हेटौंडा औद्योगिक क्षेत्रमा रहेको बर्जर पेन्ट्स्ले त्यहाँ कार्यरत कर्मचारीको चरम श्रम शोषण गरेको भन्दै नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्यूनिष्ट पार्टीले फ्याक्ट्री म्यानेजर भारतीय नागरिक शुशिल कुमार दुबेदीलाई कालोमोसो दलेको छ । पेन्ट्स्का प्रमुखलाई कालोमोसो दल्नुका साथै उनले प्रयोग गर्दै आईरहेको बा. ८ च. ८६१७ नम्बरको सवारीमा तोडफोड पनि भएको श्रोतले बतायो ।
कम्पनीले कामदार कर्मचारीलाई चरम शोषण गरेको, श्रम ऐनको पालना नगरेको, राष्ट्रिय पुँजीलाई धरासयी बनाएको, मजदुरको कामको क्षेत्रमा मानव अधिकारको पालना नगरेको, गुणस्तरमा भन्दा विज्ञापनमा जोड दिई उपभोक्तालाई ठगी गरेको दाबी गर्दै नेपाल कम्यूनिष्ट पार्टीले कारवाही गरेको घटनापछि प्राप्त पर्चामा लेखिएको छ।
दुबेदीलाई कालोमोसो दलेपछि नेपाली भाषामा थोरै मात्र ज्ञान भएका उनले आफुलाई अज्ञात मानिसका समूहले योजनाबद्ध ढङ्गबाट आक्रमण गरेको बताए । ३–४ वटा मोटरसाईकलमा आएका ५ जना जत्ति युवाले आफुलाई युनिसोपको कम्पाउण्ड नजिकै कालोमोसो दलेको र सवारीमा ढुङ्गा समेत हानेको बताए ।
ढुङ्गा प्रहारबाट जीपको सिसा फुटेर उनको टाउकोमा चोट पुग्नुका साथै हात सुन्निएको छ । अन्य अवस्था सामान्य रहेको पनि उनले बताए । उनले अज्ञात समूह भनेता पनि उनलाई कालोमोसो दलिएको ठाउँमा नेपाल कम्यूनिष्ट पार्टीको पर्चा भेटिएको छ । पर्चामा कम्पनीले कामदार कर्मचारीलाई चरम शोषण गरेको, श्रम ऐनको पालना नगरेको, राष्ट्रिय पुँजीलाई धरासयी बनाएको, मजदुरको कामको क्षेत्रमा मानव अधिकारको पालना नगरेको, गुणस्तरमा भन्दा विज्ञापनमा जोड दिई उपभोक्तालाई ठगी गरेको लेखिएको छ ।

मकवापुरका एसपी वसन्तकुमार लामाका अनुसार अहिले उनीसहितको प्रहरी टोली घटनास्थलमा पुगेको छ र अनुसन्धानको कार्य भईरहेको बताइएको छ । नेपाल कम्यूनिष्ट पार्टीका जिल्ला ईन्चार्ज बिरबहादुर घलान ज्वालालाई पर्चाको बारेमा सोध्न खोज्दा उनीसँग सम्पर्क हुन सकेन ।