काठमाडौँबाट पोखरातर्फ आउँदै गरेको एक कार आज बिहान तनहुँको घाँसीकुवा गाविस–२ देउरालीमा दुर्घटना हुँदा एक सांसदसहित चार जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय तनहुँले दिएको जानकारी अनुसार बा८च ७५९१ नंको कार पृथ्वीराजमार्गबाट अनियन्त्रित भई २० मिटर तल खस्दा सो दुर्घटना भएको हो ।
उक्त दुर्घटनामा परी कालीकोट जिल्लाका एनेकपा माओवादीबाट सांसद बनेका काठमाडौं महानगरपालिका हात्तीवन निवासी ५५ वर्षीय महेन्द्र शाहीसहित कारमा सवार चारैजना घाइते भएको प्रहरीले जनाएको छ। सो दुर्घटनामा सांसद शाही सामान्य घाइते भएका छन्।
उक्त दुर्घटनामा परी सोही स्थान निवासी १८ वर्षीया माधुरी मगरको टाउँको र ढाडमा गहिरो चोट लागेकाले अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ । त्यसैगरी सोही स्थान निवासी १६ वर्षीया सुजा शाही र ३० वर्षीय देवेन्द्र शाही सामान्य घाइते भएका छन् । दुर्घटनामा परी घाइते चारैजनाको दमौलीस्थित रत्नहरि अस्पतालमा सामान्य उपचारपछि थप उपचारका लागि तत्कालै पोखरास्थित मणिपालमा पठाइएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ । उक्त कारका चालक सांसद शाही नै भएको बुझिइएको छ । रासस