बागलुङ, ४ कार्तिक २०८३।
बागलुङमा ७० वर्षीया वृद्ध महिलाको घाँटीबाट सुनको सिक्री थुतेर भाग्दै गरेका दुई जनालाई प्रहरीले पक्राउ गरेको छ।
कात्तिक २ गते दिउँसो १ बजेर ९ मिनेटमा बागलुङ नगरपालिका–२, हल्लनचोकमा ७० वर्षीया कृष्णमाया पुनले घाँटीमा लगाएको सुनको सिक्री थुतेर भाग्दै गरेका दुई जनालाई प्रहरीले पक्राउ गरेको हो।
उक्त घटनामा संलग्न रहेको आरोपमा पर्साको वीरगञ्ज महानगरपालिका–२० निवासी १९ वर्षीय रविन कुमार यादव र १८ वर्षीय प्रकाश राय यादवलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बागलुङले जानकारी दिएको छ। उनीहरुको साथबाट बृद्धा कृष्णमाया पुनको गलाबाट लुटेको २.७८ तोला तौल रहेको सुनको सिक्री समेत बरामद भएको प्राप्त समाचारमा जनाइएको छ। उक्त सुनको बजार मूल्य आठलाख ६ हजार २०० रुपैयाँ रहेको प्रहरीले जनाएको छ।
पक्राउ परेका दुवै जनालाई थप अनुसन्धानका लागि बागलुङ जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरी अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक रामेश्वर त्वातीले जानकारी दिए ।