पुजारीभन्दा गरिब विन्ध्यवासिनी देवी

पुजारीभन्दा गरिब विन्ध्यवासिनी देवी


  • जनसञ्चार डट कम समाचारदाता
  • बुधबार, ५ असोज २०७३
  • 13.1K
    Shares

धन, दौलत वा सुख सुविधाका लागि मान्छे देवीदेवता पुकार्छ । भक्ति आराधना गर्छ, र पूजापाठ गर्छ । पोखरा र सेरोफेराका बासिन्दाले मनोकांक्षा पूरा गर्न सबैभन्दा धेरै पुकार्ने र हृदयदेखि मान्ने देवी विन्ध्यवासिनी हुन् तर यिनै देवी भने आफैंलाई पूजाआज गर्ने पुजारीभन्दा धेरै गरिब भएकी छन् । कारण सीधा छ, देवीका नाममा भक्तजनले चढाउने सबै दक्षिणा पुजारीले लिनु ।

३ सय वर्ष पुरानो र पुरातात्विक महत्वको विन्ध्यवासिनी मन्दिरको भेटी अहिलेसम्म पनि पुजारीकै पोल्टामा जाँदै आएको छ । पुजारीहरूकै भनाइअनुसार १८४४ सालमा कास्कीका राजा सिद्धिनारायण शाहले महेन्द्र पाध्या पौडेललाई लालमोहर दिई पुजारीको जिम्मेवारी सुम्पेका थिए । त्यही लालमोहरका आधारमा पाध्याका सन्तानले मन्दिरको पूजाआजा गरी दक्षिणा पनि आफैं लिने गरेका छन् ।

मन्दिरमा कम्तिमा पनि महिनाको ४ लाख रुपैयाँ भेटी संकलन हुन्छ । यो विन्ध्यवासिनी धार्मिक क्षेत्र विकास समितिको अनुमान मात्रै हो । विन्ध्यवासिनी आएका भक्तजनमध्ये यही परिसरकै राधाकृष्ण मन्दिरमा १० प्रतिशत भक्तजन जान्छन्-, समिति अध्यक्ष गणेशबहादुर श्रेष्ठ भन्छन्, ‘त्यहाँ त महिनाको ३० हजार जति भेटी संकलन हुन्छ र अर्को शिव मन्दिरमा कहिले लाख कहिले डेढ लाखसम्म जम्मा हुन्छ भने विन्ध्यवासिनीमा ४ लाख रुपैयाँ जति हुनुपर्छ भन्ने अनुमान हो ।’ त्यसो त मन्दिरको दैलाछेउमा राखिएको दानपेटिकामा मात्रै महिनाको १ लाख रुपैयाँ जति जम्मा हुँदै आएको उनी बताउँछन् । ‘जब कि दानपेटिकामा कमैले पैसा खसाल्छन्, धेरै त देवीकै चरणमा राख्छन्,- अध्यक्ष श्रेष्ठले भने, ‘कतिपय भारतीय भक्तजनले त सुनचाँदीजस्ता बहुमूल्य धातुसमेत मन्दिरमा भेटी चढाउँछन् ‘

विन्ध्यवासिनी मन्दिर क्षेत्रमा मर्मतसम्भार, पुनर्निमाण वा नयाँ निर्माणको कामका लागि धार्मिक क्षेत्र विकास समितिले दान र चन्दाको भर पर्नुपरेको सचिव तीर्थ श्रेष्ठ सुनाउँछन् । भन्छन्, ‘देवी गरिब, पुजारी धनी भएपछि यस्तै हो ।’
राजाको छोरा स्वतः राजा हुने व्यवस्था खारेज भइसक्दा पनि पुजारीका सन्तान पुजारी हुने चलन विन्ध्यवासिनीमा अझै हटेको छैन । राजगद्दीमा राजाका छोराको स्वतः हक लागेजस्तो मन्दिर र यसको भेटीमा पुजारीका पुस्ताले हकभोग गर्दै आएका छन् । हुनेवाला राजालाई राजपाठको शिक्षा लिनुपर्ने नियम हुन्थ्यो तर यहाँ पूजाआजका विधिविधानसम्म नसिकी पुजारीका सन्तानहरू पुजारी बनिरहेको विन्ध्यवासिनी धार्मिक क्षेत्र विकास समितिका सचिव तीर्थ श्रेष्ठ बताउँछन् ।

विन्ध्यवासिनी मन्दिरका मूल पुजारी रुद्रनाथ पौडेल हुन् । उनले ६ महिना पूजाआज गर्छन् । उनकै बाबुका दाजुभाइका छोराहरूले अर्काे ६ महिना पूजा गर्छन् । पछिल्लो ६ महिना श्रीराम, बाबुराम, माधव, कालिका र कृष्णप्रसाद पौडेलले पुजारीको काम गर्छन् ।

सचिव तीर्थका अनुसार सरकारले पशुपति विकास कोषको छुट्टै ऐन ल्याएजस्तो अन्य मन्दिरका लागि पनि कानुन बनाएर भेटी नियमन गर्नुपर्ने सुझाउँछन् । भन्छन्, ‘हामी संघसंस्था ऐनअन्तर्गत दर्ता भएर चलेका छौं, सरकारबाट नियुक्त होइनौं, भेटी खोस्ने र कानुनी लडाइँमा जाने हक हामीसँग छैन ।- मूल पुजारी रुद्र पौडेल पनि सरकारले कानुनी व्यवस्था गरे भेटी बुझाउन र तलबमा काम गर्न मञ्जुर रहेको बताउँछन् ।

राजाको छोरा स्वतः राजा हुने व्यवस्था खारेज भइसक्दा पनि पुजारीका सन्तान पुजारी हुने चलन विन्ध्यवासिनीमा अझै हटेको छैन । राजगद्दीमा राजाका छोराको स्वतः हक लागेजस्तो मन्दिर र यसको भेटीमा पुजारीका पुस्ताले हकभोग गर्दै आएका छन् ।

पोखरा उपमहानगरपालिकामा विन्ध्यवासिनी मन्दिर गुठीको ५४ रोपनी जमिन छ । यसमा पनि पुजारी परिवारको भोगचलन छ । धार्मिक क्षेत्र विकास समितिले केही गर्न सक्दैन । गुठीको जमिन भाडामा पनि लगाउन नपाइने नियम हुँदा केही गर्न नसकेको सचिव तीर्थ बताउँछन् । भन्छन्, ‘त्यो जमिनमा स्कुल, क्याम्पस वा मेडिकल कलेज खोलेर गरिब नेपालीका छोराछोरी पढाउने हाम्रो योजना छ ।- फेरिइरहने संस्कृतिमन्त्रीहरूलाई विन्ध्यवासिनीजस्ता देशभरका ठूला शक्तिपीठहरूको भेटी सदुपयोगबारे बुझाउँदा बुझाउँदा हैरान भएको सचिव तीर्थले सुनाए । ‘जुन मन्त्री पनि कानुन ल्याउँछौं भन्छन्, भन्दाभन्दै फेरिन्छन्-, उनले भने ।

कास्कीका अन्तिम राजा सिद्धिनारायण शाहले विन्ध्यवासिनी मन्दिर स्थापना गरेका हुन् । उनैले अहिलेका पुजारीका पुर्खालाई पुजारीको लालमोहर दिएको भए पनि त्यसको आधिकारिक प्रमाण नरहेको सचिव तीर्थ बताउँछन् । ‘त्यो लालमोहर पछिसम्म पनि फेरि थमौती गरिदियाँ भन्ने व्यहोरा छ भन्ने सुनिन्छ-, उनले भने, ‘थमौती गरिदियाँ भनेको नवीकरण गरेको भनेको होला, अब त वर्षाैंदेखि कसैले नवीकरण पनि गरेको छैन । तर एउटै परिवारका पुजारी छन् । आम्दानी उनैको छ ।’

प्रतिक्रिया