मितेरी सहकारी ठगी प्रकरण : कांग्रेस नेता धनराजकी पूर्वपत्नीलाई २१ दिनभित्र अदालतमा उपस्थित हुन अदालतले जारी गर्यो सार्वजनिक सूचना  

मितेरी सहकारी ठगी प्रकरण : कांग्रेस नेता धनराजकी पूर्वपत्नीलाई २१ दिनभित्र अदालतमा उपस्थित हुन अदालतले जारी गर्यो सार्वजनिक सूचना  


  • जनसञ्चार डट कम समाचारदाता
  • शुक्रबार, ८ जेष्ठ २०८३
  • 2.3K
    Shares

पोखरा,८ जेठ २०८३।

ललितपुरको महालक्ष्मीस्थानस्थित मितेरी सेभिङ एन्ड क्रेडिट को–अपरेटिभ ठगीकी मुख्य अभियुक्त ज्योति गुरुङलाई २१ दिनभित्र अदालतमा उपस्थित हुन सार्वजनिक सुचना जारी गरेको छ।

नेपाली कांग्रेसका पूर्व उपसभापति धनराज गुरुङको पूर्व पत्नी भनिएकी गुरुङलाई जिल्ला अदालत ललितपुरले एक सार्वजनिक सुचना जारी गर्दै २१ दिनभित्र अदालतमा उपस्थित हुन भनेको हो।

तोकिएको अवधिभित्र अदालत उपस्थित नभए कानुनबमोजिम प्रक्रिया अघि बढ्ने र त्यसपछि कुनै उजुरी नलाग्ने अदालतका प्रवक्ता टीकाध्वज कार्कीले जानकारी दिए।

अदालतको सूचनामा भनिएको छ, ‘यो म्याद सूचना पत्रिकामा प्रकाशित भएको मितिले बाटोको म्यादबाहेक २१ दिनभित्र आफैँ वा कानुनबमोजिमको प्रतिनिधिमार्फत आफ्नो सबुत प्रमाणसहित प्रतिउत्तरपत्र लिई यस अदालतमा उपस्थित हुनुहोला । म्यादभित्र नभई म्याद गुजारी बसे मुद्दा कानुनबमोजिम हुनेछ । पछि तपाईंको कुनै उजुरी लाग्नेछैन ।’

अदालतका प्रवक्ता टीकाध्वज कार्कीले दिएको जानकारी अनुसार , ज्योतिसहितका प्रतिवादीविरुद्धको मुद्दा ललितपुर जिल्ला अदालतमा विचाराधीन छन् । सोही मुद्दाका सम्बन्धमा अदालतले उनलाई उपस्थित हुन भनेको हो । उनीसहितका प्रतिवादीले सहकारीको १४ करोड ८१ लाख रुपैयाँ अपचलन गरेका थिए । 

घटनाको अनुसन्धान नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले गरेको थियो । घटनामा जोडिएका ज्योतिसहित ज्योतिबहादुर भण्डारी, सुजन शाक्य, हितमान थापा र प्रकाश थापाविरुद्ध गत ६ असोज ०८१ मै पक्राउ पुर्जी जारी गरिएको थियो । ज्योतिबहादुरलाई प्रहरीले कम्बोडियाबाट पक्राउ गरेर ल्याएको थियो । तर, गत २३ र २४ भदौमा भएको जेन–जी आन्दोलनमा क्रममा उनी फरार भएका छन् ।

प्रहरीका अनुसार घटनामा संलग्न सबै अभियुक्त नेपालमा छैनन् । ज्योतिविरुद्ध प्रहरीले रेड कर्नर नोटिस नै जारी गरेको छ । उनी अहिले अमेरिकामा रहेको प्रहरी बताउँछन् । नेता धनराजसँग उनको २९ फागुन ०७६ मा सम्बन्धविच्छेद भएको देखिन्छ । ज्योतिले त्यसअघि नै ज्योतिबहादुरलाई सहकारीबाट तीन करोड रुपैयाँ दिएकी थिइन् । उनले त्यहीआसपास सहकारीको १२ करोड ९४ लाख ८९ हजार ३५७ रुपैयाँ अपचलन गरिन् ।

अपचलन भएको सोही रकममा ब्याज जोडेर सहकारीले लिनुपर्ने रकम १४ करोड ८१ लाख रहेको भन्दै आएको छ । सहकारीले यो पनि भनेको छ, ‘रकम अपचलन गर्ने ज्योति र धनराजबिचको सम्बन्धविच्छेद कागजी हो । त्यसो हुँदा रकम अपचलनमा ज्योतिसहित उनका पूर्वश्रीमान् धनराजको पनि भूमिका छ । अपचलन भएको रकम धनराजले पनि चुक्ता गर्नुपर्छ ।’

यसका लागि सहकारीले मुख्य आधार ३ फागुन ०७७ मा धनराजले सहकारीबाटै लिएको १२ लाख रुपैयाँ ऋणलाई मानेको छ । किनकि ऋणपत्रमा धनराजले हकवाला भनी ज्योतिकै नाम उल्लेख गरेका छन् । ऋणपत्रमा धनराजकै हस्ताक्षर छ । यो तथ्यलाई सांसद सूर्य थापाको नेतृत्वमा गठित उच्चस्तरीय छानबिन समितिले पनि स्वीकार गरेको छ । 

अदालतबाट सम्बन्धविच्छेद गरेपछि पनि नेता गुरुङले ज्योतिको ऋणको किस्ता तिरेको प्रमाण भेटिएकाले उनीहरूको सम्बन्धविच्छेद ‘कागजी’ मात्रै भएको भनेर आलोचना हुँदै आएको छ ।

प्रतिक्रिया