ब्रिटेनको अक्सफोर्डमा कोरोनाभाइरस खोपको पहिलो परीक्षणका सुरु गरिएको छ। अध्ययनको लागि चयन गरिएका ८ सयभन्दा स्वयम्सेवकहरूमध्ये दुईजनाबाट त्यसको सुरुवात गरिएको हो।
आधाजसोले कोभिड-१९ का खोप प्राप्त गर्नेछन् भने आधाले कोरोनाभाइरसको नभइ मेनिन्जाइटिसको खोप प्राप्त गर्नेछन्। ती स्वयम्सेवकहरूहरूले आफूले कुन खोप पाएको भन्ने थाहा पाउने छैनन्। डाक्टरहरूलाई भने त्यो थाहा हुनेछ।
खोप लगाएका दुईमध्येकी एक एलिसा ग्रानाटोले बीबीसीलाई भनिन्: “म वैज्ञानिक हुँ। त्यसैले मैले यस वैज्ञानिक प्रक्रियालाई जति सम्भव हुन्छ त्यति सघाउन चाहन्छु।”
यो खोप गत तीन तीनमहिना भित्र अक्सफोर्ड विश्वविद्यालयको एक टोलीले तयार पारेको हो।
जेनर इन्स्चिच्युटमा खोपविज्ञानकी प्राध्यापक सारा गिल्बर्टले प्रि-क्लिनिकल अध्ययनहरूको नेतृत्व गरेकी छन्। उनले भनिन्, “व्यक्तिगत रूपमा यस खोपप्रति मलाई उच्च विश्वास छ।”
“निश्चय नै हामीले यसलाई मानिसहरूमा जाँच गरेर त्यसको विवरण लिनुपर्छ। यो साँच्चिकै काम गर्छ र मानिसहरूलाई कोरोनाभाइरसबाट सङ्क्रमित हुनबाट रोक्छ भन्ने कुरा ठूलो जनसङ्ख्यामा लैजानु अगाडि नै तय गर्न सक्नुपर्छ।”
प्राध्यापक गिलबर्टले यसअघि खोपले काम गर्नेबारे आफू ‘८० प्रतिशत’ विश्वस्त भएको बताएकी थिइन्। तर अहिले उनले त्यसमा कुनै आँकडा नराखिकनै सामान्य रूपमा त्यसको सम्भावनाबारे ‘निकै आशावादी’ भएको बताइन्।
खोपले कसरी काम गर्छ?
यो खोप चिम्पाञ्जीबाट रूघाखोकी निम्त्याउने एड्नोभाइरसको एउटा कमजोर संस्करणबाट तयार पारिएको हो। त्यसलाई परिस्कृत पारेर मानव शरिरमा हुर्कन नमिल्ने गराइएको छ।
अक्सफोर्डको यस टोलीले मर्स भनिने भिन्नखाले कोरोनाभाइरसको खोप विकास गरिसकेको छ। वास्तविक सङ्क्रमितमा गरिएको प्रयोगमै त्यसले विश्वसनीय नतिजाहरू देखाएको थियो।
यसले काम गरेको कसरी थाहा हुन्छ?
यस टोलीले कोभिड-१९ खोपले काम गरेको थाहा पाउने एकमात्र तरिका भनेको त्यसको तुलना यसको परीक्षण भएपछिका कोरोनाभाइरसबाट सङ्क्रमितसँग तुलना गर्नु हो।
यदि संयुक्त अधिराज्यमा अब सङ्क्रमितका घटनाहरू ह्वात्तै घटे भने चाहिँ पर्याप्त तथ्याङ्क अभाव भएर त्यसले समस्या सिर्जना गर्नसक्छ।
यस परीक्षणको नेतृत्व गरिरहेका अक्सफोर्ड भ्याक्सिन ग्रुपका निर्देशक प्राध्यापक एन्ड्रिउ पोलार्डले भने, “महामारीको अहिले जारी लहरको अन्तिम अवस्थालाई हामीले पछ्याइरहेका छौँ। यदि हामीले त्यसलाई समात्न असफल भयौँ भने केही महिनाभित्रै यस खोपले काम गर्नेबारे केही भन्न सक्दैनौँ। तर भाइरस हामीबाट नहटिसकेकाले भविष्यमा थप सङ्क्रमणका घटनाहरू देखा पर्ने अवस्था अपेक्षा गर्न सकिन्छ।”
सङ्क्रमितमा परीक्षण किन नगर्ने?
यदि सङ्ख्या समस्या हो भने किन भाइरसको सङ्क्रमण भइसकेका स्वयम्सेवकहरूमा यसको परीक्षण नगर्ने भन्ने जिज्ञासाहरू समेत पाइन्छन्। त्यो सबैभन्दा छिटो र प्रभावकारी रूपमा गर्न सकिने उपाय समेत हो। ज्यानुअरीदेखि खोपमा काम भइरहेको थियो
तर त्यसले काम गर्छ भन्ने प्रमाणित नभइसकेकाले त्यसमाथि नैतिक प्रश्नहरू उठ्नेछन्।
भविष्यमा भने त्यो सम्भव समेत हुनसक्छ।
प्राध्यापक पोलार्ड भन्छन्: “यदि हामीले यस रोगको उपचार गर्न सकिने एउटा विन्दुसम्म पुग्यौँ र स्वयम्सेवकहरूको सुरक्षा सुनिश्चित गर्न सक्ने भयौँ भने त्यो खोपको परीक्षण गर्ने सबैभन्दा राम्रो तरिका हुनेछ।”
परीक्षण कति सुरक्षित छ?
परीक्षणमा सहभागी भएका स्वयम्सेवकहरूलाई आउँदा महिनामा निकै सुक्ष्म ढङ्गले निगरानी गरिनेछ।
उनीहरूलाई यसको कारण हात दुख्न सक्ने र खोप लिएपछिका केही दिन टाउको दुख्ने वा ज्वरो आउन सक्ने भनेर सचेत गराइएको छ।