कमल पौडेल अथक,पोखरा / जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीले पोखराको सडकमा रुटपरमिट दिएर जीप व्यवसायी सँग पैसा असुल्दै आएको रहस्य खुलेको छ ।
पोखरा सहर भित्र रुटपरमीट नै नभएका वाग्लुङ पोखरा चल्ने जीपहरुवाट जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीका प्रमुख एवं प्रहरी निरिक्षक विश्वराज अधिकारीले महिनावारी रकम असुल्दै आएको रहस्य खुलेको हो ।
पोखराको सृजनाचोकदेखि वाग्लुङको लागि छुट्ने जीपहरुलाई पोखरामा रुट परमीट छैन । ति जीपहरु पोखराको सृजनाचोक स्थित धौलागिरी होटलको अगाडिवाट छुटने गरेका छन् । यहाँवाट वाग्लुङको लागि छुट्ने जीप १६ वटा रहेका छन् । यी १६ वटा जीपले महिनाको २ हजार गरी ३२ हजार रुपैयाँ ट्राफिक प्रहरीलाई वुझाउने गरेका छन् ।
धौलागिरी होटलका संञ्चालक र लाहुरे भन्ने व्यक्तिले जीपवाला सँग पैसा उठाएर सिधै मासिक रुपमा ट्राफिक प्रमुख विश्वराज अधिकारीको हातमा सो रकम थमाईदिने गरेको एक जीप चालकले आफ्नो नाम न वताउने शर्तमा भने ।
जिल्ला ट्राफिक प्रहरी कार्यालयवाट ड्युटिमा खटिने प्रहरी जवानहरुले सृजनाचोकको वाटोमा पार्किङ गरेका रुट परमीट विनाका जीप समातेर गोलघरमा लगेपनि ट्राफिक हाकिमले तत्काल छोडिदिने गरेको स्वयं ड्युटिमा खटिदै आएका प्रहरी जवानको भनाई छ ।
ट्राफिक प्रमुखले नै यसरी पोखराको सडकमा अनुमति नभएका जीप सँग यसरी पैसा असुल्छन् भन्ने कुरा पनि ड्युटिमा रहेको ट्राफिकले ग १ ज ६२५३, ग १ ज ६३५३, ग १ ज ९२११,ग १ ज ६५०२ नम्वरका जीपहरु समातेपछि पर्दाफास भएको हो ।
ड्युटिमा खटिएको प्रहरीले यी जीपहरु पक्राउ गरेपनि गोलघरमा पुर्याएपछि ट्राफिक प्रमुख विश्वराज अधिकारीले किन समातेको भन्दै उल्टै आफ्ना मातहतका ट्राफिक जवानलाई थर्काउने र कारवाही गर्ने गरेका थिए । यसको रहस्य यो छ कि जीपहरुवाट उनले महिनावारी असुल्दै आएका छन् ट्राफिक श्रोतले भन्यो । जव ड्युटिमा रहेको ट्राफिकले जीपलाई समात्यो तव जीप चालकले भने पैसा वुझाउन दुई तीन दिन ढिलो हुँदा हामीलाई समात्ने ? एक जना चालकलाई भर्खरै वडा प्रहरी कार्यालय वैदाममा लगेर एक रात थुनेपनि ट्राफिक प्रमुको निर्देशनमा उनी छुटेका छन् ।
यहाँ जीप सँग पैसा खाँदै आएका ट्राफिक प्रमुख अधिकारीले अवैध रुपमा पोखरामा संञ्चालन हुँदै आएका जीपलाई कारवाही गर्न खोज्ने ट्राफिक प्रहरीलाई नै कारवाही गरेको वुझिएको छ । अवैध रुपमा संञ्चालन हुँदै आएका जीप समात्ने ट्राफिक जवानलाई उनले कार्यालयवाट कारवाही गर्ने वा अन्यत्र सरुवा गरिदिने गरेको पीडित प्रहरी जवानहरुको गुनासो छ ।
केही दिन अघि पोखरामा पत्रकार सम्मेलन गरेर कहीँ कतै ट्राफिकले रकम खाएको प्रमाण भए ल्याउन भनेका ट्राफिक प्रमुख अधिकारीले नै आफैले महिनावारी उठाउँदै वाग्लुङ पोखरा जीप संञ्चालन गर्न दिएको प्रमाण फेला परेपछि प्रहरी वृतमा हल्ल्ली खल्ली मच्चिएको छ ।
जीपहरुवाट असुलेको महिनावारी रकम केही पोखराका मिडियाकर्मी र पश्चिम क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय वुटवलसम्म पनि पुग्ने गरेको ट्राफिक श्रोतको दावी छ । यसरी रकम व्यवसयीहरु सँग रकम असुल्दै आएका ट्राफिक प्रहरी निरिक्षक विश्वराज अधिकारीमाथि कारवाही गरिनु पर्ने कार्यलय मातहतका ट्राफिक प्रहरीले माग गरेका छन् ।
यी जीप वाहेक पनि पोखराका विभिन्न चोकमा यातायातको पार्किङ दिएर अधिकारीले गोप्य रुपमा पैसा असुल्दै आएको ट्राफिकको गोप्य सुत्रले खुलासा गरेको छ । हामीवाट ट्राफिकले मासिक रुपमा पैसा असुल्ने गरेको छ, तर ड्युटीमा वसेका ट्राफिकले हामीलाई पक्राउ गरेर अजारै पारेका छन् । हामीले हाकिमलाई महिनावारी पैसा वुझाउने साना प्रहरीले हामीलाई यसरी दुःख दिने यो राम्रो भएन एक जीप चालकले भने ।
पोखरा लेखनाथ महानगरपालिकालाई आजदेखि हर्न मुक्त सहर घोषणा गरिदै छ । तर ट्राफिक प्रहरी कार्यालय कास्कीका प्रमुखले नै सहर भित्र रुटपरमिट नभएका जीप संञ्चालन गर्न दिएर वर्षादेखि मासिक असुली गर्दै आएको खुलासा भएपछि हर्न निशेध अभियानमा पनि ट्राफिक प्रहरी कै कमाई खाने श्रोत वढ्ने खतरा देखिएको छ ।छुस्के डट कम बाट साभार