रियल म्याड्रिड कीर्तिमान १२ औंपल्ट च्याम्पियन

रियल म्याड्रिड कीर्तिमान १२ औंपल्ट च्याम्पियन


  • जनसञ्चार डट कम समाचारदाता
  • आइतबार, २१ जेष्ठ २०७४
  • 11.2K
    Shares

क्रिस्टियानो रोनाल्डोको दुई गोल सहयोगमा रियल म्याड्रिडले कार्डिफमा युभेन्ट्सलाई ४–१ ले निरास पार्दै शनिबार युरोपेली च्याम्पियन्स लिगको उपाधि रक्षा गरेको छ । प्रतियोगितामा यो उसको कीर्तिमान १२ औं उपाधि हो । र, रोनाल्डोले क्लब र देशको लागि ६ सयौं गोल पनि पूरा गरे ।
रियलले चार सिजयनयता च्याम्पियन्स लिगको उपाधि जितेको यो तेस्रो अवसर हो । उसको जित पोर्चुगिज सुपरस्टार रोनाल्डोद्वारा प्रेरित रह्यो । उत्कृष्ट खेल प्रदर्शन गर्दै उनी च्याम्पियन्स लिगको तीन फाइनलमा गोल गर्ने कीर्तिमानी पनि भए ।
ड्यानी कार्भाहालको पासलाई गोलमा परिणत गर्दै रोनाल्डोले २० औं मिनेटमा रियललाई अग्रता दिलाएका थिए । तर मारियो मान्जुकिचले ओभरहेडकिकमा लोभलाग्दो गोल गर्दै पहिलो हाफमै युभेन्ट्सलाई बराबरीमा पुर्‍याइदिए ।
दोस्रो हाफमा रियलले निक्कै आक्रमक लय समात्यो । कासेमिरोले प्रहार गरेको बलले डिफ्लेक्ट हुदै पोष्टको दिशा लिएपछि रियलले फेरि ६१ औं मिनेटमा अग्रता लिएको थियो । त्यसको तीन मिनेटभित्रै रोनाल्डोले ल्युका मोडरिचको उत्कृष्ट क्रसमा गोल गरेपछि रियल ३–१ ले अघि बढ्यो ।
सर्जियो रामोससँगको तनावमा सब्स्टिच्युट जुआन कुड्राडोले ८४ औं मिनेटमा दोस्रो पहेंलो कार्ड बेहोर्दै मैदान छाडेपछि इटालियन महराथीको संकट अझ गहिरिएको थियो । त्यसपछि सब्स्टिच्युट मार्को असेन्सियोले अन्तिम समयमा रियलको चौथो गोल गरेका थिए ।
जनवरी २०१६ मा प्रशिक्षक नियुक्त भएका जिनदिन जिदानको नेतृत्वमा रियलले ला लिगाको उपाधिसँगै च्याम्पियन्स लिग पनि जितेको हो ।

प्रतिक्रिया
सम्बन्धित समाचार