माछापुच्छ्रे क्रिकेट क्लबले खुकुरी इन्टरटेनमेन्टसँगको सहकार्यमा पोखरामा १९ साउन देखि माछापुच्छ्रे क्रिकेट लिग हुने भएको छ ।
प्रतियोगितामा कास्की, पर्वत, स्याङ्जा, बाग्लुङ, तनहुँ र कलेजको एक टोलीले प्रतिस्पर्धा गर्नेछन् । खेल पोखराको नदीपुरस्थित नगर प्रशिक्षण केन्द्रको मैदानमा हुने भएको छ । ६ टोलीको सहभागिता रहने प्रतियोगितामा राष्ट्रिय खेलाडीले भने खेल्न पाउने छैनन् ।
लिगमा प्रतिस्पर्धा गर्ने ६ टोलीको कप्तानको नामसमेत सार्वजनिक गरिएको छ । जसमा दीपेश खत्री (कस्की), रवि ढकाल (कलेज), राज गुरुङ (तनहुँ), दिवाकर थापा (स्याङ्जा), राजु थापा (पर्वत) र विजय विक (बाग्लुङ) छन् । अब भाग लिएका टोलीले प्रतियोगिता लागि खेलाडी अनुबन्धन गरी तयारी गर्नेछन् । खेलाडीलाई सम्बन्धित जिल्लाले अक्सन (बोलकबोल) मार्फत भित्रयाउनेछन् ।
खेलाडीको अक्सन (बोलकबोल) लागि सम्बन्धीत क्लबले केवल ५० हजार रुपैयाँ लगानी गर्न पाउने प्रावधान बनाईएको छ । १५ जना खेलाडी र एक प्रशिक्षक रहने आयोजक क्लबले जनाएको छ । लिग चरणबाट छनोट भएका शीर्ष चार टोलीले नकाउट चरणमा प्रवेश गर्दै प्रतिस्पर्धा गर्ने छन् । एलिमेनटरको पहिलो विजेता फाईनल प्रवेश गर्ने छ भने एलिमेनटर दोस्रोले पहिलोको हारसँग फेरी प्रतिस्पर्धा गर्दै फाईनल खेल्ने अवसर पाउने छ ।
२० लाख खर्च हुने प्रतियोगिताको लागि क्षेत्रीय खेलकुद विकास समिति पोखराले पाँचलाख रुपैयाँ आर्थिक सहयोग दिने क्षेत्रीय अध्यक्ष खगराज पौडेलले सुनाए ।
नेपाल पत्रकार महासंघ कास्कीका अध्यक्ष दिपेन्द्र श्रेष्ठले पोखरालाई क्रिकेटमय बनाउन प्रतियोगितालाई विशेष प्राथमिकता र महत्व दिनुपर्नेमा जोड दिए । पर्यटन विकासमा क्रिकेटले महत्वपूर्ण टेवा दिने भन्दै बैकल्पिक मैदान निर्माणको लागि चासो दिनुपर्नेमा जोडदिए । खेलकुद पत्रकार मन्च कास्कीका अध्यक्ष केशव पाठकले प्रतियोगितालाई पत्रकारको तर्फबाट सहयोगी भूमिका खेल्ने बताए ।
प्रतियोगिताको विजेता टोलीले तीन लाख तथा उपविजेताले एक लाख ५० हजार रुपैयाँ नगद पुरस्कार पाउनेछन् ।
तस्विर गोकुल बानिया