कास्कीको मर्दी हिमाल पदमार्ग क्षेत्रमा बेपत्ता रहेका पदयात्री खोंचमा मृत भेटिए

कास्कीको मर्दी हिमाल पदमार्ग क्षेत्रमा बेपत्ता रहेका पदयात्री खोंचमा मृत भेटिए


  • जनसञ्चार डट कम समाचारदाता
  • शनिबार, २ जेष्ठ २०८३
  • 2K
    Shares

पोखरा, २ जेठ २०८३।

कास्कीको मर्दी हिमाल पदमार्ग क्षेत्रमा बेपत्ता रहेका पदयात्री आज मृत भेटिएका छन्।

गएको वैशाख ३० गतेदेखि सम्पर्कविहीन रहेका करिब ४० देखि ४५ वर्ष उमेर समूहका मंगोलियन अनुहार भएका ‘भन्ते भन्ने धनबहादुर’ आज बिहान करिब ८ बजे माछापुच्छ्रे गाउँपालिका–९ को मर्दी क्षेत्रस्थित मोदी खोला साइडको खोचमा मृत भेटिएका हुन।

उनी गएको बैशाख ३० गतेदेखि कास्कीको माछापुच्छ्रे गाउँपालिका–९ स्थित मर्दी हिमाल क्षेत्रको मर्दी भ्युप्वाइन्ट नजिकबाट हराएका बताइएको छ।

यसअघि मर्दी ट्रेक पर्यटन व्यवसाय तथा व्यवस्थापन समितिले ३० वैशाख बिहानदेखि एक व्यक्ति हराएको सूचना प्राप्त भएको जनाएको थियो । स्थानीय व्यवसायीका अनुसार ती व्यक्ति नेपाली भाषा बोल्ने भएकाले नेपाली नै हुन सक्ने अनुमान गरिएको थियो । माछापुच्छ्रे गाउँपालिका–९ का वडाध्यक्ष हरिबहादुर क्षेत्री ‘राजेन्द्र’ ले हराएका व्यक्ति हाई क्याम्पबाट अघि बढेको र मर्दी भ्युप्वाइन्ट पुगेपछि झोला राखेर ‘यसो घुमेर आउँछु’ भन्दै गएको तर त्यसपछि सम्पर्कमा नआएको बताएका थिए ।

वडाध्यक्ष क्षेत्रीले त्यस क्षेत्रमा बाक्लो कुहिरो लाग्ने, भू–बनावट जटिल रहेको र दिशा अलमलिने समस्या हुने भएकाले बेला–बेला पर्यटक हराउने घटना दोहोरिने गरेको बताएका थिए । उनका अनुसार यसअघि पनि विदेशी पर्यटक हराउने तथा कतिपयको अवशेष मात्र फेला पर्ने घटना भएका थिए । उनले गाइडबिना निषेधित क्षेत्रमा नजान आग्रह गर्दै कतिपयले अटेर गर्ने गरेको बताएका थिए ।

हराएका व्यक्तिको खोजीका लागि मर्दी ट्रेक पर्यटन व्यवसाय तथा व्यवस्थापन समितिका अध्यक्ष राजकुमार तामाङको नेतृत्वमा स्थानीय व्यवसायी र सुरक्षाकर्मी परिचालित भएका थिए । शुक्रबार शव फेला परेपछि उद्धारको तयारी अघि बढाइएको प्रशासनले जनाएको छ । कृत्रिम चित्र

प्रतिक्रिया