वीरगञ्जमा थप १७ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ । यससँगै नेपालमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ९९ पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले दिएको जानकारी अनुसार, राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा पर्साका १० जना पुरुष र ७ जना महिला गरी १७ जनाको रिपोर्ट पोजिटभ आएको छ । तीमध्ये दुई महिनाका बालक पनि रहेका छन् ।
बुधबार नै कोसी अस्पतालमा उपचाररत ६ जना कोरोना संक्रमित भारतीय डिस्चार्ज भएसँगै निको हुनेको संख्या २२ पुगेको छ । उपचाररत संक्रमित सबैको स्वास्थ्य अवस्था सामान्य रहेको मन्त्रालयले जनाएको छ ।
त्यस्तै नारायणी अस्पताल वीरगन्जबाट कोभिड–१९ निको भएर गएका दुई जनामा पीसीआर परीक्षणमा पोजिटिभ देखिएपछि उनीहरूलाई थप परीक्षणका लागि अस्पतालमा पुनः भर्ना गरिएको पनि मन्त्रालयले जानकारी दिएको छ । त्यसैगरी काठमाडौको सनसिटी अपार्टमेन्टमा बस्ने ५२ वर्षीय ती व्यक्तिको पनि पीसीआर रिपोर्ट पोजिटिभ देखिएको छ । पाटन अस्पतालमा उपचारपछि डिस्चार्ज भएका उनलाई पनि पुनः अस्पताल भर्ना गरिएको छ ।