सिन्धुलीमा गएराती टाटा सुमो सुनकोशीमा खस्यो : तीन महिलाको मृत्यु, चार घाइते र तीन बेपत्ता

सिन्धुलीमा गएराती टाटा सुमो सुनकोशीमा खस्यो : तीन महिलाको मृत्यु, चार घाइते र तीन बेपत्ता


  • जनसञ्चार डट कम समाचारदाता
  • आइतबार, २ कार्तिक २०८३
  • 893
    Shares

Flooded Van Wreck Under Spotlight in sunkoshi

सिन्धुली।, १ कार्तिक २०८३।

सिन्धुलीमा गएराती टाटा सुमो सुनकोशीमा खसेर दुर्घटनाग्रस्त हुँदा तीन महिलाको मृत्यु भएको छ भने तीन जना अझै नदीमा बेपत्ता छन् र चार जना घाइते छन्।

काठमाडौंबाट खोटाङतर्फ जाँदै गरेको को.१ ज २९७६ नम्बरको टाटा सुमो गएराती करीब साढे दुई बजेको समय सिन्धुलीको फिक्कल गाउँपालिका–६, नागथानस्थित मध्यपहाडी लोकमार्गस्थित सडकबाट करिब दुई सय मिटर तल सुनकोशी नदीमा खसेर दुर्घटनाग्रस्त हुँदा तीन जना महिलाको मृत्यु भएको हो।

प्रहरीका अनुसार , दुर्घटनाको खबर प्राप्त हुनासाथ प्रहरी चौकी रत्नावती र खाङसाङबाट खटिएको प्रहरी टोलीले घटनास्थलबाट तीन महिलाको शव फेला पारेको र उनीहरुको पहिचान हुन् बाँकी रहेको छ

दुर्घटनामा चालकसहित चार जनाको उद्धार गरिएको छ। उनीहरूलाई उपचारका लागि उदयपुरको घुर्मीस्थित जनसेवा हेल्थ सेन्टर प्रा.लि.मा पठाइएको छ।

घाइतेमध्ये चालकको अवस्था बेहोश, एक महिलाको गम्भीर

प्रहरीका अनुसार दुर्घटनामा घाइते हुनेमा ओखलढुंगाका २९ वर्षीय चालक आशिष बिष्ट, खोटाङको दिक्तेल नगरपालिका–३ की ३८ वर्षीया सम्झना राई, उनकी १२ वर्षीया छोरी सिवानी राई तथा दिक्तेल–१ का १३ वर्षीय अंकित विक रहेका छन्।

चालक बिष्ट बेहोस अवस्थामा रहेका छन् भने सम्झना राईको अवस्था गम्भीर रहेको जनाइएको छ। सिवानी राई र अंकित विकको टाउको तथा शरीरका विभिन्न भागमा चोट लागेको भए पनि दुवै बोल्न सक्ने अवस्थामा रहेको प्रहरीले जनाएको छ।

चालकको प्रारम्भिक भनाइअनुसार दुर्घटनाका बेला गाडीमा सवार थप तीन जना अझै बेपत्ता छन्। उनीहरूको खोजी तथा उद्धारका लागि इलाका प्रहरी कार्यालय खुर्कोटबाट प्रहरी निरीक्षकको कमान्डमा थप टोली परिचालन गरिएको छ।

सुनकोशी नदीमा पानीको बहाव बढी रहेकाले बेपत्ताहरूको खोजीमा कठिनाइ भइरहेको प्रहरीले जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको र बेपत्ताहरूको खोजी कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार