भाद्र १/ काठमाडौँ – एएफसी एसियन कप छनोटको तयारीका लाािग जापान भ्रमणमा रहेको नेपाली राष्ट्रिय फुटबल टोलीले बिहीबारको मैत्रीपूर्ण खेलमा लज्जास्पद हार बेहोरेको छ । नेपाली टोलीले अमिटी स्पोर्टस क्लबसँग आज बिहान भएको खेलमा ५–० को हार बेहोरेको हो ।
अमिटी जापानको क्षेत्रीय लिगमा प्रतिस्पर्धा गर्ने क्लब हो । क्षेत्रिय लिग जापानको लिग संरचना अनुसार पाँचौ श्रेणीको लिग हो । चौथो मिनेटमै यामाकोमो डाइकीको गोलबाट पछि परेको नेपालविरुद्ध १६ औं मिनेटमा योसहियोकाले गोल गरे । त्यस्तै ३४ औं मिनेटमा ताकाहासीले गोल गरे ।
दोस्रो हाफमा दुई मिनेटको फरकमा दुई गोल गर्दै अमिटीले गोलअन्तरलाई फराकिलो पारेको थियो । मोरिया ताकाजिनले ५६ औं र होरिनो जुनले ५७ औं मिनेटमा नेपालविरुद्ध गोल गरेका थिए ।
अघिल्ला दुई मैत्रीपूर्ण खेलमा भने नेपालले एकमा बराबरी र अर्कोमा जित निकालेको थियो । बुधबारको खेलमा नेपाल राष्ट्रिय टोलीले कान्साइ गाकुइन विश्वविद्यालयको टोलीलाई २–१ ले पराजित गरेको थियो । सुमन लामाको गोलमा नेपाल विजयी भएको थियो । त्यसअघि विमलले नेपालका लागि पहिलो गोल गरेका थिए । १२ औं मिनेटमा विमलको गोलमा अग्रता लिएपनि २५औं मिनेटमा गाकुइनले बराबरी गोल गरेको थियो ।
एएफसी एसियन कप छनोटअन्तर्गत भदौ २० गते ताजकिस्तानसँग खेल्नुअघि अन्तिम तयारीको लागि जापान पुगेको नेपाली टोलीले पहिलो खेलमा गाम्बा ओसकाको यू–२३ टोलीसँग १ – १ को बराबरी खेलेको थियो । नवयुग श्रेष्ठको गोलबाट नेपाली टोलीले खेलमा बराबरी गरेको थियो । नेपालले शुक्रबार हानान विश्वविद्यालयसँग नेपाली समयअनुसार १ः१५ बजे प्रतिस्पर्धा गर्नेछ ।