बैतडीको सिगास गाउँपालिका अध्यक्षविरुद्ध कुटपिट र गाली बेइज्जती मुद्दा

बैतडीको सिगास गाउँपालिका अध्यक्षविरुद्ध कुटपिट र गाली बेइज्जती मुद्दा


  • जनसञ्चार डट कम समाचारदाता
  • मंगलबार, ४ कार्तिक २०८३
  • 494
    Shares

बैतडी, ३ कार्तिक २०८३।

बैतडीको सिगास गाउँपालिका अध्यक्ष हरिसिंह धामीविरुद्ध जिल्ला अदालत बैतडीमा कुटपिट र गाली बेइज्जती मुद्दा दर्ता भएको छ।

सिगास–४ को कान्धार–देउलेक सडक निर्माण उपभोक्ता समितिका अध्यक्ष वीरसिंह धामीले गाउँपालिका अध्यक्ष धामीविरुद्ध मुद्दा दर्ता गराउनुभएको हो।

पीडितका अनुसार गत मंगलबार सडक निर्माणको दोस्रो किस्ता वापतको रनिङ बिल अन्तर्गत गाउँपालिकाले २० लाख ४४ हजार रुपैयाँको चेक उपभोक्ता समितिलाई दिएको थियो। चेक लिएर गाँजरीमा रहेको कृषि विकास बैंकमा रकम साट्न जाँदा गाउँपालिका अध्यक्षले चेक नसाट्न बैंकलाई पत्राचार गरेको भन्दै बैंकले भुक्तानी दिन नमानेको उहाँको भनाइ छ।

चेक किन नसाटिएको भन्ने कारण बुझ्न पुनः पालिका केन्द्र गर्जे पुग्दा गाउँपालिका अध्यक्ष धामीले आफूमाथि गालीगलौज र कुटपिट गरेको पीडित वीरसिंह धामीले आरोप लगाउनुभएको छ। कुटपिटबाट घाइते भएपछि उहाँ जिल्ला अस्पताल बैतडीमा भर्ना हुनुभएको थियो। हाल उपचाररत अवस्थामा रहेका उहाँले सोमबार जिल्ला अदालत बैतडीमा मुद्दा दर्ता गराउनुभएको हो।

निवेदनमा गाउँपालिका अध्यक्षले सडक योजनामा सात लाख रुपैयाँ माग गरेको र नदिँदा विवाद सिर्जना भएको उल्लेख गरिएको छ। सोही विवादका क्रममा गालीगलौज गर्दै कुटपिट गरेको पीडितको आरोप छ।

साथै, सार्वजनिक पदको दुरुपयोग गर्दै कुटपिटपछि उल्टै आफूलाई रातभर प्रहरी चौकीमा थुन्न लगाएको पनि पीडित धामीले बताउनुभएको छ।

यस विषयमा गाउँपालिका अध्यक्ष हरिसिंह धामीसँग सम्पर्क हुन सकेको छैन। घटनाबारे प्रहरी र अदालतको थप प्रक्रिया अगाडि बढ्ने बताइएको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार