही सडकमा आवागमन रोकिएको र अवरोध हटाउने काम भइरहेको प्रहरीले जनाएको छ।

बाढीले पुल तथा सडक बगाउँदा कतिपय प्रभावित क्षेत्रमा स्थलमार्गबाट उद्धार गर्न कठिनाइ भएको छ। यस्तो अवस्थामा हेलिकप्टरमार्फत उद्धार, राहत तथा स्वास्थ्य सामग्री पुर्‍याउने कामलाई प्राथमिकता दिइएको छ।

सरकारले उद्धारलाई पहिलो प्राथमिकता बनायो

बाढीपछि बसेको मन्त्रिपरिषद्को आकस्मिक बैठकले प्रभावित नागरिकको उद्धार, उपचार, राहत तथा पुनःस्थापनाका लागि विभिन्न निर्णय गरेको छ। सरकारले घाइतेको निःशुल्क उपचार, जोखिममा रहेका तथा घरबारविहीन नागरिकलाई सुरक्षित स्थानमा स्थानान्तरण, खाना र बसोबासको व्यवस्था गर्ने निर्णय गरेको छ।

त्यसैगरी बाढीबाट अवरुद्ध सडक तत्काल सञ्चालनमा ल्याउने, खानेपानी तथा विद्युत् आपूर्ति पुनःस्थापना गर्ने र अवरुद्ध दूरसञ्चार सेवा सञ्चालन गर्ने जिम्मेवारी सम्बन्धित मन्त्रालय तथा निकायलाई दिइएको छ।

बाढीबाट मृत्यु भएकाका परिवारलाई प्रचलित कानुनअनुसार आर्थिक सहायता उपलब्ध गराउने तथा क्षतिग्रस्त सार्वजनिक संरचना र भौतिक पूर्वाधार पुनःनिर्माणका लागि आवश्यक स्रोत व्यवस्थापन गर्ने निर्णय पनि सरकारले गरेको छ। प्रभावित स्थानीय तहलाई निश्चित अवधिका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा गर्ने प्रक्रिया अघि बढाइएको छ।

अझै जोखिम कायमै

भोटेकोशी–त्रिशूली जलाधार क्षेत्रमा आएको बाढीपछि नदीको तल्लो तटीय क्षेत्रमा थप जोखिम कायमै रहेको भन्दै प्रशासनले उच्च सतर्कता अपनाउन आग्रह गरेको छ। विशेषगरी नदी किनार, जोखिमयुक्त बस्ती तथा कमजोर संरचनामा रहेका नागरिकलाई सुरक्षित स्थानमा बस्न आग्रह गरिएको छ।

यसैबीच नेपाल सरकारले प्रभावित क्षेत्रमा खोज, उद्धार र राहतलाई निरन्तरता दिइरहेको गृह मन्त्रालयले जनाएको छ। मन्त्रालयका अनुसार बाढीबाट भएको मानवीय तथा भौतिक क्षतिको विवरण संकलनसमेत जारी छ।

बेपत्ताको संख्या अझै यकिन हुन नसकेको अवस्थामा नदीमा बगेर तल्लो तटीय जिल्लामा पुगेका शवको पहिचान गर्ने, आफन्तसँग सम्पर्क स्थापित गर्ने तथा सम्भावित जीवित व्यक्तिको खोजी गर्ने कामलाई सुरक्षा निकायले प्राथमिकतामा राखेको छ।

नेपाल प्रहरीले बाढीको नाममा हुने ठगीप्रति समेत सचेत रहन आग्रह गरेको छ। राहत तथा सहयोगका नाममा नक्कली क्यूआर कोड, बैंक खाता वा सामाजिक सञ्जालमार्फत रकम माग हुन सक्ने भन्दै कुनै पनि सहयोग पठाउनुअघि आधिकारिक सरकारी स्रोतबाट विवरण पुष्टि गर्न प्रहरीले आग्रह गरेको छ।

प्रतिक्रिया