बाढीले फिर्केखोलाको पुल भासिएर भत्कियो, आवतजावत पूर्णरूपमा बन्द

बाढीले फिर्केखोलाको पुल भासिएर भत्कियो, आवतजावत पूर्णरूपमा बन्द


  • जनसञ्चार डट कम समाचारदाता
  • बुधबार, ३ भाद्र २०८३
  • 779
    Shares

पोखरा,  ३ भदौ २०८३ ।

पोखरा महानगरपालिका–८ स्थित फिर्केखोलामा गएराती आएको बाढीका कारण पुल भासिएर भत्किएको छ।

लगातारको वर्षापछि खोलामा आएको बाढीले आलुमाइलाचोकतर्फबाट प्रस्याङ जाने भित्री सडकमा रहेको पक्की पुलको जग कमजोर बनाउँदै लगेपछि पुल पूर्णरूपमा क्षतिग्रस्त भएको हो।

प्रहरीका अनुसार यसअघि नै पुलको जगको भाग जोखिममा रहेको जानकारी पाएपछि विपद् व्यवस्थापन टोली घटनास्थलमा खटाइएको थियो। सशस्त्र प्रहरी बलको टोलीले बाँसको प्रयोग गरी पुलबाट दुवैतर्फको आवतजावत बन्द गराएको थियो।

गएको असार २७ गते परेको अविरल वर्षाका कारण पुलको जग जोखिममा परेको खबर प्राप्त भएपछि सशस्त्र प्रहरीको टोली सशस्त्र प्रहरी नायब निरीक्षक बलराम गौतमको कमाण्डमा १/१७ जनाको विपद् व्यवस्थापन टोलीसहित बिहान ९ः१५ बजे घटनास्थल पुगेको थियो। टोलीले आवश्यक सुरक्षा सतर्कता अपनाउँदै आवतजावत बन्द गराएपछि बिहान ९ः४७ बजे फिर्ता भएको थियो।

तर, मिति २०८३/०५/०२ गते रातिदेखि पुनः परेको अविरल वर्षाका कारण पुल थप कमजोर हुँदै गएर अन्ततः पूर्णरूपमा भासिएर भत्किएको जनाइएको छ।

पुल भत्किएपछि उक्त भित्री सडकखण्डमा आवतजावत प्रभावित भएको छ। घटनास्थलमा थप जोखिम हुन नदिन सम्बन्धित निकायले आवश्यक सुरक्षा तथा व्यवस्थापनका उपाय अपनाउनुपर्ने अवस्था देखिएको छ।

प्रतिक्रिया