एलडीओलाई विद्यार्थीले कार्यकक्षमै थुने

एलडीओलाई विद्यार्थीले कार्यकक्षमै थुने


  • जनसञ्चार डट कम समाचारदाता
  • शुक्रबार, २३ असार २०७४
  • 8.4K
    Shares

प्रशासनले ताला खोलेपछि विद्यार्थी आन्दोलित

जुम्ला : क्याम्पसमा सोलारको माग गर्दै जुम्ला बहुमुखी क्याम्पसका विद्यार्थीले स्थानीय विकास अधिकारीको कार्यकक्षमा लगाएको तालाबन्दी प्रशासनले खोलेपछि विद्यार्थी आन्दोलित भएका छन्। क्याम्पसको प्रशासनिक कार्यका साथै पठनपाठनमा समेत असहज भएको भन्दै विद्यार्थीले बिहीबार स्थानीय विकास अधिकारीको कार्यकक्ष र लेखा कक्षमा ताला बन्दी गरेका थिए। अन्नपुर्ण पोष्टले लेखेको छ।

स्थानीय विकास अधिकारी हरिनारायण बेल्वासेले आफूले विद्यार्थीको माग पुरा गर्न नसक्ने बताएपछि तालाबन्दी गरिएको र शुक्रबार प्रहरी प्रशासनले एकलौटी रुपमा तोडेको भन्दै पुन तालाबन्दी गरेका छन्।

आर्थिक वर्षको अन्त्यमा भएको तालाबन्दीले जिल्लाको विकास निर्माणका कार्यमा बाधा पुग्ने भन्दै प्रहरी प्रशासनले बल प्रयोग गरी शुक्रबार दिउँसो ताला तोडेको थियो। स्थानीय विकास अधिकारी बाहिर नआएपछि माग पुरा नभएसम्म नखोल्ने भन्दै विद्यार्थीले कार्यकक्षमा थुनिने गरी तालाबन्दी गरेका छन्। विद्यार्थीले आफुहरुसँग वार्ता नगरी गैरजिम्मेवारीपूर्ण तरिकाले बल प्रयोग गरी ताला तोडेको भन्दै नाराजुलुसहित आन्दोलनमा उत्रिएका छन्।

जनताको विकासका लागि आएको बजेट मनपरी ढंगले आर्थिक वर्षको अन्त्यमा कोटेशन बाढ्दै सिध्याउने तर विद्यार्थीको तत्कालीन आवश्यकता पूर्तिका लागि भने स्थानीय विकास अधिकारीले हेलचक्र्याई गरेको विद्यार्थीको आरोप छ। विद्यार्थीले आफ्नो स्वार्थ अनुसार दललाई मनपरी रकम बाँड्ने तर विद्यार्थीको हितका लागि रकम छैन भन्दै टार्ने प्रवृतिले आफूहरुलाई आन्दोलनमा उत्रिन बाध्य गराएको नेपाल क्रान्तिकारी विद्यार्थी संघ जुम्लाका अध्यक्ष महेश नेपालीले बताउनुभयो।

‘रकम सिध्याउनकै लागि आर्थिक वर्षको अन्त्यमा अनेक शीर्षकमा कोटेशन बाँडिएको छ,’ विद्यार्थी लोकन्द्र गिरीले भन्नुभयो, ‘तर सयौं विद्यार्थीको भविष्य जोडिएको शैक्षिक स्थानको स्तर उन्नतिका लागि मौन हुँदै मुखदर्शक बन्ने गरिएको छ।’

आफूहरुको मागलाई वेवास्था गरिँदै एकलौटी रुपमा ताला तोडिएको भन्दै जुम्ला बहुमुखी क्याम्पसका विद्यार्थीहरु आन्दोलनमा उत्रिएका हुन्। विद्यार्थीको आन्दोलनलाई माग पुरा नभएसम्म जारी राख्नको लागि विभिन्न दल निकटका विद्यार्थी संगठनले समेत साथ दिएका छन्।

बिहीबार साँझ ताला लगाएपछि दिउँसो प्रहरीका घेरामा बसेर काम गरिएको छ। सुरक्षा घेराभित्र बसेर जिविसको काम कारबाही गरिएको थियो। आर्थिक वर्षको अन्त्यमा काम रोक्न नहुने भन्दै स्थानीय विकास अधिकारीले सुरक्षा घेराभित्र काम गर्नुभएको जिविस स्रोतले जनाएको छ।

प्रतिक्रिया