नुवाकोटमा गोली हानि हत्या गरिएको भनिएका दुई दाजुभाइको शब खोलामा ढुंगामुनि गाढेको अवस्थामा भेटियो

नुवाकोटमा गोली हानि हत्या गरिएको भनिएका दुई दाजुभाइको शब खोलामा ढुंगामुनि गाढेको अवस्थामा भेटियो


  • जनसञ्चार डट कम समाचारदाता
  • बिहिबार, ३१ बैशाख २०८३
  • 1.1K
    Shares

पोखरा , ३१ बैशाख २०८३।

नुवाकोटमा गोली हानि हत्या गरिएको भनिएका दुई दाजुभाइको शब स्थानीय एक खोलामा ढुंगामुनि गाढेको अवस्थामा भेटिएको छ।

बुधबार दिउँसो गोली हानि हत्या गरिएको भनिएका म्यागङ गाउँपालिका–४ किङ्गताङका दाजुभाई स्थानीय ३६ वर्षीय सूर्यमान तामाङ र ४३ वर्षीय सोमनाथ तामाङको शब किम्ताङ र वर्सुन्चेतको सीमानामा रहेको खोलामा गाडिएको अवस्थामा भेटिएको हो।

एक व्यक्तिले मंगलबार राति प्रहरीलाई फोनमार्फत उक्त अपराध आफूले गरेको भन्दै घटनास्थलसम्बन्धी दिएको जानकारीका आधारमा खोजतलास गर्दा उनीहरूको हत्या गरेर खोलामा ढुंगाले थिचेर लुकाएको अवस्थामा शव भेटिएको प्रहरीले बताएको छ । परिवारका सदस्यका अनुसार हत्या गरिएका दाजुभाइ मंगलबार बिहान कुलो निर्माण गर्न जाने भनेर हिँडेदेखि सम्पर्कविहीन भएका थिए।

आफूले हत्या गरेको स्वीकारसहित घटनास्थलको जानकारी दिने व्यक्तिले गोली प्रहार गरेर ज्यान लिएको उल्लेख गरे पनि घटनास्थलबाट प्रहरीले एकथान खुकुरी बरामद गरेको छ।

जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रहरी नायव उपरीक्षक (डीएसपी) विक्रम लामाका अनुसार घटनामा संलग्न भएको आशंकामा स्थानीय ३५ वर्षीय धने तामाङ फरार रहेका छन्। उनको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ।

स्थानीयवासीका अनुसार मंगलबार राति गोली पड्केजस्तो आवाज सुनिएको थियो। त्यसैले घटनामा गोली प्रहार भएको हुनसक्ने आशंका प्रहरीले गरेको छ। प्रारम्भिक अनुसन्धानमा आपसी विवादका कारण घटना भएको हुन सक्ने अनुमान गरिएको म्यागङ गाउँपालिका–४ का वडाध्यक्ष कमलबहादुर तामाङले बताएका छन्।

घटनाको जानकारी पाएलगत्तै विदुरस्थित जिल्ला प्रहरी कार्यालय तथा स्थानीय प्रहरी चौकीबाट प्रहरी टोली घटनास्थल पुगेको थियो। प्रहरीले खोलामा गाडिएको अवस्थामा दुवै शव बरामद गरी थप अनुसन्धान अघि बढाएको जनाएको छ।

स्थानीयका अनुसार मृतक दाजुभाइ तथा फरार आशंकित धने तामाङ निर्माणसम्बन्धी काम गर्दै आएका थिए। एकै घरका दुई दाजुभाइको हत्या भएपछि गाउँ नै शोकमग्न बनेको छ!!

प्रतिक्रिया