मन्त्रालयभित्रै कर्मचारी नेताले उपसचिव कुटे

संबाददाता : ओम हमाल     प्रकाशित मिति: (२०७५ श्रावण २८, सोमबार) ०९:३४

कर्मचारी सरुवाको विषयलाई लिएर नेपाल निजामती कर्मचारी संगठनका उपाध्यक्ष जीवन भण्डारीले मन्त्रालयभित्रै उपसचिवलाई हातपातको प्रयास गरेका छन्। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका कर्मचारी प्रशासन शाखाका उपसचिव ऋषि आचार्यलाई उनले यस्तो प्रयास गरेका हुन्।

कुटपिटमा उत्रिएका भण्डारी शिक्षा विभागका अधिकृत हुन्। आफूनिकटका केही कर्मचारीको सरुवाको सूची लिएर भण्डारी आइतबार दिउँसो ४ बजे संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको कर्मचारी प्रशासन शाखामा पुगेका थिए। उनले शाखामा रहेका उपसचिव आचार्यलाई मैले दिएको कर्मचारीको सरुवाको सूचीअनुसार किन कर्मचारी सरुवा नगरेको भन्दै प्रश्न गरेका थिए।

जवाफमा उपसचिव आचार्यले ती सूचीअनुसारका सरुवा प्रक्रियामै रहेको र केही समय लाग्ने बताएपछि भण्डारी आचार्यमाथि जाइलागेको प्रत्यक्षदर्शी अन्य कर्मचारीले बताएका छन्। भण्डारीले आचार्यमाथि हातपातको प्रयास गर्दै कुर्सीटेबल तोडफोड गरेको प्रत्यक्षदर्शीले बताए। भण्डारीले आचार्यमाथि कुर्सी प्रहार गर्न खोजेपछि अर्का कर्मचारी नेता आरसी अधिकारीले रोकेका थिए।

भण्डारीले कोठामा रहेका गमलासमेत फुटाएका छन्। घटनापछि मन्त्रालय प्रशासनले प्रहरीलाई बोलाएको थियो। तर प्रहरी घटनास्थल पुग्नुअघि नै भण्डारी त्यहाँबाट बाहिरिइसकेका थिए। घटनापछि मन्त्रालयको प्रशासन शाखाका सबै कर्मचारी काम गर्न नसक्ने भन्दै सचिव दिनेशकुमार थपलियासमक्ष पुगेका थिए। थपलियाले आक्रमण गर्न खोज्ने कर्मचारीमाथि कारबाही हुने बताएका छन्।

संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले पनि मन्त्रालयभित्र आतंक मच्चाउने कर्मचारीलाई कारबाही गर्न मन्त्रालयको प्रशासनिक नेतृत्वलाई निर्देशन दिइसकेका छन्।

भण्डारीले भने समान्य प्रशासन मन्त्रालयले कर्मचारी सरुवामा देखाएको गलत रवैयाविरुद्ध आफूले खबरदारी मात्रै गरेको र कसैमाथि हातपात नगरेको दाबी गरेका छन्। कर्मचारीमाथि कुटपिट गर्ने, गालीबेइज्जती गर्ने र बद्नाम गराउने भन्ने संगठनको कुनै नीति नरहेको स्पष्ट पार्दै आइतबारको घटनामाथि संगठनले छानबिन गर्ने संगठनका अध्यक्ष केदारप्रसाद देवकोटाले बताए।


(२०७५ श्रावण २८, सोमबार) ०९:३४ मा प्रकाशित

Exchange Rate

Nepali Patro