भारतीय विद्यालयमा नेपाली विद्यार्थीलाई भर्ना गर्न लक्षित आयोजना गरिएको शैक्षिक मेलामा नेकपा माओवादी निकट अखिल क्रान्तिकारीले हस्तक्षेप गरेको छ । अखिल क्रान्तिकारीमा अावद्ध विद्यार्थीहरुले लाजिम्पाटमा रहेकाे पाँच तारे हाेटेल र्याडिसनमा अायाेजना गरिएकाे मेलामै गएर अाक्रमण गरेका हुन् ।
नेपालका केही दलालहरुले प्रत्येक वर्ष यसरी नै भारतीय विद्यालयहरुलार्इ ल्याएर पाँचतारे हाेटेलमा मेला लगाउने र नेपालका साना कलिला बालबालिकाहरुलार्इ भारत लैजाने गरेकाेले त्यसलार्इ राेक्न हस्तक्षेप गर्नु परेकाे अखिल क्रान्तिकारीका महासचिव दिपेन्द्र चलाउनेले बताएका छन् । मेलामा कक्षा १० भन्दा तल अध्ययन गर्ने बालबालिकाहरुलार्इ स्पटमै भर्ना गरेर भारत लग्ने गरेकाे उनले बताए ।
“भारतले विभिन्न बहानामा नेपालको शिक्षा प्रणालीलाई ध्वस्त बनाउँदै लगेको छ, नेपालको शिक्षामा भारतीयहरुले नीजिकरण र व्यापारीकरण गर्न खोजेका छन, उनले भने यी विषयमा भारत नसच्चिए हामी कडा आन्दोलनमा जान बाध्य हुनेछौं । ” महासचिव चलाउनेले यसअघि पनि धेरै पटक यस्ता गतिविधि राेक्न अाफूहरुले अाग्रह गरेकाे तर लगातार अाफूहरुकाे अाग्रहलार्इ लत्याउँदै नेपाली विद्यार्थीलार्इ भारत पलायन गराउन एक गिराेह लागिपरेकाे बताए ।
आज अपरान्ह भारतीयहरुले नेपाली विद्यार्थी भर्ना गरिरहेको स्थलमा पुगेर कम्प्युटर, शैक्षिक सामाग्री तोडफोड समेत गरिएको छ । उनीहरुले त्यहाँ शैक्षिक माफिया मुर्दावाद, भारतीय हस्तक्षेप मुर्दावाद भन्दै नारा लगाएका थिए । नेपाली शिक्षा प्रणलीमा भारतीय हस्तक्षेप भइरहेको भन्दै नेत्रविक्रम चन्द नेतृत्वको नेकपा माओवादी निकट अखिल क्रान्तिकारीले विगत लामो समयदेखि विभिन्न चरणमा आन्दोलन गर्दै आएको छ ।