जागिर लगाइदिने प्रलोभन देखाई इच्छाविपरीत धर्म परिवर्तन गराउन खोज्ने तीन जनालाई महानगरीय प्रहरी परिसर काठमाडौंले गिरफ्तार गरेको छ । हाल प्रहरी हिरासतमा रहेका अभियुक्तहरुमा कास्की जिल्ला घर भइ हाल काठमाडौंको नागर्जुन नगरपालिका-४ सितापाइला बस्ने ४१ वर्षीया सुमित्रा गौली, काठमाडौं महानगरपालिका-१४ कलंकी बस्ने ३६ वर्षीया राधिका महर्जन र चितवनको भरतपुर महानगरपालिका-१६ बस्ने ४२ वर्षीया फुलदेवी भट्टराई रहेका छन् ।
उनीहरुले जागिर लगाइदिने भन्दै इच्छा विपरीत भरतपुर नगरपालिका-२७ घर भएकी ३८ वर्षीया लक्ष्मी भट्टराईलाई धर्म परिवर्तन गराएको आरोप लगाइएको छ । पिडित लक्ष्मी भट्टराईले आफुलाई जागीर लगाइदिने भन्दै इच्छा विपरीत धर्म परिवर्तन गराएको आरोप लगाएर महानगरीय प्रहरी परिसर काठमाडौंमा उजुरी दुएकी थिइन । प्रहरीमा उजुरी परेपछी उनीहरुलाई पक्राउ गरी अनुसन्धान सुरु गरिएको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ ।
प्रहरीका अनुसार पीडित लक्ष्मीलाई फुलदेवीले जागिर लगाइदिने भन्दै सितपाइलाको चर्चसम्म पुर्याएकी थिइन । चर्चमा सुमित्रा गौलीले बाइबलको पाठ सुनाउँदै लक्ष्मीलाई जबरजस्ती दुबै हात समातेर धर्म परिवर्तन गर्न खोजेको प्रहरीले बताएको छ ।
पक्राउ परेका तीनै जनालाई काठमाडौं जिल्ला अदालतबाट ७ दिनको म्याद थप गरी अनुसन्धान गरिरहेको प्रवक्ता, प्रहरी नायव उपरीक्षक -डीएसपी) मोहनकुमार थापाले जानकारी दिए ।