काठमाडौं ३ भदौ २०८३ ।
सरकारी वार्ता टोली र दुर्गा प्रसाईं नेतृत्वको राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति तथा नागरिक बचाउ महाअभियानको वार्ता टोली बीच गएको मध्यराती भएको वार्ता बिना सहमति टुंगिएको छ।
नेपाल सरकारको तर्फबाट सहसचिव लीलाधर सुवेदी नेतृत्वको वार्ता टोली र विष्णु बोहरा क्षेत्रीको संयोजकत्वमा गठित महाभियान टोलीको वार्ता टोलीबीच गएराती भएको वार्ता बिना सहमति टुंगिएको हो ।
महाअभियानले उठाएका मागहरूको समाधानका लागि सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भएको उक्त वार्तामा कुनै सहमति नभएको महाभियानका संयोजक दुर्गा प्रसाईले जानकारी दिएका छन्। प्रसाईले मध्यराती आफ्नो सामाजिक संजाल फेसबुकमा एउटा स्टाटस राख्दै त्यस्तो जानकारी दिएका हुन्।
महाभियानका अध्यक्ष दुर्गा प्रसाईंले आफ्ना वार्ता समिति सदस्यहरूलाई सिंहदरबारभित्रै रोकिएको दाबी गर्दै सरकारको रवैयाप्रति तीव्र असन्तुष्टि जनाएका छन्।
प्रसाईंले सामाजिक सञ्जाल फेसबुकमार्फत सरकारमाथि ‘दमनको पराकाष्ठा’ भन्दै पीडित नागरिकका मागप्रति संवेदनशील बन्न आग्रह गरेका हुन्।
उनका अनुसार पीडित नागरिकहरू १८ दिनको कष्टकर पैदल यात्रा पार गर्दै राजधानी आइपुगेका छन्। उनीहरूले राष्ट्रिय मानव अधिकार आयोग तथा अन्तर्राष्ट्रिय मानव अधिकार समुदायको ध्यानाकर्षण गराउँदै विगत चार दिनदेखि सडकमा बसेर न्यायको माग गरिरहेको प्रसाईंको दाबी छ।
सरकारले एक दिनअघि वार्ता समिति गठन गरेको र त्यसको भोलिपल्ट वार्ताका लागि बोलाएको उल्लेख गर्दै प्रसाईंले वार्तामा सहभागी हुन सिंहदरबार पुगेका अभियानका वार्ता समिति सदस्यहरूलाई राति १० बजेसम्म बाहिर निस्कन नदिइएको आरोप लगाएका छन्।
प्रसाईंले आफ्नो फेसबुक सन्देशमा भनेका छन्, “वार्ता गर्न पुगेका अभियानका वार्ता समिति सदस्यहरूलाई सिंहदरबारभित्रै बन्दक जस्तो बनाएर अहिले रातको १० बजेसम्म राखिएको छ।”
सडकमा न्याय मागिरहेका पीडित नागरिकमाथि सडक खाली गर्न दबाब दिँदै थप पीडा सिर्जना गर्ने काम भएको भन्दै उनले सरकारको आलोचना गरेका छन्। वार्ताको नाममा धम्की, दबाब र दमनको व्यवहार नगरी पीडित नागरिकको आवाज सुन्न र समाधान खोज्न सरकार जिम्मेवार हुनुपर्ने उनको भनाइ छ।
प्रसाईंले सिंहदरबारबाट आफ्नो वार्ता टोलीलाई तत्काल फिर्ता पठाउन तथा राष्ट्रिय मानव अधिकार आयोगको रोहवरमा महाअभियानकै नेतृत्वमा प्रधानमन्त्रीस्तरीय वार्ताको वातावरण निर्माण गर्न सरकारसँग माग गरेका छन्।
उनले सरकारलाई चेतावनी दिँदै पीडित नागरिकको भावनासँग नखेल्न आग्रह गरेका छन्। “धम्कीको भाषा होइन, अभिभावकको जिम्मेवारी पूरा गरियोस्,” प्रसाईंले भनेका छन्।
यसैगरी, उनले अभियानमा सहभागी अभियन्ताहरूलाई आन्दोलनबाट पछि नहट्नसमेत आग्रह गरेका छन्। भक्तपुरमा आफूहरूलाई साथ दिने भन्दै प्रसाईंले “तपाईंहरूलाई न्याय दिलाएरै छाड्नेछु” भन्ने प्रतिबद्धता व्यक्त गरेका छन्।
प्रसाईंको यो अभिव्यक्ति नेपाल सरकार र राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति तथा नागरिक बचाउ महाअभियानबीच औपचारिक वार्ता सुरु भएकै दिन सार्वजनिक भएको हो। वार्ताको क्रममा उत्पन्न परिस्थितिबारे सरकारको आधिकारिक धारणा भने यस अभिव्यक्तिमा समेटिएको छैन।