आफ्नी श्रीमती घुमाएको अभियोगमा पूर्व जर्मन चान्सलर जेर्हार्ड स्क्रोइडरमाथि एक दक्षिण कोरियाली व्यक्तिले मुद्दा हालेका छन् । स्क्रोइडरले दक्षिण कोरियाली दोभासे किम सो इयोनसँग आगामी जनवरीमा विवाह गर्ने घोषणा गरेका छन् । इयोन स्क्रोइडरकी पाँचौँ श्रीमती हुनेछिन् ।
तर, योनहाप न्युज एजेन्सीका अनुसार यी दुईबीच अवैधानिक सम्बन्ध रहेको आरोपमा किमका पूर्वश्रीमान्ले मुद्दा हालेका हुन् । किमले उनीसँगको विवाह सम्बन्ध नटुंगिँदै स्क्रोइडरसँग प्रेम सम्बन्ध अघि बढाएको ती युवकको दाबी छ ।
दक्षिण कोरियामा सन् २०१५ सम्म विवाहोत्तर सम्बन्धलाई गैरकानुनी मानिन्थ्यो ।त्यही प्रावधानमा टेकेर किमका पूर्वश्रीमान्ले मुद्दा दायर गरेका छन् । उनले क्षतिपूर्तिस्वरूप एक सय मिलियन वन (९४ हजार अमेरिकी डलर) माग गरेको योनहापको समाचारमा उल्लेख छ । यी व्यक्तिले सियोल फेमिली कोर्टमा मुद्दा दायर गरेका हुन् ।
किम र स्क्रोइडर दुवैले आफ्ना पुराना पार्टनरसँग सम्बन्धविच्छेद नगरी डेटिङ सुरु गरेको उनको दाबी छ । ‘हाम्रो विवाह अन्त्यमा टुंगियो र यसो हुनुमा आरोपित जिम्मेवार छन्,’ उनले फाइल गरेको रिपोर्टमा उल्लेख छ ।पूर्व चान्सलर स्क्रोइडर अहिले रुसी तेल कम्पनी रोसनेफ्टको अध्यक्ष छन् । उनी नोर्ड स्ट्रिम पाइपलाइनका पनि अध्यक्ष हुन् ।
७४ वर्षीय स्क्रोइडर सन् १९९८ देखि २००५ सम्म जर्मनीका चान्सलर थिए । किम उनीभन्दा २६ वर्षले कान्छी छिन् । उनले दुई वर्षअघिदेखि स्क्रोइडरको भेटवार्ताका क्रममा दोभासेको काम व्यवस्थापन गर्दै आएकी थिइन् र उनीहरू त्यसैक्रममा नजिक भएका थिए । स्क्रोइडरले पछिल्लोपटक सन् २०१६ मा पत्रकार तथा राजनीतिज्ञ डोरिस कोप्फसँग सम्बन्धविच्छेद गरेका थिए । कोप्फले आफ्नो सम्बन्धविच्छेदको एक कारण किम रहेको सामाजिक सञ्जाल फेसबुकमा उल्लेख गरेकी थिइन् ।