काठमाडौं । महको महत्व बुझाउने उद्देश्यले काठमाडौंको भृकुटीमण्डपमा आजदेखि दोस्रो मह महोत्सव सुरु भएको छ ।
व्यावसायिक किट विकास निर्देशनालय र मौरीपालक कृषक समूहले संयुक्तरूपमा आयोजना गरेको महोत्सवमा २० कक्ष छन् । महोत्सव अवधिमा झन्डै रु ५० लाख महको कारोबार हुने अपेक्षा राखिएको छ ।
नेपालमा २०५२ सालदेखि व्यावसायिक मौरीपालन सुरु भएको इतिहास हालसम्म प्रयोगशाला स्थापना हुन सकेको छैन ।एक तथ्याङ्कअनुसार नेपालमा वार्षिक लगभग एक हजार ६०० मेट्रिक टन मह उत्पादन हुन्छ । तर, नेपालले भारत, अमेरिका, डेनमार्क र चीनबाट मह आयात गर्छ ।
विश्वमा ८० जातका माहुरी छन् । विश्वमा नौथरीका मौरीबाट व्यावसायिक मह उत्पादन गर्न सकिन्छ । त्यसमध्ये नेपालमा मेलिफेरा, केरेना, कठ्यौरी, भिरमौरी र सिनकुश (खागो) जातका मौरीबाट मह उत्पादन हुँदै आएको छ ।
सबैभन्दा महँगो मह भिरमौरीको हो । जुन प्रतिकेजी दुई हजार ५०० देखि तीन हजार रूपैयाँमा कारोबार हुन्छ । यसैगरी केरेनाको ७०० देखि एक हजार र मेलिफेराको ४०० देखि ५०० रूपैयाँसम्म बिक्री हुँदै आएको छ ।
नेपालमा हाल प्रतिवर्ष दुई हजार ५० मेट्रिक टन मह उत्पादन हुन्छ । सरकारले मह उत्पादनका लागि देशको ५० जिल्लालाई पकेट क्षेत्र घोषणा गरेको छ ।
महोत्सव असार २९ गतेसम्म सञ्चालन हुनेछ ।