प्रदेश लेखा अधिकृत पृथ्वीमान लिम्बुले निजी खर्चमा गरे मेरापिक हिमाल आरोहण : बनाए नेपालकै पहिलो अधिकृतको कीर्तिमान

प्रदेश लेखा अधिकृत पृथ्वीमान लिम्बुले निजी खर्चमा गरे मेरापिक हिमाल आरोहण : बनाए नेपालकै पहिलो अधिकृतको कीर्तिमान


  • जनसञ्चार डट कम समाचारदाता
  • बुधबार, ५ कार्तिक २०८३
  • 266
    Shares

काठमाण्डौ, ४ कार्तिक २०८३।

प्रदेश लेखा इकाई कार्यालय, ओखलढुंगाका कार्यालय प्रमुख तथा आठौँ तहका वरिष्ठ लेखा अधिकृत पृथ्वीमान लिम्बुले नेपालको सबैभन्दा अग्लो ट्रेकिङ हिमाल मेरापिकको सफल आरोहण गरेका छन् ।

निजी खर्चमा मेरापिक हिमाल आरोहण गर्ने नेपालकै पहिलो अधिकृत कर्मचारीको रूपमा उनले यो ऐतिहासिक उपलब्धि हासिल गर्न सफल भएका हुन्।

प्राप्त विवरण अनुसार लिम्बुले सन् २०२६ अक्टोबर १८ तारिख, आइतबार बिहान ७ बजेर १० मिनेटमा ६ हजार ४७० मिटर उचाइको मेरापिक हिमालको चुचुरोमा पाइला राखेका थिए । उनी बिहान ३ बजेर ५ मिनेटमा ५ हजार ८०० मिटर उचाइमा रहेको उच्च शिविर (High Camp) बाट आरोहणमा निस्किएका थिए र करिब चार घण्टाको कठिन हिउँ यात्रा पछि चुचुरोमा पुग्न सफल भएका थिए ।

१० लाख निजी खर्च, व्यवस्थापन एटलस अल्पाइनले

यो आरोहणका लागि लिम्बुले व्यक्तिगत रूपमा करिब १० लाख रुपैयाँ खर्च गर्नुभएको छ। उहाँको आरोहण व्यवस्थापन एटलस अल्पाइन एक्सपिडिसन प्रा.लि.ले गरेको थियो भने पथप्रदर्शकको रूपमा सिङ्गी लामा सहभागी थिए।

मेरापिकबारे

मेरापिक नेपालको महालंगुर हिमशृंखला अन्तर्गत सगरमाथा क्षेत्रको सोलुखुम्बु र संखुवासभा जिल्लाको सिमानामा पर्छ। समुद्री सतहबाट ६,हजार चार सय ७६ मिटर अग्लो यो हिमाल नेपालको सबैभन्दा अग्लो ट्रेकिङ पिक मानिन्छ। यसका तीनवटा मुख्य चुचुराहरू छन् – मेरा नर्थ (६,४७६ मि.), मेरा सेन्ट्रल (६,४६१ मि.) र मेरा साउथ (६,०६५ मि.)।

यसअघि मार्डी र सगरमाथा बेसक्याम्पको यात्रा

सरकारी सेवामा रहँदै साहसिक पर्यटनमा सक्रिय लिम्बुले यसै वर्ष चारहजार पाँचसय मिटर उचाइको मार्डी बेस क्याम्प र पांचहजार तीन सय ५४ मिटर उचाइको सगरमाथा बेस क्याम्प (एभरेष्ट बेस क्याम्प) को यात्रा समेत पूरा गरेका छन् ।

ती यात्राहरुपछि “आफ्नै देशका हिमाल पनि आरोहण गर्नुपर्छ” भन्ने सोच आएको उनले बताए । हिमाली यात्राले साहसिक अनुभव मात्र नभई त्यस क्षेत्रको सामाजिक, सांस्कृतिक, आर्थिक अवस्था र भौगोलिक बनोटबारे प्रत्यक्ष अध्ययन गर्ने अवसर दिएको उनको भनाइ छ।

हिमाली पूर्वाधार सुधार्न सरकारसँग माग

आरोहणको सफलतासँगै लिम्बुले हिमाली पर्यटन क्षेत्रका पूर्वाधारगत समस्याप्रति सरकारको ध्यानाकर्षण पनि गराएका छन् ।

आरोहणका क्रममा आधार शिविर र उच्च शिविरका शौचालय अत्यधिक फोहोर भएकाले प्रयोग गर्नै नसकिने अवस्था थियो, जसले गर्दा आरोहीहरू खुला हिमाली क्षेत्रमा दिसापिसाब गर्न बाध्य भएको लिम्बुले सुनाए ।

त्यस्तै, खोलामाथिका साँघुहरू जीर्ण हुँदा आवतजावत कठिन र दुर्घटनाको जोखिम बढेको अनुभव उहाँले सुनाउनुभयो। हिमाली वातावरण स्वच्छ राख्न, यात्रा सुरक्षित बनाउन शौचालय व्यवस्थापन, साँघु मर्मत र पदमार्ग सुधारमा राज्यले विशेष ध्यान दिनुपर्ने उनको सुझाव छ।

साथै, हिमाल आरोहणमा इच्छुक सरकारी कर्मचारीलाई प्रदेश तथा संघीय सरकारले सहयोग, अवसर र बजेट उपलब्ध गराउनुपर्ने उहाँले बताउनुभयो। यस्ता गतिविधिले कर्मचारीको ज्ञान, सीप, क्षमता र अनुभव बढाउनुका साथै संस्थागत कार्यक्षमतामा समेत योगदान पुग्ने उहाँको विश्वास छ।

प्रतिक्रिया
सम्बन्धित समाचार