काठमाण्डौ, ४ कार्तिक २०८३।
नेपालीहरुको महान् पर्व बडादशैंअन्तर्गत आज विजया दशमी धुमधामका साथ मनाइँदै छ । आजको दिन मान्यजनको हातबाट देवीको प्रसादका रूपमा टीका, जमरा र आशीर्वाद ग्रहण गर्ने परम्परा रहेको छ।
नेपाल पञ्चांग निर्णायक विकास समितिले यस वर्षको दशैंको टीकाको उत्तम साइत बिहान १० बजेर २६ मिनेटमा रहेको जनाएको छ । समितिले देवी विसर्जनको साइत भने बिहान ८ बजेर ४९ मिनेटका लागि निर्धारण गरेको छ ।
समितिका अध्यक्ष सहप्राध्यापक डा. पुरुषोत्तम भट्टराईका अनुसार विजया दशमीका दिन दिनभर टीका लगाउन सकिए पनि साइतमै टीका लगाउन चाहनेहरूका लागि १०:२६ बजेको समय उत्तम रहेको हो ।
साइतमा टीका लगाउँदा पूर्व फर्कनुपर्ने
साइतमा टीका लगाउँदा टीका लगाइदिने मान्यजन पूर्वतर्फ फर्कने र टीका थाप्ने व्यक्ति पश्चिमतर्फ फर्कनुपर्ने समितिले जनाएको छ ।
बडादशैंमा नवदुर्गा भवानीको पूजा–आराधना गरी देवीको प्रसादस्वरूप रातो टीका र जमरा ग्रहण गर्ने परम्परा छ । यस अवसरमा परिवार, आफन्तजन एकै स्थानमा भेला भई सुख, शान्ति र समृद्धिको कामना गर्दै मान्यजनबाट आशीर्वाद लिने गर्छन् ।
रोजगारी, अध्ययन तथा पेसा-व्यवसायका कारण घरभन्दा टाढा रहेका नेपालीहरू दशैं मनाउन थातथलो फर्कने भएकाले यो पर्व पारिवारिक पुनर्मिलनको विशेष अवसरका रूपमा पनि लिइन्छ ।
राष्ट्रिय चाडका रूपमा मनाइने बडादशैंमा विजया दशमीका दिनदेखि कोजाग्रत पूर्णिमासम्म मान्यजनबाट टीका र आशीर्वाद ग्रहण गर्ने चलन रहँदै आएको छ ।
बडादशैं अन्तर्गत बुधबार विजयादशमीको दिन छ । नेपालमा टीकाको साइत बिहान १० बजेर २६ मिनेटमा छ ।
नेपालबाहिर भने फरक मिति र समयमा टीकाको साइत पर्ने गरेको छ । अन्तर्राष्ट्रिय पञ्चाङ्ग निर्णायक समितिले विभिन्न देशका लागि फरक फरक साइतहरू निकालेको हुन्छ ।
यस वर्षको बडादशैंका लागि विभिन्न देशहरूमा उत्तम साइतको मिति र समय सार्वजनिक गरिसकिएको छ ।
अन्तर्राष्ट्रिय पञ्चाङ्ग निर्णय समितिले नेपालसहित २३ देशका लागि पनि बडादशैंको टीकाको साइत सार्वजनिक भएको छ ।
विभिन्न देशमा हुने बसोबास गर्ने नेपालीहरुको सुविधाका लागि समितिले टीकाको साइत तोकिदिएको हो । टीकाको साइत तय गर्दा स्थान विशेषको सूर्योदयको समय र दशमी तिथीको आधारमा गरिन्छ ।
त्यसैले टीकाको साइत विभिन्न देशमा फरक दिन र फरक समयमा पर्ने गरेको छ । जस्तै नेपालमा ४ कात्तिक (२१ अक्टोबर) मा टिका हुँदा अमेरिकमा २० अक्टोबर चलिरहेको हुन्छ र साइत पनि सोही मितिमा छ ।
हेर्नुस् साइत
