पोखरा/ नेपाल आयल निगमले खाना पकाउने ग्याससहित पेट्रोलिमय पदार्थको मूल्य घटाएको छ । निगमले आइतबर राति १२ बजेदेखि लागू हुने गरी पेट्रोल, डिजेल मट्टितेल र खाना पकाउने एलपी ग्यासको मूल्य घटाइएको छ ।
निगमले तीनवटै पेट्रोलियम पदार्थमा २/२ रूपैयाँ घटाएको छ । नयाँ मूल्यअनुसार पट्रोल अब प्रतिलिटर ९८ रुपैयाँमा पाइनेछ ।
यस्तै डिजेल र मट्टितेल लिटरमा २/२ रुपैयाँ सस्तो भएर प्रतिलिटर ७४ रुपैयाँ कायम भएको छ । यसअघि डिजेल र मट्टितेल प्रतिलिटर ७६ रुपैयाँमा पाइन्थ्यो । अब ग्यासको मूल्य प्रतिसिलिन्डर १३ सय ५० रुपैयाँ भएको छ । अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य घटेपछि भारतीय आयल कर्पोरशेनले तेलको मूल्य घटाएर आयल निगमलाई पठाएको थियो ।
आन्तरिक तर्फको हवाई इन्धनमा प्रतिलिटर ४ रुपैयाँ घटाइएको छ । यसअघि ८६ रुपैयाँ प्रतिलिटर रहेको हवाई इन्धनको मूल्य अब ८४ रुपैयाँ हुनेछ । अब हवाइ भाडा समायोजन पनि हुनेछ ।
त्यसैका आधारमा निगमले उच्च नाफा राख्न नहुने निश्कर्ष निकालेर तेल सस्तो बनाएको बताए । असार २ गते पनि निगमले मूल्य घटाएको थियो । निगमलाई नयाँ मूल्य कायम गर्दा झण्डै ८० करोड रुपैयाँ नाफा रहनेछ ।
अब मूल्य समायोजनपछि निगमलाई पेट्रोलमा लिटरको ७ रुपैयाँ ३० पैसा नाफा छ । त्यसैगरी डिजेलमा निगमलाई प्रतिलिटर १ रुपैयाँ ५० पैसा, मटितेलमा १८ रुपैयाँ र हवाइ इन्धनमा १० रुपैयाँ नाफा छ ।
त्यसैगरी ग्यासमा निगमलाई प्रतिसिलिन्डर ३९ रुपैयाँ नाफा हुनेछ ।