न माओवादीकरण न एमालेकरण

न माओवादीकरण न एमालेकरण


  • जनसञ्चार डट कम समाचारदाता
  • मंगलबार, १४ कार्तिक २०७४
  • 16.2K
    Shares

नेकपा माओवादी केन्द्र, नेकपा एमाले र नयाँ शक्ति नेपाल बीच चुनावी तालमेलका निमित्त छ बुँदे सहमति पत्र मार्फत चुनावी मोर्चा घोषणा भएको छ। सम्वन्धित राजनैतिक दलका शिर्षस्थ नेतृत्वद्वारा हस्ताक्षरित सहमति पत्रमा पार्टीएकता सम्म पुग्न सक्ने व्यहोरा उल्लेख गरिएको छ। यसलाई सार्वजनिक संचार माध्यमले वाम गठबन्धनको संज्ञा दिने गरेका छन्। यो वाम गठबन्धनको घोषणा संगै नेपाली राजनीतिक वृत्तमा ठूलै हलचल मच्चिएको छ। देशमा विद्यमान राजनीतिक दलहरु, नागरिक समाज तथा राजनीतिमा चासो राख्ने सामाजिक संस्था वा व्यक्तिहरु समेत तरङ्गित भएका छन्।

विशेष गरेर यो वाम गठबन्धनलाई ठूलै स्केलको राजनैतिक भूकम्पका रुपमा लिन थालिएको छ। यो राजनैतिक हलचलको केन्द्रविन्दु काठमाडौं भए पनि यसको कम्पन दिल्ली, बेइजिङ, वासिङ्टन र युरोपका धेरै जसो राजनैतिक राजधानीहरुमा समेत राम्रैसंग धक्का महशुस भएका प्रतिक्रियाहरु आएका छन्। घरेलु राजनीतिक वृत्तमा हेर्दा नेपाली काङ्ग्रेस, राप्रपा लगायतका दलहरुले यसलाई महाभूकम्पकै रुपमा लिएका र त्यसको प्रतिकात्मक रुपमा लोकतान्त्रिक नामको गठबन्धन समेत घोषणा गरेका छन्। यसवाट के स्पष्ट हुन्छ भने नेपाली राजनीति तीव्र ध्रुविकरणको दिशामा आगाडि बढ्दैछ। मुलतः राजनीतिक ध्रुविकरण नराम्रो कुरा होइन। र यसले राष्ट्र र जनतालाई कुनै प्रकारको हानी नोक्सानी पुर्‍याउदैन बरु यसले राजनीतिक स्थिरता र विकासको गतिलाई तीव्रता दिन मद्दत नै पुर्‍याउछ भन्ने विश्लेषकहरु प्रसस्तै पाइन्छन्।

तर विडम्वना अर्कातिर यस्ता विश्लेषकहरु पनि भेटिन्छन् जसलाई वाम गठबन्धन मन परेको छैन अर्थात कुनै पनि गठबन्धन मन पर्दैन उनीहरुले वाम गठबन्धनबाट आकाशै खस्ने र धर्ति नै भासिने जस्ता विसंगति पूर्ण विष्लेषणहरु प्रस्तुत गरिरहेका छन्। वाम एकता वा गठबन्धनका नेतृत्वकर्ता वा समर्थकहरुले लोकतान्त्रिक गठबन्धन हुँदा कुनै आपत्ति मान्नुपर्ने छैन र मान्दैनन् पनि। उता लोकतान्त्रिक गठबन्धनका हिमायतिहरु भने किन आतंकित हुनु परेको हो – बुझिनसक्नु कुरा यहिनेर उपस्थित छ। जे होस यो समयको आवश्यकता हो। यसलाई कसैले रोक्न सक्ने स्थिति पनि छैन। नेपाली काङ्ग्रेसले नेतृत्व गरेको लोकतान्त्रिक गठबन्धनमा कुन कुन दल समावेश हुने हुन् ? उनीहरुको रणनीति के कस्तो बन्ने हो त्यो भविष्यले बताउने छ। यसमा उनीहरुले नै चिन्ता र चासो लिनेछन् र यो उनीहरुकै सरोकारको विषय हो। तर एउटा मात्र सार्वजनिक चासोको विषय के हो भने त्यो गठबन्धनलाई आन्दोलन विरोधी, परिवर्तन विरोधी अर्थात वर्तमान संघीय लोकतान्त्रिक गणतन्त्रात्मक संविधान विरेधी शक्तिहरुले दुरुपयोग गर्न नपाउन् र राष्ट्रलाई संंकटग्रस्त अवस्थातिर धकेल्न नपाउन्। यो भने गम्भीर चिन्तनको विषय अवश्य हो।

जहाँ सम्म वाम गठबन्धनको प्रश्न छ, यो एउटा परिवर्तनकारी, प्रगतिशील एवम् अग्रगामी शक्तिहरु बीचको एकता हो। यसको प्रमुख लक्ष्य एवम् उद्देश्य देशमा राजनीतिक स्थिरता र समृद्धि ल्याउने नै हो, यसमा अन्यथा सोच्नुपर्ने कुनै जरुरी छैन। प्रारम्भमा जव माओवादी र एमाले बीचको गठबन्धन चुनावी मोर्चा हुँदै पार्टीएकता सम्म पुग्न सक्ने विषय विज्ञप्ती मार्फत सार्वजनिक भयो माओवादी केन्द्रसंग आवद्ध हामी जस्ता मध्यम स्तरका नेता तथा कार्यकर्ताहरु आर्श्चर्य चकित भएकै हौँ। यो कसरी सम्भव हुन सक्छ भन्ने विभिन्न तर्क वितर्कका साथ असहमति जन्य अभिव्यक्ति पनि यदाकदा प्रकट भएकै हुन्। किनकि एकातिर माओवाद छ अर्कोतिर वहुदलीय जनवाद, त्यस्तै एकातिर नयाँ जनवादी क्रान्तिका महत्वपूर्ण उपलब्धि हासिल भएका र बाँकी कार्यभार पुरा गर्दै समाजवादी क्रान्तिको तयारी गर्ने कार्यनीति छ भने अर्कोतिर पूँजिवादी क्रान्ति पुरा भएको र समाजवादमा शान्तिपूर्ण संक्रमण गर्ने नीति। यस्तो अवस्थामा कि त माओवादी एमालेमा विलय हुने हो कि त माओवादीको बैचारिक श्रेष्ठताले एमालेलाई निल्ने हो भन्ने तर्कहरु उठेकै थिए। अर्को शब्दमा कि पार्टीएमालेकरण हुने हो कि माओवादीकरण भन्ने धेरैको निष्कर्ष आउथ्यो। कार्यकर्ताहरु यस्तै विचार विमर्श र छलफलमा रुमलिँदै गरेको स्थितिमा माओवादी केन्द्रको नेतृत्वले देशभरको मध्यम स्तरका कार्यकर्ताहरुको काठमाडौंमा केन्द्रिकरण गरायो। सो केन्द्रीयकरणको प्रमुख उद्देश्य गठबन्धनको भाव सम्प्रेषण गर्नु हो भन्ने कुरा स्पष्ट नै थियो। त्यसो त भेलमा पनि अन्योलता, अस्पष्टता, असहजता तथा जिज्ञासा र उत्सुकता जस्ता मिश्रति भाव बोकेर कार्यकर्ताहरु जम्मा भएका जस्तै लाग्दथ्यो। तोकिएकै समयमा हल खचाखच भरियो केहि ढिलागरी नेताहरुको पंक्ति पनि हल प्रवेश गर्‍यो। कार्यक्रममा सातै प्रदेशबार्ट इन्चार्जहरुले संक्षिप्त रिपोर्टिङ गर्ने योजना अनुरुप रिपोर्टिङ भयो र रिपोर्टिङ पनि मिश्रति खालकै आयो। अव रिपोर्टिङमा व्यक्त भावना तथा जिज्ञासालाई समेत सम्वोधन हुनेगरि नेतृत्व पंक्तिको प्रशिक्षण शुरु भयो।

नेतृत्व पंक्तिका कामरेडहरुले क्रमस सम्वोधन गर्दै मुल नेतृत्व सम्म पुग्दा कार्यकर्ताहरुका मन मस्तिस्कमा उठेका जिज्ञासा, अन्योलता र अस्पष्टताहरु स्पष्ट हुँदै गए। सवै प्रकारका भ्रमहरु सफा गर्दै के कुरा स्पष्ट हुन पुग्यो भने हामीले सोचेको भन्दा चिज धेरै फरक रहेछ। खास कुरा के भने कुनै एक पार्टीकाई अर्को पार्टिलाई खाने, निल्ने चपाउने, पचाउने वा विलय गर्ने भन्ने रहेनछ। दुवै पार्टीको निष्कर्ष यो रहेछ कि देश अव अर्धसामन्ती र अर्धऔपनिवेशिक नरहेर पूँजिवादी चरणमा प्रवेश गरिसकेको छ। राजतन्त्रात्मक सामन्ती राज्य व्यवस्थको अन्त संगै देश पूँजिवादमा प्रवेश गरेकोले अवको आवश्यकता राष्ट्रलाई अगाडि बढाउनु पर्नेमा दुवै पार्टीसहमत भएका रहेछन्।

मनन गर्नुपर्ने विषय के रहेछ भने सहमति पत्रमा संघीय राज्य प्रणालीमा राज्यको पुनर्संरचना गरे जसरी पुराना पार्टीसंरचना भत्काई नयाँ एवम् उन्नत प्रकारको पार्टीसंरचना निर्माण गर्ने कुरा अन्तरनीहित रहेछ। बैज्ञानिक समाजवादी राज्य व्यवस्था स्थापना खातिर नयाँ कार्यदिशा तय गर्ने सहमति पो भएको रहेछ। अर्कोतर्फ एकता संघर्ष रुपान्तरण अनि अरु उच्च प्रकारको एकता निर्माता गर्न बैचारिक वहस, छलफल समीक्षा र मैत्रीपूर्ण आलोचना तथा आत्मालोचनाको प्रक्रियालाई निरन्तरता दिँदै बस्तुगत निष्कर्षमा पुग्ने निर्णय भएको रहेछ। मुलतः पार्टीएकता एउटा लामो प्रक्रिया संगैसंगै राष्ट्रिय सम्मेलन तथा महाधिवेशनमा पुगेर मात्र टुङ्गो लाग्ने हुनाले यसले बृहत बहस एवम् छलफलको माग गर्ने कुरा स्वाविक मानिन्छ। तसर्थ यसका निमित्त धैर्यता क्षमता, अध्ययनशिलता, राजनैतिक कुशलताको साथै चिन्तन शैलीमा गतिशिलताको जरुरी देखिन्छ। त्यसैले संम्पूर्ण पार्टींtmि यसतर्फ केन्द्रित हुन अनिवार्य भएको छ। बस्तुतः पार्टीएकताको निमित्त भावनात्मक एकता र बैचारिक एकरुपता हुनु महत्वपूर्ण पक्ष हो। राणनीति र कार्यनीतिमा स्पष्टता वैचारिक एकरुपता तथा कार्यन्वयनमा इमान्दारीता पार्टीकताका महत्वपूर्ण शर्त हुन् र हुनुपर्छ। यस्तो गम्भिर विषयलाई हल्का फुल्का हिसावले लिन सकिँदैन। यसमा राष्ट्र र जनताको भाग्य र भविष्य जोडिएको हुन्छ। त्यस्तै यो वाम गठबन्धन नबनोस् भत्कोस् भन्ने प्रतिगामी तत्व देखि सचेत रहन पनि त्यतिकै जरुरी छ। यसमा देशी विदेशी प्रतिक्रियावादी शक्तिहरु खनिन सक्ने खतरालाई नजरअन्दाज गर्न विलकुलै हुदैन।

स्पष्ट शब्दमा भन्नुपर्दा यो मुलुकमा परिवर्तनका निमित्त लड्ने मर्ने बलिदानी संघर्ष गर्ने र रगत पसिना बगाउने बामपंथीहरु नै हुन्। यो इतिहास सिद्ध कुरा हो। तर हाल सम्मको विडम्बना के छ भने बलीदानी संघर्ष गर्ने बामपंथी र शासन गर्ने अरु नै हुनाले जनताले परिवर्तनको अनुभुति गर्न पाएका छैनन्। अतः जसले संघर्ष गरेर परिवर्तन ल्यायो त्यही शक्तिले आफ्नो नीति र कार्यक्रमका साथ शासन सत्ता संचालन गर्न नपाउदा सम्म जनता परिवर्तनको फल उपभोग गर्नबाट बञ्चित हुन्छन्। यही धरातलीय यथार्थलाई आत्मसात गरी जनतालाई परिवर्तन, समृद्धि र शान्तिको प्रत्याभूति गराउन नै वाम एकताको आवश्यकता खड्केको हो। त्यसैले विभिन्न कारणबस टुक्राटुक्रामा विभाजित प्रगतिशिल क्रान्तिकारी, परिवर्तनकारी, देशभक्त तथा गणतन्त्रबादी शक्तिहरु विना आग्रह,पूर्वाग्रह यो वाम एकताको अभियानमा गोलबन्द हुन नितान्त जरुरी छ। यही नै आजको टड्कारो आवश्यकता हो।

प्रतिक्रिया