दशैंको बेला कास्की कारागारबाट भागेर पोखराका प्रहरीहरुको निदहराम गर्ने कैदी गेस्ट हाउसबाट पक्राउ

दशैंको बेला कास्की कारागारबाट भागेर पोखराका प्रहरीहरुको निदहराम गर्ने कैदी गेस्ट हाउसबाट पक्राउ


  • जनसञ्चार डट कम समाचारदाता
  • मंगलबार, ४ कार्तिक २०८३
  • 228
    Shares

santosh jalari_Detained Man in a Tiled Bathroom

पोखरा, ३ कात्तिक २०८३ ।

सबैले नेपाली मात्रको महान चाड दशैं मनाएर रमाइलो गरिरहेका बेला कास्की कारागारबाट भागेर प्रहरीको निद हराम गर्ने एक जना कैदी पोखराको पृथ्वीचोकस्थित एक गेस्ट हाउसबाट पक्राउ परेका छन्।

गएको आइतबार बिहान पख पौने तीन बजे कास्की कारागारको क ब्लकस्थित पुर्वतर्फको पर्खालको भित्तामा फलामको भर्याङ ठड्याई कारागारको पर्खाल नाघेर भागेका कैदी पोखरा महानगरपालिका–१८ खपौदी निवासी ३७ वर्षीय जलारीलाई प्रहरीलाई सोमबार दिउँसो तीनबजेर ५५ मिनेटमा पोखरा महानगरपालिका–९ पृथ्वीचोकस्थित न्यू झरना गेस्ट हाउसबाट पक्राउ गरेको हो।

खोटाङ जिल्ला दिप्रुङ गाउँपालिका वडा नं.१ घर भई हाल पोखरा महानगरपालिका वडा नं.५ मालेपाटन बस्ने सेतीमाया अधिकारीलाई कर्तब्य गरी मारेको र उनको गरगहना लुटेको अभियोगमा कास्की जिल्ला अदालतका तात्कालिन न्यायाधिश प्रकाश खरेलो इजलाशले दोषी ठहर गर्दै जन्मकैद सजायं हुने फैसला गरे पछि जलारी २०७९ साल जेठदेखि कास्की जिल्ला कारागारमा कैदी जीवन बिताइरहेका थिए।

कर्तब्य ज्यान र डाका सम्बन्धी मुद्दामा जन्मकैदको सजाय भुक्तान गरिरहेका कैदी सन्तोष जलारी कारागारबाट फरार भएपछि उनको खोजीमा प्रहरीले ब्यापक रुपले खोजी गरिरहेको थियो। सोही क्रममा झरना गेस्ट हाउसमा लुकिछिपी बसेको अवस्थामा उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीले जानकारी दिएको छ।

प्रदेश प्रहरी कार्यालय पोखरा, नेपाल प्रहरी प्रदेश कार्यालय पोखरा र जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको संयुक्त प्रहरी टोलीले उनलाई पक्राउ गरेको जनाइएको छ।

पक्राउ परेका जलारीमाथि आवश्यक कानुनी प्रक्रिया अगाडि बढाइएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार