पाल्पाको सिद्धबाबा क्षेत्रमा पहिरो खसेपछि सिद्धार्थ राजमार्ग अवरुद्ध, सवारी आवागमन ठप्प

पाल्पाको सिद्धबाबा क्षेत्रमा पहिरो खसेपछि सिद्धार्थ राजमार्ग अवरुद्ध, सवारी आवागमन ठप्प


  • जनसञ्चार डट कम समाचारदाता
  • बुधबार, ३ भाद्र २०८३
  • 817
    Shares

पाल्पा,  ३ भदौ २०८३ ।

पाल्पाको तिनाउ गाउँपालिका–३, सिद्धबाबा क्षेत्रमा पहिरो खसेपछि सिद्धार्थ राजमार्ग पूर्णरूपमा अवरुद्ध भएको छ।

प्रहरीका अनुसार सिद्धबाबा सुरुङमार्गको पाल्पातर्फबाट प्रवेश गर्ने बिन्दुबाट करिब १०० मिटर उत्तरतर्फ माथिबाट पहिरो खसेर सडक अवरुद्ध भएको हो। पहिरो खस्ने क्रम अझै जारी रहेकाले सडक पूर्णरूपमा बन्द भएको जनाइएको छ।

पहिरोका कारण राजमार्गमा सवारी आवागमन रोकिएको छ। घटनास्थलमा प्रहरी चौकी दोभानबाट प्रहरी सहायक निरीक्षकको कमाण्डमा ट्राफिक प्रहरीसहित पाँच जनाको टोली खटाइएको छ।

प्रहरी टोलीले घटनास्थलको अवस्था निगरानी गर्दै सडक खुलाउने पहल गरिरहेको जनाएको छ। पहिरो खस्ने क्रम रोकिएपछि सडकमा थुप्रिएको माटो तथा ढुंगा हटाउन जेसीबी तयारी अवस्थामा राखिएको छ।

उक्त पहिरोस्थल प्रहरी चौकी दोभानबाट करिब एक किलोमिटर दक्षिणतर्फ रहेको प्रहरीले जनाएको छ। पहिरो निरन्तर खसिरहेकाले तत्काल सडक खुलाउन कठिनाइ भइरहेको जनाइएको छ।

प्रतिक्रिया