चेल्सीले मोराटालाई भित्रायो

चेल्सीले मोराटालाई भित्रायो


  • जनसञ्चार डट कम समाचारदाता
  • आइतबार, ८ साउन २०७४
  • 9.1K
    Shares

सात करोड ६० हजार पाउन्ड खर्चंदै चेल्सीले गर्‍यो अल्भारो मोराटासँग पाँच वर्षको सम्झौता

इंग्लिस प्रिमियर लिग च्याम्पियन चेल्सीले शनिबार रियल म्याड्रिडका स्ट्राइकर अल्भारो मोराटालाई भित्राएको छ । चेल्सीले सात करोड ६० हजार पाउन्ड खर्चंदै मोराटासँग पाँच वर्षसम्म सम्झौता गरेको बेलायती मिडियाहरूले जनाएका छन् । २४ वर्षीय मोराटाले चेल्सीबाट प्रतिसाता १ लाख ५५ हजार पाउन्ड पाउनेछन् ।

सम्झौतासँगै मोराटा सिंगापुरमा
चेल्सीसँग कागजी प्रक्रिया पूरा गरेपछि मोराटा सीधै सिंगापुर पुगेका छन् । चेल्सीले प्रिसिजनअघि सिंगापुरमा अभ्यास गर्नेछ । चांगी अन्तर्राष्ट्रिय विमानस्थलमा मोराटालाई स्वागत गर्न उनका समर्थक तथा चेल्सीका पदाधिकारी उपस्थित थिए । मोराटालाई चेल्सीका पुराना खेलाडीले विमानस्थलमै स्वागत गरेका छन् । अर्को शनिबार चेल्सीले बेइजिङको बर्ड नेस्ट रंगशालामा आर्सनलविरुद्ध प्रतिस्पर्धा गर्दै छ । यसअघि सिंगापुरमै चेल्सीले बायर्न म्युनिख वा इन्टर मिलानसँग अभ्यास खेल खेल्नेछ ।

चेल्सीमा आउँदा खुसी
युरोपियन र स्पेनिस लिग च्याम्पियन रियल म्याड्रिडमा खासै स्थान बनाउन नसकेका मोराटाले चेल्सीमा आफ्नो उपस्थिति दरिलो हुने विश्वास व्यक्त गरेका छन् । चेल्सीसँग पाँच वर्ष सम्झौता गर्न पाउँदा आफूलाई निकै खुसी लागेको उनले बताए । ‘चेल्सीसँग गाँसिन पाउँदा ज्यादै खुसी छु,’ सिंगापुरमा आयोजित पत्रकार सम्मेलनमा मोराटाले भने, ‘विश्वकै एक ठूलो क्लबमा आएको छु, क्लबको स्तरअनुसार नै आफूलाई उतार्नेछु ।’ चेल्सीका प्रशिक्षक एन्टिनो कोन्टेसँग प्रशिक्षण गर्ने सपना पूरा हुने उनले जनाए । ‘कोन्टेसँग प्रशिक्षण गर्न ठूलो चाहना थियो, आज आएर त्यो सपना पूरा भएको छ,’ उनले भने, ‘चेल्सीलाई बढी उपाधि दिलाउन म सक्दो प्रयास गर्नेछु, यसका लागि मिहिनेत पनि गर्नेछु ।’

मोराटाको प्रशंसा
चेल्सीका प्रशिक्षक कोन्टेले मोराटा विश्वकै एक प्रतिभाशाली स्ट्राइकर भएको बताएका छन् । ‘म्याड्रिडमा अल्भारोले आफूलाई कुन स्तरको स्ट्राइकर हो भन्ने प्रमाणित गरेका छन्, अब चेल्सीमा पनि त्यही स्तरको प्रदर्शन हुने विश्वास छ,’ कोन्टेले भने, ‘चेल्सीमा मोराटा आउँदा धेरै खेलाडी खुसी छन् ।’ यस सिजनमा मोराटा चौथो खेलाडीका रूपमा भित्रिएका हुन् । चेल्सीले नयाँ सिजनमा गोलरक्षकमा विली कावेर्लो, डिफेन्डरमा एन्टोनियो रोड्रिगेर तथा मिडफिल्डरमा बाकायोका भित्राएको छ ।

एजेन्सी, म्याड्रिड

प्रतिक्रिया
सम्बन्धित समाचार