माओवादीका आर्थिक अप्ठ्यारा

माओवादीका आर्थिक अप्ठ्यारा


  • जनसञ्चार डट कम समाचारदाता
  • बिहिबार, ७ माघ २०७२
  • 15.3K
    Shares

केही समयअघि क्रान्तिकारी माओवादीका अध्यक्ष वैद्यलाई आर्थिक संकट भनेर सञ्चार जगत्मा खुब चर्चा गरियो । यो समाचारसँगै कतिपयले सहानुभूतिसहित आर्थिक शुद्धता भनेर सकारात्मक अर्थमा लिए भने कतिपयले आफैं चल्न नसक्ने बूढाले के पार्टी चलाउलान् र क्रान्ति गर्लान् भनेर खिसिटिउरी गरे।
आर्थिक संकटकै कारण माथिल्लो तहका नेताहरूले कस्तो समझदारी बनाए भने पार्टी काममा हिँड्दा सम्भव हुँदासम्म हामीले आफ्नो व्यवस्थापन आफ्नै व्यक्तिगत सम्पत्तिबाट गर्ने । पार्टी नेताहरूले गरेको यो निर्णय पनि विवादमा तानियो । मुख्यतः पूर्णकालीन कार्यकर्ता नभएको पार्टी बनाउन खोजेको र यसतर्फको पहिलो पाइला भनेर भित्रैबाट असन्तुष्टि पोखियो।
यस अर्थमा आर्थिक विषयलाई शुद्ध आर्थिक मात्र भनेर बुझियो भने समस्याको निकास निस्कनै सक्दैन भनेर कम्तीमा पार्टीका नेता-कार्यकर्ताले बुझ्नुपर्छ। पार्टीको आर्थिक नीति र कार्यक्रमसँग दैनिक पार्टी सञ्चालन, संघर्षका केन्द्रित र विकेन्द्रित परिचालन एवं डब्लूटी कार्यकर्ताको निम्ति न्यूनतम भरणपोषण अभिन्न रूपले आ िश्रत हुन्छ, जसले नियमित आर्थिक स्रोतको माग गर्छ।
युद्धकालमा अन्य थुप्रै विकल्पसहित मुख्य विकल्प माओवादी जनसत्ताले प्रगतिशील करको रूपमा आर्थिक संकलन गथ्र्यो र यही स्रोतबाट माथि उल्लेख गरिएका तीन शीर्षकका अतिरिक्त युद्ध सामग्रीको आपूर्तिसमेत हुन्थ्यो । बीच बाटोमै नयाँ सत्ताको विघटनसँगै कर उठाउने कार्य (करबाट भन्दा निकै बढी रकम कमिसनबाट आउँछ) पनि बन्द भयो।
त्यसपछि चन्दा, घूस र कमिसन नै माओवादी (सबै माओवादी समूह) को आर्थिक संकलनको मुख्य र मूर्तभन्दा एक मात्र विकल्प बनेको निश्चित हो । तर यो बाध्यता माओवादी कम्युनिस्ट पार्टीको लागि निकै लाजको विषय बन्नुपर्ने तर लाजले कुनै समूहलाई पनि त्यतिसारो सताएको जस्तो देखिँदैन।
खासमा गर्ने के वा विकल्प के-के हुन सक्छन् र हामी वास्तविक कम्युनिस्ट कसरी बन्ने भनेर आर्थिक पक्षको व्यावहारिक पाटोबारे गम्भीर छलफल गर्न वा हुन जरुरी देखिन्छ, जुन पार्टीभित्र पर्याप्त मात्रामा भएको छैन।
माओवादी पार्टीको केही महिनाअघि सम्पन्न बैठकले आन्तरिक आर्थिक नीति, स्रोत र व्यवस्थापनबारे चारबुँदे प्रस्ताव पारित गरेको थियो। जसअन्तर्गत पार्टी सदस्य (एक लाख ५० हजार) हरूबाट नियमित र विशेष लेबी, देशभक्त मित्रहरूसँग सहयोग, दलालहरूको किटानी एवं एक्सन र पूर्णकालीन कार्यकर्ताका परिवारलाई श्रमसँग जोड्ने भन्ने थियो।
आर्थिक पक्षसँग जोडिएका यी बुँदाले सापेक्षित रूपमा समस्या समाधान बोकेको र त्यहाँयता यस विषयमा थप छलफल राम्रैसँग चलेको पनि हो, तर व्यवहार र परिणाम त्यति आशालाग्दो छैन।राजनीतिक आन्दोलनभित्र हुर्कंदै गरेको आर्थिक अराजकताका घटनाबारे मसिनोसँग खोज्ने र गहिरिएर अध्ययन गर्दै जाने हो भने नेपालका सबै राजनीतिक पार्टीभित्र हजारौँ भेटिन्छन्।
एकातिर पार्टी र पार्टी आन्दोलनभित्रबाट पार्टीलाई बद्नाम गराउने र व्यक्तिले स्रोत कुम्ल्याउने अराजकता भने अर्कोतिर पार्टी र जबसका संस्थागत कार्यालयहरू नियमित चलाउन समस्या पर्दै जानु एवं मूल्य र नैतिकतामा टिक्नुपर्छ भन्ने खालका खास डब्लूटी कार्यकर्ताहरूको दैनिक गुजारा पनि चल्न नसक्नु समान्य सन्दर्भ र विषय होइनन्। पार्टी आन्दोलनभित्रका यस्ता समस्या र यसको सापेक्षित समाधान कसरी हुन सक्छ त?
पहिलो, आर्थिक हिसाबले पहिलो स्रोत आन्तरिक र दोस्रो बाह्य परिचालनको बनाउनुपर्छ, तर राजनीतिक पार्टीभित्र मुख्यतः कम्युनिस्ट यसमा पनि माओवादीभित्र उल्टो प्रयोग भइरहेको छ। उल्टोभित्र पनि सुल्टो प्रयोग अथवा बाहिरी स्रोतलाई पहिलो बनाएर संकलन भएको रकम संस्थागत प्रयोग र न्यायपूर्ण वितरण भइदिए पनि नराम्रोभित्रको राम्रो मान्न सकिन्थ्यो। पहिचान, परिचालन र परिणाम उल्टो भएपछि कहाँबाट बन्ने कम्युनिस्ट पार्टी र केको हामी माओवादी कम्युनिस्ट पार्टीका सदस्य?
पार्टीले आफ्ना सदस्यहरूबाट र सदस्यहरूले पार्टीलाई नियमित लेबी, सदस्यता नवीकरण शुल्क एवं कोटा लिने र बुझाउने संस्कार बलियो बनाउनुपर्छ । पार्टी सदस्यहरूलाई पेसा, व्यवसाय र नियमित आय भएका, नभएका र डब्लूटी गरी तीन भागमा छुट्ट्याएर लेबी तोक्नुपर्छ।
पहिलो भागका पार्टी सदस्यले अलिबढी (नियमअनुसार मासिक एक दिनको तलब वा आय) र बाँकी दुई भागका पार्टी सदस्यले एक दिन श्रम गरेबाट प्राप्त रकम लेबीको रूपमा पार्टीलाई बुझाउन अनिवार्य गर्नुपर्छ। लेबी अनुशासन र अनुशासित बन्ने विषय भएको छैन। यसलाई कमजोर बन्न दिनै हुन्न।
जसले पार्टी सदस्य (पार्टी सदस्य हुनुको मर्म र अर्थ, कमिटीमा बस्ने र अनिवार्य मिटिङमा उपस्थित हुने, पार्टीले सञ्चालन गरेको संघर्षमा सहभागी हुने हो) भएर नियमित लेबी तिर्दैन निजले प्राप्त गरेको पार्टी सदस्यतामा पहेँलो हुँदै रातो रङ लगाउने प्रक्रिया पनि अनुशासनभित्रै पार्नुपर्छ। पार्टीलाई यसबाट नियमित आर्थिक आय हुनेछ, कार्यकर्ता अनुशासित हुनेछन् र अंशगत रूपमै भए पनि समस्याको समाधान पनि हुनेछ।
दोस्रो, हाम्रो पार्टीका शाखा र सदस्यहरू भारत, मध्यपूर्व (खाडी मुलुक), कोरिया, मलेसिया, युरोप, अस्ट्रेलियालगायत विश्वभर फैलिएका छन् । पार्टीको चौतर्फी बुझ्ने चेतनाको कमीको कारण पार्टीमा संगठित हुने प्रक्रिया पछिल्लो चरणमा मन्दता आए पनि विदेशमा धेरै पार्टी सदस्य छन्।
विदेशमा रहेका पार्टी सदस्यहरूबाट पनि लेबी उठाउने र संस्थागत गर्ने योजना मूर्त हुन जरुरी छ । विशेषतः युरोप, अमेरिका, जापान र अस्ट्रेलिया बस्ने पार्टी सदस्यहरूले गर्ने सानो तर नियमित सहयोगले यहाँको लागि धेरै (सटनी हिसाबले) हुन आउँछ।
ती देशमा बस्ने श्रमिकबाहेक व्यवसाय चलाएका राम्रा हाम्रा समर्थक र शुभचिन्तकहरू पनि छन् । उनीहरूबाट नियमित आर्थिक सहयोग लिन सक्ने सम्भावना पनि उत्तिकै छ। त्यस्ता साथीहरूले उठेको वा आफूले सहयोग गरेको रकम संस्थागत र पारदर्शिता हुने प्रतिबद्धता खोजेका छन्।
आर्थिक उत्पादनलाई संस्थागत एवं पारदर्शी र न्यायपूर्ण वितरण एकातिर भने अर्कोतिर पार्टीको अख्तियारी दुरुपयोग गरेर आर्थिक अराजकता गर्नेहरूलाई स्तर र मात्रा हेरी चेतावनी, कारबाही र पार्टीबाट निष्कासनसम्म गरियो भने आम कार्यकर्ता र जनताको विश्वास जित्न सक्छौँ।
तेस्रो, हाम्रो देशको राष्ट्रिय उद्योगधन्दा र व्यवसाय दलाल पुँजी र पुँजीपतिबाट पीडित, धराशाही र विस्थापित हुँदै गएको विषयसँग जोडेर स्वाधीन अर्थतन्त्रको जग बसाल्न, देश बचाउन र स्वयं राष्ट्रिय चरित्रका उद्योग र व्यवसायको सुरक्षा गर्ने कार्यसूची र कार्यक्रम दिएर देशभक्त मित्रहरूबाट आर्थिक सहयोग जुटाउन सकिन्छ, जुन स्वेच्छिक हुन्छ।
चौथो, सही वर्ग विश्लेषण र आर्थिक चरित्रको किटानीसहित पार्टी सत्ताको संस्थागत निर्णयअनुसार मात्र दलाल व्यक्ति र संस्थासँग वर्ग संघर्ष (हाललाई कूटनीतिक राजनीतिक माध्यम प्रयोग गरेर) का रूपमार्फत आर्थिक संकलन गर्न सकिन्छ र यो जरुरी पनि हुन्छ। यो प्रक्रियालाई अलि बाध्यकारी बनाउनुपर्छ।
पाँचौँ, डब्लूटी कार्यकर्ताका परिवार मुख्यतः आश्रित परिवारलाई योजनाबद्ध ढंगले सामूहिक वा व्यक्तिगत रूपमा पनि श्रम, उत्पादन र साना लगानीका व्यवसायमा जोड्ने काम अनिवार्य गर्नुपर्छ। किनभने कम्युनिस्ट पार्टीका डब्लूटी जसलाई पार्टीले उसका निम्ति मात्र न्यूनतम खर्च उपलब्ध गराउँछ (कैयन् सन्दर्भ र ठाउँमा यही पनि हुन वा गर्न सकिएको छैन) र त्यसले स्वयं डब्लूटी पालित र परिचालित हुनसमेत मुस्किल पर्छ भने उसका परिवारका अरू सदस्यलाई कसरी त्यो पार्टी सदस्य र पार्टीले पाल्न सक्ला र ? तर डब्लूटी कार्यकर्ताको वर्गीकरण गरेर असक्त, बूढाबूढी र केटाकेटीलाई भने विशेष योजनाभित्र पारेर सहयोग गर्नुपर्ने हुन्छ।
छैटौँ, वर्गीय आधार, वैचारिक स्तरका अतिरिक्त विषयलाई छिट्टो बुझ्ने, पकड्ने र हाम्फाल्ने अर्थका मेधावी जनशक्तिबाहेकका अरू डब्लूटी पार्टीका लागि बोझ मात्र हुने पक्का छ। यस अर्थमा सम्पूर्ण डब्लूटी कार्यकर्ताको वर्गीकरण गर्नुपर्ने देखिन्छ। व्यक्तिगत सबै काम जस्तै-पढ्ने, परीक्षा दिने, उत्तीर्ण गर्ने वा पेसा-व्यवसाय गर्ने तर डब्लूटी भएको दाबी गरेर पार्टीबाट नियमित आर्थिक सहयोग लिने संस्कार बढ्दो देखिन्छ।
यसकारण डब्लूटीको नयाँ वर्गीकरण (एकपटक वा एउटा सन्दर्भमा डब्लूटी बनेको कम्युनिस्ट पार्टीको सदस्य सधैँ बनिरहनुपर्छ, होइन भने पार्टी नै छोड्ने तरिका कम्युनिस्ट तरिका होइन) अन्तर्गत एक-दुई घन्टा श्रममा जोडिएर बाँच्ने र बाँकी समय गौरवका साथ पार्टी काम गर्ने संस्कार पनि चाहिएको छ।
क्षमता, गति र प्रगतिको आधारमा समेत पार्टीले डब्लूटी बढाउने र घटाउने योजना बनाएर कार्यान्वयन गर्न सकेन भने पार्टी पेन्सन बाँड्ने र पार्टी सदस्य पेन्सन पट्टा देखाएर बाँच्ने ठाउँमा आन्दोलन सीमित बन्ने खतरा छ। डब्लूटीहरूको पढाइमा पार्टीले लगानी नै गर्ने हो भने संस्थागत योजना, निर्णय र पढाइ सकिएपछि फर्काउने र फर्कन्छु भन्ने बुझाइ एवं प्रतिबद्धतासहित विषय-विशेषज्ञता बनाउन सक्नुपर्छ । यसबाट पार्टी र राज्य दुवै सत्ता सञ्चालनका लागि विषय-विशेषज्ञता उपलब्धता हुन्छ, जुन आवश्यकता पनि हो।
सातौँ, कम्युनिस्ट पार्टीले अनिवार्य रूपमा सामूहिक उत्पादनका कार्यक्रम बनाउन सक्नुपर्छ। संगठन र संघर्षको काम कम वा नभएको बेलामा श्रम गर्ने बजारको खोजी र बानीको विकास अनिवार्य गर्नुपर्छ।
पार्टीका डब्लूटी कार्यकर्ता मजदुर बनेर यस्ता सामूहिक उत्पादनमा जोडिँदा एकातिर खास कम्युनिस्ट ( श्रमजीवी र श्रमलाई सम्मान गर्ने) बन्ने प्रक्रियाको थालनी हुने र डब्लूटीको आर्थिक व्यवस्थापन त्यहीँबाट गर्न सकिने हुन्छ भने अर्कोतिर उत्पादनबाट प्राप्त नाफा संघर्ष र पार्टी हेडक्वाटर सञ्चालनका लागि आंशिकै भए पनि नियमित उपलब्धता हुन्छ । यस प्रक्रियाले स्वतन्त्र, आत्मनिर्भर आर्थिक जीवनको जग बसाल्न सहयोग गर्नेछ।
आठौँ, कम्युनिस्ट पार्टी, अझ हाम्रोजस्तो गरिब देश र जनताको नेतृत्व गर्ने श्रमिक सर्वहारा वर्गको पार्टीका कार्यालयहरू सस्तो र साधारण ढंगले सञ्चालन गर्नुपर्छ । खर्चमा मितव्ययी, कार्यकर्ताको जीवन र खान्की जनस्तरको हुनैपर्छ, अन्यथा न हामी कम्युनिस्ट हुन्छौँ, न त जनताको प्रतिनिधित्व र नेतृत्व गर्न नै सक्छौँ।
उपयोगितावाद र उपभोक्तावादले हामीलाई निकै आलोचित बनाएको छ । पार्टी प्रभाव र जिम्माको दुरुपयोग गरेर आर्थिक अराजकता मच्चाउने र व्यक्तिगत सुखसयलका लागि खर्चने प्रवृत्ति बढ्दो छ । कम्युनिस्टहरूले नियमित र विशेषतः संकटको बेला मितव्ययी बन्ने, साधारण लगाइ, न्यूनतम खाना र साधनको प्रयोगमा सीमित भएर मात्र हामी कम्युनिस्ट बन्न सकिन्छ।
अन्त्यमा, पहिलो माक्र्सवादी साहित्य ‘कम्युनिस्ट घोषणा-पत्र’ प्रहरीले प्रेसबाटै उठाइदिएपछि फेरि छाप्न पैसा नहुनुको पीडा खपेर पनि पुष्पलालले समस्या फुकाउने मेसोमा भारतीय मित्र नृपेन्द्र (भारतीय कम्युनिस्ट पार्टीका नेता) सँग आर्थिक सहयोगको आग्रह गर्दा पुष्पलालले पाएको जवाफ यस्तो थियो, ‘हेर पुष्प ! केही हजारको प्रश्न हाम्रो निम्ति केही ठूलो कुरा होइन।
हामीले दियौँ भने फिर्ता लिदैनौँ तर एउटा कुरा याद गर, नेपाली जनता तिम्रो पार्टीलाई हुर्काउन र बढाउन सक्दैनन् भने कम्युनिस्ट पार्टीको गठन नै निरर्थक छ।’ आजका हामी माओवादीहरूले पुष्पलाल र नृपेन्द्रको संवाद पटक-पटक पढ्ने र जीवन व्यवहारमा प्रयोग गर्न जरुरी छ।
यसरी आर्थिक उत्पादनलाई संस्थागत एवं पारदर्शी र न्यायपूर्ण वितरण एकातिर भने अर्कोतिर पार्टीको अख्तियारी दुरुपयोग गरेर आर्थिक अराजकता गर्नेहरूलाई स्तर र मात्रा हेरी चेतावनी, कारबाही र पार्टीबाट निष्कासनसम्म गरियो भने आम कार्यकर्ता र जनताको विश्वास जित्न सक्छौँ।
शुभचिन्तक र समर्थकको कसिलो साथ बढ्दै जान्छ । पार्टी सदस्यहरू र कमिटीहरूको एकता थप मजबुत बनाउँदै उद्देश्यतिर निरन्तर लम्किन सक्छौँ । के हामी माओवादीहरूले यसो गर्न सक्छौँ त?
अन्नपूर्णपोष्ट दैनिकबाट

प्रतिक्रिया