कीर्ते कागजात गरी ठगी गरेको आरोपमा राप्रपाका केन्द्रीय सदस्य ‘सन्यासी नेता’ पुरुष पक्राउ

कीर्ते कागजात गरी ठगी गरेको आरोपमा राप्रपाका केन्द्रीय सदस्य ‘सन्यासी नेता’ पुरुष पक्राउ


  • जनसञ्चार डट कम समाचारदाता
  • मंगलबार, ११ बैशाख २०७५
  • 21.9K
    Shares

अर्काको नाममा भएको जग्गालाई नक्कली लालपुर्जा देखाएर कीर्ते कागजात खडा गरी ठगी गरेको आरोपमा राप्रपाका केन्द्रीय सदस्य एवं धार्मिक संगठन नेपाल सनातन धर्म संस्कृति संगठनका अध्यक्ष पुष्पराज पुरुष भनिने पुष्पराज पौडेललाई प्रहरीले पक्राउ गरेको छ । पौडेल पछिल्लो समय ललितपुरको महालक्ष्मी नगरपालिका, लामाटारस्थित जयसंगत आश्रममा बस्दै आएका थिए । पौडेलसहित सुनसरीको धरान-९ घर भइ काठमाडौं-१० मा बस्दै आएका ५९ वषर्ीय गोकुल श्रेष्ठलाई पनि काठमाडौं प्रहरी परिसरले पक्राउ गरेको हो ।

उनीहरूविरुद्ध  ८ करोड ३७ लाख रुपैयाँ ठगी गरेको उजुरी प्रहरीमा परेको छ । दुवैलाई काठमाडौं प्रहरी परिसरको हिरासतमा राखेर ठगी मुद्दामा म्याद थप गरी विस्तृत अनुसन्धान भइरहेको काठमाडौं प्रहरी प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) विश्वराज पोखरेलले जानकारी दिए ।

तत्कालिन हर्वो इन्टरनेशनललाई चलाउन पुष्पराजले हाम्रो ग्रुप अफ इन्भेष्टमेन्टबाट ऋण लिएका थिए । त्यसवेला उनी आफैं हाम्रो ग्रुप अफ इन्भेष्टमेन्टको अध्यक्ष थिए । हर्वो इन्टरनेश्नल चलाउनलाई लिएको ऋण रकम फिर्ता दिन नसक्ने भएपछि उनले त्यसवापतको जग्गा दिने बताएका थिए ।

सोही अनुसार उनीहरुले ‘हाम्रो ग्रुप’ लाई दिनुपर्ने रकम बापतको भन्दै पर्साको मनियारी-७ को कित्ता नं. ७४१ को १६ कठ्ठा साढे ३ धुर जग्गा रजिष्ट्रेशन पास गरी दिने भनी माइन्यूट गराएको प्रहरीमा दिइएको जाहेरीमा उल्लेख छ ।

पर्सामा ८ करोड ३७ लाख रुपैयाँ मूल्याङ्कन गरिएको जग्गा दिएपछि पौडेल कम्पनीबाट अलग्गिए । त्यसपछि बनेको नयाँ समितिले ‘हाम्रो ग्रुप अफ कम्पनी’ को नाम परिवर्तन गरेर ‘गोर्खा ग्रुप अफ कम्पनी’ बनायो ।

पछिल्लो समय कम्पनीमा प्रोजेक्टहरु थप गर्ने सिलसिलामा सञ्चालक समिति सदस्य कुमार रम्तेललाई जग्गा भएको ठाउँको ट्रेस, नक्सा र चार किल्ला बुझ्न पठाउँदा पौडेलको कर्तुत आफूहरुलाई थाहा भएको पीडितको जाहेरीमा उल्लेख छ । पौडेलले दिएको भनेको जग्गा अस्थित्वमै नरहेको पाइएको भन्दै पीडितले गरेका उजुरीका आधारमा अन्ततः पौडेललाई प्रहरीले पक्राउ गरेको छ ।

कुनैबेला नेटवर्किङ व्यवसायका नाममा ठगी गरेर उधुम मच्चाएको गोल्ड क्वेष्ट इन्टरनेशनलबाट पीडित बनेर कारबाहीको माग गर्दै गठन भएको संघर्ष समितिका संयोजकपुष्पराज पौडेलले गुमेको पैसा फिर्ता पनि पाएनन र ठगीमा संलग्नमाथि पनि कारवाही भएन । त्यसपछि उनी हर्वो इन्टरनेशनल नामक नेटवर्किङ व्यवसायको हर्ताकर्ता बने । त्यहाँ पनि हर्वोको नाममा भएको करोडौं ठगी भइरहेको समाचारहरु  सञ्चारमाध्यमबाट सार्वजनिक भएपछि केन्द्रीय अनुसन्धान ब्यूरो -सीआईबी) ले छापा मारी  पौडेलको बिजनेसमा रोक लगायो ।

हर्बूको कारोबार रोकिएपछी  पौडेलले काठमाण्डौको बत्तीसपुतलीमा केही समय जयसंगत नामको आश्रम खोले । सोही क्रममा उनले “श्रीमान” नामको चलचित्र बनाएर त्यसमा श्रीमानको भूमिका समेत खेले । सबै कर्मबाट असफल भनेपछि सन्यासी बनेर हिँड्न थालेका पौडेल पछिल्लो समय ललितपुरको महालक्ष्मी नगरपालिका, लामाटारस्थित जयसंगत आश्रममा बस्दै आएका थिए ।

 

 

प्रतिक्रिया