कैलाली, ३ भदौ २०८३ ।
कैलालीमा छातीमा गोली लागेको जस्तो देखिने घाउसहित कैलालीमा एक जना पुरुष मृत अवस्थामा भेटिएका छन्।
बर्दगोरिया गाउँपालिका–३, बौनियाका अन्दाजी ४५ वर्षीय पदम विश्वकर्मा मंगलबार साँझ करिब साढे ८ बजे स्थानीय लालीगुराँस सामुदायिक वनमा मृत अवस्थामा भेटिएका हुन्। उनी मृत भेटिएको स्थानमा भरुवा बन्दुकसमेत फेला परेको प्रहरीले जानकारी दिएको छ।
इलाका प्रहरी कार्यालय सडकपुर बौनियाका अनुसार मृतकको देब्रे हात तथा छातीको आसपास गोली लागेको जस्तो देखिने घाउ रहेको प्रारम्भिक रूपमा देखिएको छ। घटनास्थलबाट बरामद भएको भरुवा बन्दुक प्रहरीले नियन्त्रणमा लिएर घटनाबारे अनुसन्धान अघि बढाएको छ।
बर्दगोरिया गाउँपालिका–३ का वडाध्यक्ष मनऋषी आचार्यका अनुसार विश्वकर्मा शिकार खेल्न जंगल गएको बुझिएको छ। यद्यपि उनी एक्लै जंगल गएका थिए वा अन्य व्यक्तिसमेत साथमा थिए भन्नेबारे अहिलेसम्म स्पष्ट भइसकेको छैन।
घटनाको वास्तविक कारण र गोली कसरी लागेको हो भन्ने विषयमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ। मृतक विश्वकर्माको शव परीक्षणका लागि बौनियास्थित दोदोधारा अस्पतालमा राखिएको छ।