नेकपाका दुई पोलिटब्युरो सदस्य धमला र कार्कीलाई प्रहरी हिरासतभित्र यातना : देशमा ठूलाे द्वन्द्व निम्तने महासाचिब विप्लबको चेतावनी

नेकपाका दुई पोलिटब्युरो सदस्य धमला र कार्कीलाई प्रहरी हिरासतभित्र यातना : देशमा ठूलाे द्वन्द्व निम्तने महासाचिब विप्लबको चेतावनी


  • जनसञ्चार डट कम समाचारदाता
  • बुधबार, १६ साउन २०७५
  • 28.7K
    Shares

अपहरणशैलीमा गिरफ्तार गरिएका नेपाल कम्युनिस्ट पार्टीका दुईजना पोलिटब्युरो सदस्य कृष्ण धमला ‘गम्भीर’ र मोहन कार्की ‘जीवन्त’ लाई प्रहरी हिरासतमा शारीरिक तथा मानसिक यातना दिएको तथ्य सार्वजनिक भएको छ l नेपाल कम्युनिष्ट पार्टीका महासचिब बिप्लबले मंगलबार जारी गरेको प्रेस वक्तव्यमा यस्तो तथ्य सार्वजनिक भएको हो l

गिरफ्तार नेताहरुको आफन्तलाई उधृत गर्दै जारी गरिएको वक्तव्य अनुसार, पोलीटब्युरो सदस्य कृष्ण धमला ‘गम्भीर’ र मोहन कार्की ‘जीवन्त’ लाई यही साउन १० गते दिउँसो २ बजेतिर नागढुङमा बसबाट ओराली आफूलाई सुरक्षा फौज भन्ने १५ जनाको टोलीले अपहरणको शैलीमा गिरफ्तार गरी बेपत्ता बनाएको थियो l

काठमाडौँमा दुई दिनसम्म यातना दिई काभ्रेको धुलिखेलमा राखिएका धमला र कार्कीलाई भेट्न गएका मानवअधिकारवादी र पत्रकारसँग कुरा गरेका नेताद्वयले गिरफ्तार हुनेबित्तिक्कै आफूहरूको आँखामा पट्टी बाँधिएको, रातभरि सोधपुछका नाममा पिटेको, सुत्न नदिएको जनाएका छन् ।

यसैबीच नेपाल कम्युनिष्ट पार्टीका महासचिब विप्लवले एक प्रेस वक्तव्य जारी गर्दै अपहरण शैलीमा गिरफ्तार नेताद्वयलार्इ तत्काल रिहा गर्न माग गरेका छन  । बृद्ध अवस्था र विरामी समेत रहेका नेताहरुलार्इ यसरी विनाकारण गिरफ्तार गरिनु र झुट्टा मुद्दा लगाएर जवरजस्त फसाउन खाेजिएकाे भन्दै सो प्रेस वक्तव्यमा नेकपाले अापत्ती जनाइएकाे छ ।

प्रेस वक्तव्यमा केपी अाेली सरकार र गृहमन्त्री रामबहादुर थापा बादलले निरङ्कुशता लादेर देशमा जनताका अधिकार र अधिकारका लागि उठिरहेका अान्दाेलनमाथि जवरजस्त दमन गर्न खाेजेकाे अाराेप लगाउंदै यस्तो क्रियाकलापले देशमा ठूलाे द्वन्द्व निम्तने चेतावनी पनि दिए ।

कसरी गिरफ्तार परे कार्की र धमला ?

पारिवारिक स्रोतका अनुसार दुबै नेता बिहीबार बिहान बुटवलबाट सार्वजनिक बस चढेर काठमाडौं आएका थिए । उनीहरुलाई बुटवलमा बस चढाउने व्यक्तिहरुलाई नै निगरानी राखेर पिछा गरिएको हुनसक्ने आफन्तको भनाई छ ।

काठमाडौं नागढुंगा आएपछि एकाएक मास्क लगाएका १०–१५ जनाको संख्यामा रहेका व्यक्तिहरुले बस रोकेर सिधै कार्की र धमला बसेको सिटमा गइ सुरुमै उनीहरुको मोवाइल नियन्त्रणमा लिएका थिए ।

मोवाइल नियन्त्रणमा लिएपछि मात्र नाम सोधेको, त्यो क्रममा कार्कीले आफ्नो नाम अर्कैै बताएपछि मास्कधारीहरु एकछिन अलमल परेको र एकछिन पछाडि अरु सिटमा हेरेपछि फेरि उनलाई नै तपाई मोहन कार्की होइन भनेर प्रश्न गरेको थाहा भएको छ । त्यसपछि उनीहरु दुबै जनालाई बसबाट ओरालेर थानकोटबाट नभई त्यसको विपरित रहेको रामकोटदेखि तलको बाटो हुँदै उनीहरुलाई स्वयम्भु हलचोक पुर्याइएको थियो ।

सो क्रममा कार्की र धमलाले आफूहरुलाई गिरफ्तार गर्नाको कारण सोध्दै कहाँ लिन लागेको हो भन्ने जानकारी मागेका थिए । साथै आफूहरुलाई तत्काल गृहमन्त्रीसँग कुरा गर्न दिन पनि माग गरेका थिए । त्यसैगरी कार्कीले आफू किड्नीको बिरामी भएको भन्दै औषधी खान दिन पनि माग गरेका थिए । तर, प्रहरीले उनीहरुको कुरा नै नसुनेर हलचोकमा जबरजस्त कालो मुकुण्डो र कालो क्याप लगाएर उनीहरुलाई फेरि जंगलतिरकै बाटो अर्कै ठाउँमा लगिएको बताइएको छ ।

जंगलको लामो कच्ची बाटो लगेर साँझपख उनीहरुलाई महाराजगञ्जमा रहेकाे अपराध अनुसन्धान ब्यूरो (सिआइबी) को कार्यालयमा पुर्याइएको थियो । त्यहाँ केहीबेर सँगै राखेपछि फेरि अलग अलग गरेर उनीहरुसँग सोधपुछको श्रृङ्खला चलेको जानकारी पाएको पारिवारिक स्रोतले जनाएको छ ।

त्यो दिन रातभर सुत्नै नदिएर उनीहरुसँग बयान लिइएको र चर्को मानसिक यातना दिएको बुझिएको छ । पारिवारिक स्रोतले जानकारी दिए अनुसार एकै व्यक्तिलाई करिव दुई दर्जन बढीले फरक फरक विषयमा बयान लिएका थिए ।

आफूहरुलाई निद्रा लागेकाले सुत्न दिन माग गर्दा पनि प्रहरीले आफूहरुलाई पनि सुत्न नदिएकाले आफूहरुले पनि सुत्न नदिने भन्दै अभद्र गालीसमेत गरेको थाहा भएको छ । बयान लिने क्रममा प्रहरीका उच्च अधिकारीहरु समेत पुगेको स्रोतको दावी छ ।

त्यो रातभर सुत्न नदिएर सोधपुछ गर्नुका साथै भोलिपल्ट पनि दिउसोसम्म पनि त्यही श्रृङ्खला चलेको थियो । दिउसो उनीहरुलाई अर्को गाडीमा नयाँ बानेश्वर प्रहरी कार्यालयमा ल्याइएको थियो । अघिल्लो दिन हलचोकमा लगाइएको कालो मुकुण्डो त्यो दिन, रात र अर्को दिन बिहान पनि कतै नखोलेर नयाँ बानेश्वर प्रहरी कार्यालयमा पुगेपछि मात्र खोलिएको थियो ।

त्यसपछि त्यहाँ एउटा रजिस्टरमा तपाईहरुबाट बरामद गरिएका सामान यिनै होइनन भन्दै साइन गर्न भनिएको थियो । तर, कार्की र धमलाले आफूहरुले कुनै हालतमा पनि हस्ताक्षर नगर्ने भनेपछि प्रहरी केहीबेर अलमल परेको थियो ।

सो क्रममा धमलाले प्रहरीको हातबाट रजिस्टर खोसेर हेरेको र त्यसमा काभ्रेको कुन्साङ लामा कन्स्ट्रक्सनको क्रसरमा वम विष्फोट गराई आगजनी गराइएको झुट्टा बयान लेखिएको उनले थाहा पाएका थिए । त्यसपछि उनले त्यसको प्रतिवाद गरेका थिए । साथै उनीहरुले आफूहरुलाई यसबारे गृहमन्त्रीसँग कुरा गराउन भनेका थिए ।

दुई नेताले हस्ताक्षर गर्न नमानेपछि केहीबेर अलमलिएको प्रहरीले हस्ताक्षर नै नगरेर राती ११ बजेतिर उनीहरुलाई काभ्रेको धुलिखेलमा रहेको जिल्ला प्रहरी कार्यालयमा पुर्याएको बुझिएको छ । ११ गते राती १२ बजेतिर धुलिखेल पुर्याएका नेता कार्की र धमलालाई १३ गते जिल्ला अदालत धुलिखेलमा पेश गरिएको थियो ।

प्रहरीले उनीहरुमाथि कुन्साङ लामा कन्स्ट्रक्सनको क्रसरमा वम विष्फोट तथा आगजनी गरेको मुद्दा लगाइएको छ । जिल्ला अदालत काभ्रेले ११ गते शुक्रबारदेखि लागु हुने गरी १३ गते आइतबार सात दिनको म्याद दिएर हिरासतमा राखी अनुसन्धान गर्न प्रहरीलाई आदेश गरेको बताइएको छ ।

यसैबीच कार्की र धमलाका आफन्तले ६० वर्षका बृद्ध व्यक्तिलाई यसरी अमानवीय तरिकाले मानसिक यातना दिनुका साथै संकटकालीन समयमा जस्तै मुकुण्डो लगाएर दुव्र्यवहार गरिएकाले यसको छानविन हुनुपर्ने माग गरेका छन् । यसका लागि राष्ट्रिय मानव अधिकार आयोगसहित सबै मानव अधिकारसँग सम्बन्धित संघ संस्थालार्इ सहयाेग गर्न र मिडियालाई आवाज उठाइदिन पनि अाफन्तले माग गरेका छन् ।

धमला ६० वर्षका हुन भने कार्की ५९ वर्षका छन् । साथै कार्की लामो समयदेखि किड्नीको औषधी खाँदै आएका छन् । १० गते गिरफ्तार परेका उनीहरुलार्इ १३ गते अाइतबारसम्म पनि उनका अाफन्तलार्इ कुनै जानकारी नै नदिएर राखिएकाे थियाे । अाइतबार अदालतमा उपस्थित गराइएपछि मात्र अाफन्तले यसबारे खबर पाएका थिए ।

 

प्रतिक्रिया