पोखरा । गएराती परेको अविरल वर्षाका कारण पोखरा महानगरपालिका–५ स्थित जिरो किलोमिटरस्थित सडकमा भ्वाङ परेको छ।
बुधबार राति करिब ११ बजे परेको अविरल वर्षाका सडकमा करिब १ फिट लम्बाइको भ्वाङ परेको हो। सडकमा भ्वाङ परेको सूचना पाएलगत्तै वडा प्रहरी कार्यालय बैदामबाट प्रहरी वरिष्ठ हवल्दार जितबहादुर बरालको कमाण्डमा दुई जनाको प्रहरी टोली घटनास्थलमा खटिएको थियो। प्रहरी टोलीले ट्राफिक प्रहरीसँग समन्वय गरी सडकमा तीन वटा ट्राफिक कोन राखेर जोखिमयुक्त स्थान संकेत गरेको छ। हाल उक्त सडकमा सवारी आवागमन अवरुद्ध नभएको प्रहरीले जनाएको छ।
सडकमा थप क्षति हुन सक्ने सम्भावनालाई ध्यानमा राख्दै प्रहरीले सडक विभागसँग समेत समन्वय गरिरहेको जनाएको छ। घटनास्थल वडा प्रहरी कार्यालय बैदामबाट करिब तीन किलोमिटर उत्तरतर्फ रहेको बताइएको छ।
लगातारको वर्षाका कारण सडकमा थप क्षति हुन सक्ने भएकाले सम्बन्धित निकायले जोखिमयुक्त स्थानको निरीक्षण तथा आवश्यक मर्मतसम्भारका लागि प्रक्रिया अघि बढाएको प्रहरीले जनाएको छ।