एक करोडभन्दा बढी ठगी गरेको आरोपमा नेपाल आइस हक्की संघका अध्यक्ष लोकबहादुर शाही पक्राउ परेका छन् ।
अखिल नेपाल फुटबल संघ (एन्फा)का पूर्वमहासचिव समेत रहेका शाहीलाई महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले बिहीबार काठमाडौंबाट पक्राउ गरेको हो । महाशाखाका एसएसपी दिनेश अमात्यका अनुसार शाहीले क्यानडा पठाइदिन्छु भन्दै २५ जनालाई ठगी गरेका थिए । उनले प्रत्येक व्यक्तिबाट दुई लाख ५० हजारका दरले रकम उठाएका छन् । पक्राउ परेका शाहीले ललितपुरस्थित श्री कुसुन्ती युथ क्बलको नामबाट क्यानडा लैजाने र क्यानडाको टोरन्टोमा मे १५ देखि २५ सम्म फुटबल खेलाउने आश्वासन दिएका प्रहरी अनुसन्धानबाट खुलेको छ । शाही नेपाली राष्ट्रिय फुटबल टोलीका पूर्वगोलरक्षक पनि हुन् ।
पीडितमध्ये राजकुमार श्रेष्ठ, कमल भण्डारी र पवित्रा श्रेष्ठको उजुरीपछि शाहीलाई प्रहरीले पक्राउ गरेको हो । शाहीले स्पोटर्स फर अल क्लब नेपालको नामबाट रसिद बाँडेर रकम लिएको भेटिएको छ । तीन महिनाअघि नै पीडितहरुले साढे दुई लाखको दरले रकम बुझाए पनि क्यानडा पुगेपछि १० लाख थप दिनुपर्ने सर्त राखेका थिए । एसएसपी अमात्यका अनुसार क्यानडा पुर्याएपछि त्यही लुकेर काम गर्न सकिने आश्वासन शाहीले बाँडेका थिए । २५ जना बाहेक पनि उनले विभिन प्रलोभन देखाइ ठगी गरेको प्रहरीले जनाएको छ ।
उनलाई म्याद थपका लागि जिल्ला अदालत काठमाडौं लगिएको छ । 
हक्की संघका अध्यक्ष लोकबहादुर शाहीलाई म्याद थपका लागि जिल्ला अदालत काठमाडौं लगिँदै ।
