पोखरा , ६ बैशाख २०८३।
नेदरल्यान्ड्सकी एक महिलाको कथा प्रेम सम्बन्ध कति हदसम्म अमानवीय र नियन्त्रणकारी बन्न सक्छ भन्ने भयावह उदाहरण बनेको छ। ‘जोक’ नामले चिनिएकी ती महिलाको शरीरको करिब ९० प्रतिशत भागमा उनका पूर्वप्रेमीले जबरजस्ती २५० वटा ट्याटू बनाइदिएका थिए।
ती ट्याटूहरू केवल सामान्य शरीरका भागमै सीमित थिएनन्—अनुहार, घाँटी, छातीदेखि संवेदनशील अंगहरूसम्म कुँदिएका थिए। अधिकांश ट्याटूमा ती पुरुषको नाम वा नामका अक्षरहरू अंकित थिए, जसले सम्बन्धलाई ‘स्वामित्व’मा बदल्ने मानसिकता झल्काउँछ।जोकका अनुसार उनी प्रेम सम्बन्धमै रहँदा लामो समयसम्म मानसिक र शारीरिक हिंसाको सिकार भइन्। उनका पूर्वप्रेमीले सस्तो ट्याटू मेसिन प्रयोग गर्दै बारम्बार दबाब, धम्की र डर देखाएर शरीरभर आफ्नै नाम कुँदाएका थिए।
लगातारको नियन्त्रण, धम्की र हिंसाले जोकलाई मानसिक रूपमा कमजोर बनायो। परिस्थितिले उनलाई मदिरा र लागुऔषधको लततर्फ धकेल्यो, जसका कारण उनी आफ्ना लागि आवाज उठाउनसमेत असमर्थ भइन्। विज्ञहरूका अनुसार यो घटना केवल ट्याटू बनाउने विषय नभई व्यक्तिमाथि पूर्ण नियन्त्रण र स्वामित्व जमाउने गम्भीर प्रयास हो। नेदरल्याण्ड्सस्थित ‘ट्याटू रिग्रेट’ संस्थासँग आबद्ध एन्डी हानका अनुसार ट्याटूहरू शरीरका त्यस्ता संवेदनशील भागहरूमा बनाइएका थिए, जहाँ अन्य कसैको पहुँच हुनसक्ने आशंका ती पुरुषमा थियो।
पीडितले प्रहरीमा उजुरी दिए पनि कानुनी रूपमा प्रमाणित गर्न चुनौतीपूर्ण बनेको छ, किनकि आरोपितले ती ट्याटूहरू सहमतिमै बनाइएको दाबी गरेका छन्। यसले अनुसन्धानलाई जटिल बनाएको छ।यद्यपि, ‘ट्याटू रिग्रेट’ संस्था जोकका लागि आशाको किरण बनेको छ। संस्थाले सहयोग अभियानमार्फत ३५ हजार डलरभन्दा बढी रकम संकलन गरेको छ। हाल उनको उपचार भइरहेको छ र क्रमशः ट्याटू हटाउने प्रक्रिया जारी छ।
अनुहारका धेरै दागहरू मेटिइसकेका छन्, र जोक आफ्नो हराएको पहिचान पुनः प्राप्त गर्ने यात्रामा छिन्। उनले आफूजस्तै पीडितहरूलाई हिम्मत नहार्न आग्रह गर्दै गम्भीर आघातपछि पनि नयाँ सुरुवात सम्भव हुने सन्देश दिएकी छिन्।