देशभर चिसो ह्वात्तै बढ्यो,

देशभर चिसो ह्वात्तै बढ्यो,


  • जनसञ्चार डट कम समाचारदाता
  • बुधबार, ६ माघ २०७२
  • 12.3K
    Shares

काठमाडौँ उपत्यकालगायत देशभरको मौसममा बदली आउँदा अत्यधिक चिसो बढेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार पश्चिमी वायुको प्रभाव तथा न्यून चापीय रेखाको प्रभावको कारणले देशभरिकै मौसममा बदली आएको हो । पछिल्लो बदलावसँगै मुलुकभर नै हल्का वर्षा हुन सक्नेछ । उच्च हिमाली क्षेत्र र तथा उच्च पहाडी क्षेत्रमा चर्को हिमपात हुने विभागले जनाएको छ ।

मौसमविद् शान्ति कँडेलका अनुसार काठमाडौँलगायत पश्चिमी क्षेत्रमा आज पनि मौसम बदली हुनेछ । मंगलबार मुस्ताङ, मनाङ, जोमसोम, रसुवा, धादिङ, रसुवा, सिन्धुपाल्चोकको उच्च क्षेत्रमा हिमपात भएको कँडेलले जानकारी दिनुभयो । हिमपातका कारण भूकम्पबाट घरबारविहीन भएका भूकम्पपीडित बढी समस्यामा परेका छन् ।

विभागका अनुसार मुलुकभरको मौसम बिहीबारबाट मात्रै क्रमिक सुधार आउनेछ तर आजको दिन भने अत्यधिक चिसो हुने र हिमपातको मात्रासमेत बढ्ने अनुमान गरिएको छ । मंगलबार मुलुकभरको मौसम बदली भई आकासमा बादलले ढाकेको भए पनि पूर्वी क्षेत्रको अवस्था भने सामान्य नै रहेको थियो । पश्चिमी वायुको चाप क्रमशः पूर्वतिर सर्दै जाँदा भने काठमाडौँलगायतका स्थानमा मौसम सामान्य बन्ने विभागको भनाइ छ ।

शुक्रबारबाट मात्रै मौसममा सुधार आउने अनुमान गरिएको मौसमविद् कँडेलले बताउनुभयो । उहाँका अनुसार आज दिउँसो मुलुकका केही स्थानमा हल्का वर्षा हुनेछ । मंगलबार काठमाडौँको तापक्रम ३.५ डिग्री सेल्सियस मापन गरिएको थियो भने अधिकतम तापक्रम १९.७ डिग्री सेल्सियस पुगेको छ । जुम्लाको तापक्रम माइनस ४.६ डिग्री सेल्सियस रहेको छ भने दीपायलमा ३.६, डडेल्धुरा ३.४, वीरेन्द्रनगर ४.०, दाङको ५.४ डिग्री सेल्सियस तापक्रम रहेको छ । जिरी ०.६, जोमसोम माइनस २.५ तापक्रम रहेको छ । विभागका अनुसार मौसममा आएको बदलीका कारण उच्च हिमाली क्षेत्रमा हुने हवाई उडान प्रभावित हुनेछ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा मंगलबार बिहान पनि ‘भिजीविलिटी’ असाध्यै कम रहेको कारण उडानमा समस्या भएको थियो । ‘‘आफूहरुले जोखिम लिएर उडान नगर्न विमान सेवा प्रदायकलाई आग्रह गरेका छौँ ।’’ आज र भोली बिहीबार पनि मौसम बदली हुने भएकाले हवाई उडान अवरुद्ध हुनसक्ने भएकाले जबर्जस्ती उडान नगर्न विभागले चेतावनी दिएको छ । रासस

प्रतिक्रिया