चिनियाँ जहाजका १४ जना पाइलटको लाइसेन्स फेल

चिनियाँ जहाजका १४ जना पाइलटको लाइसेन्स फेल


  • जनसञ्चार डट कम समाचारदाता
  • सोमबार, १८ माघ २०७२
  • 12.2K
    Shares

चिनियाँ वाई १२ ई ‘कोइली’ नामक १८ सिट क्षमताको विमान उडाउने सबै पाइलटको लाइसेन्स फेल भएको छ । यसमा आवद्ध १४ जना पाइलटको उडान अनुमति पत्र दुई महिनादेखि नवीकरण भएको छैन ।  वाई १२ ई नामक चिनियाँ जहाज उडाउने चार जना क्याप्टेन र १० जना कोपाइलटले नियमित उडान गर्न नपाउँदा लाइसेन्स फेल भएको हो । लाइसेन्स नवीकरणका लागि तोकिएको मापदण्ड अनुसार नियमित उडान गर्नुपर्छ ।
प्रशिक्षक पाइलटको अभावमा दुई महिनाभन्दा लामो समयदेखि जहाज उडान नहुँदा सबैको लाइसेन्स फेल भएको नेपाल वायु सेवा निगमले जानकारी दिएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलका अधिकारीले पाइलटले जहाज उडाउन नपाएका र प्रशिक्षक पाइलट (आईपी) पनि नभएकाले तालिम नपाउँदा सबैको अनुमतिपत्रको नवीकरण हुन नसकेको जानकारी दिए ।
मन्त्रालय स्रोतले दिएको जानकारी अनुसार निगमको आन्तरिक उडानका चिनियाँ जहाज उडाउने पाइलट नै नभएको र जहाज आएको डेढ वर्ष बितिसक्दासमेत एक जना पनि आईपी तयार हुन नसक्दा वाई १२ उडाउने सबै पाइलटको लाइसेन्स एकै पटक फेल भएको हो । चीनले अनुदानमा दिएको दुईवटा जहाज मध्ये ५६ सिट क्षमताको एमए ६० का लागि नेपाली प्रशिक्षक पाइलट तयार भइसकेकाले नेपालीले नै उडान गरिरहेका छन् । एमए ६० नियमित उडानमा पनि रहेकोले यसमा कुनै समस्या छैन भने पाइलट अभावकै कारण वाई १२ भने तीन महिनाभन्दा लामो समयदेखि विमानस्थमा नै ग्राउन्डेड (थन्किएको) छ ।
चीनले अनुदानमा दिएको दुईवटै जहाजका लागि आईपी दिए पनि निर्धारित समयमा नेपाली पाइलट तयार हुन नसक्दा अहिले सबै पाइलटको लाइसेन्स फेल भएको र जहाज पनि महिनौदेखि ग्राउन्डेड हुन पुगेको वायुसेवा निगमले जानकारी दिएको छ । निगमको यो जहाज उडाउन क्याप्टेन आङनुरी शेर्पालाई सरकारले दुईदिन अगाडि मात्रै चीन पठाएको छ । वाई १२ का क्याप्टेन नुरी प्रशिक्षक पाइलट बन्न जम्मा चार घन्टाको तालिम मात्रै आवश्यक भएकोले उनलाई आवश्यक प्रक्रिया पुर्‍याएर पाठाई सकिएको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव सुरेश आचार्यले जानकारी दिए ।
उनका अनुसार नुरी एक साताभित्रमै आवश्यक तालिम पूरा गरेर वाई १२ का लागि पहिलो नेपाली आईपी बनेर आउनेछन् । त्यसपछि नुरीले अन्य क्याप्टेनलाई पनि आवश्यक तालिम दिएर प्रशिक्षक बनाउन सक्ने जानकारी आचार्यले दिएका छन् ।
वायुसेवा निगमका अनुसार नुरीले प्रशिक्षक बनेर आएपछि उनले अरु पाइलटलाई तालिम दिनेछन् । नुरी फर्किएपछि उनले आवश्यक प्रक्रियाअनुसार नेपाल नागरिक उड्डयन प्राधिकरणसमक्ष आईपीका लागि आवेदन दिनुपर्छ ।
प्राधिकरणबाट अनुमति लिaएपछि मात्रै उनले आईपीका रूपमा अरु पाइलटलाई तालिम दिन पाउँछन् । वाई १२ का सबै पाइलट नुरीसँग कम्तीमा आठ घन्टाभन्दा बढी समय अर्थात निगमको अपरेसन विभागले तोकेको मापदण्ड अनुसारको उडान गरेपछि लाइसेन्स नवीकरण हुन्छ ।
सबै पाइलटले लाइसेन्स नवीकरण गरेर आवश्यक तालिम लिए पनि तीन महिनाभन्दा लामो समयदेखि विमानस्थलमा थन्किएको वाई १२ ई नामक जहाजको उडान सुचारु हुने निगमले जानकारी दिएको छ । यसका लागि कम्तीमा अझै दुई साता भन्दा धेरै समय लाग्ने निगमले जानकारी दिएको छ ।

२० लाखमै तालिम दिन चीन तयार

निगमको चिनियाँ जहाज वाई १२ ई को प्रशिक्षक पाइलट तालिम दिन चीनले १९ हजार डलर (करिब २० लाख रुपैयाँ)मा नै दिन चीन सहमत भएको छ ।
चीनले यस अघि एक जना प्रशिक्षक पाइलट (आईपी)लाई तालिम दिन ९० हजार डलर मागेको भए पनि पर्यटन मन्त्रीले यो शुल्क अधिक भएकोले घटाउन गरेको आग्रह अनुसार १९ हजार डलरमा तालिम दिन चीन सहमत भएको हो ।
चीनले मागेको ९० हजार डलर अन्तर्राष्ट्रिय उडानको बोइङ जहाजको तुलनामा नौ गुणा बढी भएकोले पर्यटन मन्त्री आनन्दप्रसाद पोखरलेलले कुटनैतिक तहबाट नै गरेको आग्रहलाई चीनले स्वीकार गरेको पर्यटन मन्त्रालयका सहसचिव आचार्यले जानकारी दिए ।
उनका अनुसार चीनले १९ हजार डलर शुल्क लिने सहमति दिएपछि सकारले आईपी तालिमका लागि दुई दिन अगाडि निगमका क्याप्टेन शेर्पालाई चीन पठाएको हो ।
चीनले अनुदानमा दिएको ५६ सीट क्षमतको एमए ६० को आईपी तालिमका लागि २० हजार डलर लिएकोले वाई १२ को लागि पनि सोही अनुपातमा शुल्क लिने सहमति चीनले दिएको पनि निगमको भनाइ छ ।
निगमका अनुसार प्रशिक्षक पाईलट तथा नियमित तालिम (सिमुलेटर) शुल्क पनि बोइङको तुलनामा चिनियाँ जहाजको अधिक छ । बोइङका पाइलटका निम्ति यस्तो शुल्क १० देखि १२ हजार डलरमा मात्रै रहेको निगमको भनाइ छ ।अन्नपूर्णपोष्टबाट

प्रतिक्रिया