अमेरिका, २८ कार्तिक २०८३।
अमेरिकामा शुक्रबार दिउँसो एयर ट्राफिक कन्ट्रोल प्रणालीमा ठूलो सञ्चार अवरोध देखिएपछि संघीय उड्डयन प्रशासन (एफएए) ले देशभरका विमानस्थलबाट हुने उडान तत्काल रोक्न निर्देशन दिएको छ।
एफएएका अनुसार पूर्वी समयअनुसार करिब ४ बजे जारी निर्देशनअनुसार अर्को सूचना नआएसम्म नयाँ उडान प्रस्थान गर्ने छैनन्। तर आकाशमा रहेका विमानलाई गन्तव्यसम्म पुगेर अवतरण गर्न दिइएको छ।
होमल्याण्ड सेक्युरिटी मन्त्री मार्कवेन मुलिनले यो दूरसञ्चार प्रणालीको अवरोध भएको बताए। आतंकवादी आक्रमणको कुनै संकेत नदेखिएको र यो “अर्को ९/११ होइन” भन्ने उनको भनाइ छ। तर समस्या तत्काल समाधान नहुने र कारणबारे अनुसन्धान भइरहेको उनले बताए।
यातायात मन्त्री सीन डफीले पनि सबै एयर रुट ट्राफिक कन्ट्रोल सेन्टरमा सञ्चार समस्या देखिएको पुष्टि गरेका छन्।
साँझ ६ बजेसम्म अमेरिकाभित्र १० हजारभन्दा बढी उडान ढिला र करिब १,७०० उडान रद्द भएका थिए। निर्देशन जारी हुँदा १ हजारभन्दा बढी विमान आकाशमै थिए।
अमेरिकन र युनाइटेड एयरलाइन्सले यात्रुलाई विमानस्थल जानुअघि उडानको अवस्था बुझ्न आग्रह गरेका छन्। लन्डन हिथ्रो, टोरन्टो पियर्सन र मेक्सिको सिटी विमानस्थलले पनि अमेरिका सम्बन्धी उडान प्रभावित भएको जनाएका छन्।
पछिल्लो तीन दशकमा देशव्यापी उडान रोकिएको यो तेस्रो पटक हो। यसअघि सन् २००१ को सेप्टेम्बर ११ र सन् २०२३ को जनवरी ११ मा यस्तो भएको थियो।
उडान कहिले पूर्ण रूपमा सामान्य हुन्छ भन्ने शुक्रबार साँझसम्म स्पष्ट भएको छैन। एजेन्सीहरुको सहयोगमा तयार भएको समाचार सामग्री