काठमाडौ – एसियाली फुटवल महासंघ यू–२३ च्याम्यियनसिप छनोटको तयारी स्वरुप खेलिएको मैत्रीपूर्ण खेलमा नेपाल बिजयी भएको छ ।कप्तान बिमल घर्ती मगरको एक मात्र गोलको मद्दतले नेपाली यू–२३ टोलीले बंगलादेशको यू–२३ टोलीलाई १–० गोलले पराजित गरेको हो।
योसँगै नेपालले भारतमा भएको १२औं दक्षिण एसियाली खेलकुद (साग) को समुह चरणमा बंगलादेशको यू–२३ टोलीसँग बेहोरेको पराजयको बदला लिएको छ । नेपाल त्यतिबेला २–१ गोलले पराजित भएको थियो ।
सातदोबाटो स्थित अखिल नेपाल फुटवल संघ (एन्फा) को मैदानमा खेलिएको खेलमा बिमलले खेलको २० औं मिनेटमा अञ्जन बिष्टको पासमा उत्कृष्ट गोल गर्दै टोलीलाई १–० को अग्रता दिलाएका थिए । त्यसपछि निर्धारित समयमा दुबै टोलीबाट थप गोल हुन नसकेपछि बिमलको गोल नै निर्णायक बन्न पुग्यो ।
अब नेपालले संयुक्त अरब इमिरेट्समा असार ३१ देखि साउन ४ गतेसम्म एएफसी यू–२३ च्याम्पियनसिप छनोट प्रतियोगिता खेल्नेछ । छनोट खेलमा नेपाल समूह ‘डी’ मा रहेको छ ।
नेपालको समूहमा आयोजक यूएई, उज्बेकिस्तान र लेबनान रहेका छन् । समूहको पहिलो खेल नेपालले असार ३१ गते यूएईसँग खेल्नेछ भने साउन २ गते उज्बेकिस्तान र साउन ४ गते लेबनानसँग खेल्नेछ ।