जनपक्षीय पत्रकार कृष्ण सेनलाई मार्ने को ?

जनपक्षीय पत्रकार कृष्ण सेनलाई मार्ने को ?


  • जनसञ्चार डट कम समाचारदाता
  • शनिबार, १३ जेष्ठ २०७४
  • 10.8K
    Shares

०५९ सालको कुरा हो,मंगलबार राति हामीलाई स्रोतले फोन गरेर साउतीको स्वरमा भन्यो- ‘कृष्णलाई त मार्यो नि ।’ को कृष्ण ? उनले सबै कुरा भन्न सकेनन् । संकटकालको बेला थियो,सेना,प्रहरी सबैले प्रेसलाई सताइराखेको अवस्था थियो,दरबार हत्याकाण्ड भएर ज्ञानेन्द्रले सत्ता लिएको वर्ष दिन पुग्दै थियो । हामीलाई यसरी सूचना दिने व्यक्ति कृष्ण सेन मारिएको ठाउँका प्रत्यक्षदर्शीमध्येकै थिए ।

फोन आएपछि यस विषयमा छलफल गर्यौं । तर,कम्फ्युजन भयो । मारिएका व्यक्तिको नाम ‘कृष्ण’ मात्रै भनिएको थियो । जबकि पक्राउ परेका कृष्णहरु दुईजना थिए,एउटा कृष्णध्वज खड्का, अर्का कृष्ण सेन । हामीले त्यो हप्ता विस्तृत सूचना पाउन नसकेपछि समाचार लेखेनौं ।

अर्को हप्ताको सोमबार फेरि फोन आयो । स्रोतले भन्यो-’ तपाईहरु समाचार छाप्न डराउनभएछ यार !’ हामीले भन्यौं-’किन डराउनु र, को कृष्ण भन्ने डिटेलमा भन्नुपर्यो नि ।’ उसले भन्यो-’त्यो पत्रकार कृष्ण के त !’ यसपछि भने मारिने व्यक्ति कृष्ण सेन नै रहेछन् भन्ने पक्का भयो । उनलाई जेठ ६ गते प्रहरीले पक्रिएको थियो । मारिएको घटना थियो जेठ १३ गतेको ।

घटना के हो भनेर सोध्दा स्रोतले भन्यो-’बसेर केरकार गर्दागर्दै ढली गो नि । औषधि नियमित खानुपर्ने उसलाई मुटुको रोग पनि रहेछ । औषधि पनि खान नपाएको,अलिअलि स्वीट एण्ड सावर गर्दागर्दै ढल्यो ।’ कृष्ण सेनको हत्या हुँदा त्यहाँ कोको थिए ? यो प्रश्नमा स्रोतले भन्यो-’तत्कालीन भ्याली डीआइजी अमरसिंह शाह,डीएसपी विक्रम थापा, ज्याङ्गो ज्यान गरेका इन्स्पेक्टर कमल खाँण । उनीहरुले कुटेर मारे ।’ अनि लास के गरे त ? ‘पिकअप गाडीमा हालेर लगे र विष्णुमतितिर सेलाए । पोल्नुभन्दा पहिले इन्काउन्टरमा मारिएको भन्ने पार्नलाई छातीमा दुईवटा गोली हानेर मुचुल्का बनाए ।’

स्रोतले यस्तो जानकारी दिएपछि हामीले ०५९ असार १२ गतेको जनआस्था साप्ताहिकमा ‘कृष्ण सेन पशुपतिमा खरानी’ शीर्षकमा समाचार लेख्यौं । अलविदा कृष्ण सेन भनेर सम्पादकीय लेख्यौं । कष्ण सेन मेरा पनि साथी थिए । म पत्रकार महासंघको महासचिवमा उठ्दाखेरि महेश्वर दाहाल केन्द्रीय सदस्यमा उठेका थिए । हामीवीच संयुक्त प्यानल बनाउँदा कृष्ण सेन वार्तामा सँगै थिए ।

समाचार लेख्ने बेलामा मैले तत्त्कालीन भ्याली डिआइजी अमरसिंह शाहलाई पनि सोधें । उनले भाइ,लेख्नचाँहि नलेख्नोस्,तर अलिअलि तीतोमीठो गर्दागर्दै गयो क्या भने ।

अर्को हप्ता जनआस्थामा फलोअप स्टोरी गर्नेक्रममा फेरि पुरानो स्रोतलाई सोधें, ‘आखिर सेनलाई मारियो चाँहि कसरी त ?’ स्रोतले भन्यो- ‘तिनै डिआइजी अमरसिंहले कृष्ण सेनलाई सोधे,ल भन् तँ पनि ठकुरी, म पनि ठकुरी, राजा पनि ठकुरी, तैंले के ठानेको छस् र के गर्न सक्छस् ? कृष्ण सेन त्यति बोलिराखेका थिएनन् र उनी कमजोर थिए । त्यही क्रममा सानो कोठामा लगेर भाक्कभुक्क हिर्काउँदा हिर्काउँदै मरिहाले ।

सेनको हत्यासम्बन्धी समाचार आएपछि गृहमन्त्रालयले यसबारेमा छानविन गर्न श्रीपुरुष ढकालको नेतृत्वमा आयोग पनि बनाएको थियो । हरिहर वस्तीले पोष्टमार्टम गरेको भन्ने त्यसमा रिपोर्ट छ । मंगोलियन अनुहारको, यति उमेरको मान्छे गोकर्णको जंगलमा इन्काउन्टरमा मारिएको भन्ने छ । आयोगमा पनि वयान लिन बोलाएको थियो । तर, हामी गएनौं ।

कृष्ण सेनको समाचार लेखेपछि जनआस्थामाथि चर्को प्रहार भयो । त्यतिबेला देवेन्द्रराज कँडेल गृहराज्यमन्त्री थिए । देउवा प्रधानमन्त्री थिए । हिरासतमा भएको मान्छेलाई मारेको भनिसकेपछि उनीहरुलाई सीपीजेबाट चर्को दबाव आयो । पत्रकार गोपाल बूढाथोकीलाई पनि त्यहीबेला सेनाले अपहरण गरेको स्थिति थियो । म भागीभागी हिँड्नुपरेको थियो । तत्कालीन प्रधानसेनापति प्रज्वलसमशेरको समाचार लेख्दा मलाई पक्राऊ गरियो ।चिनियाँ राष्ट्रिय दिवशको अवसरमा र्याडिसन होटलमा आयोजित रात्रिभोजमा तत्कालीन सेनापतिसँग मेरो झगडै भयो, उनले तँलाई शुट गर्छुसम्म भने । पञ्चायतकालमा विमर्श पत्रिकाबाट शासकहरुलाई जस्तो अप्ठ्यारो थियो, त्योबेला जनआस्थाबाट उनीहरु त्यसैगरी आत्तिएको अवस्था थियो । त्यसपछि अकस्मात् श्रीषा प्रकरण आयो ।

श्रीषा कार्की प्रकरणमा ४४ जना मुछिएका छन् । लोकमानसिंह कार्की पनि यसका एउटा पात्र हुन् । कान्तिपुरका साहुहरु पनि हुन् । केशव स्थापित र खुमबहादुर खड्का पनि हुन् । उनीहरु सबै मसँग आगो भैराखेका थिए । प्रदीपसमशेर आइजीपी थिए, राधाकृष्ण मैनालीका सम्धी डीआइजी अच्युत चालिसे पनि समाचारका पात्र थिए, उनीहरु सबैले भूमिका खेले । उनीहरुले जनआस्था बन्द गराउन खोजे, तर सम्भव भएन । कान्तिपुर पनि मेराविरुद्ध लाग्यो, युवराज घिमिरे मेरा साथी सम्पादक , तर उनको बसमा थिएन कान्तिपुर । अजय दासले मसँग २२ मिनेटको अन्तरवार्ता लिएका थिए, तर एक सेकेन्ड पनि प्रसारण भएन । उनीहरुले हाम्रो भनाइ कँहि,कतै प्रकाशित गरेनन्, एकोहोरो स्टोरी दिए । अहिलेको लोकमान प्रकरणमा पनि उनीहरु यसैगरी परिचालित भए ।

श्रीषा प्रकरणमा मलाई पक्रनका लागि कसलाई खटाइएको थियो ? डीएसपी विक्रम थापा, जसले कृष्ण सेनलाई कुटेर मारेको भनेर हामीले लेखेका थियौं, तिनैलाई अनुसन्धान अधिकृत बनाएर खटाइएको थियो । किशोर श्रेष्ठलाई पक्रेर अनुसन्धान गर्नु भनी तिनैलाई खटाइएको तोक लगाएको कपी हामीसँग सुरक्षित छ । यसैबाट सबै कुरा प्रष्ट हुन्छ, सेनको हत्यासम्बन्धी समाचारको बदला लिनकै लागि हामीलाई ज्यान मुद्दा लगाइएको थियो । यो मुद्दा टुंगिन दुई वर्ष लाग्यो । यसबारे जनआस्थाका पत्रकार विश्वमणि सुवेदीको किताब निस्कँदैछ ।

जोखिम मोलेर कृष्ण सेनको हत्यासम्बन्धी समाचार बाहिर ल्याए पनि हामीलाई माओवादी नेताहरुले सामान्य धन्यवादसम्म दिएनन् । बरु उल्टै सुराकी, दरबारिया आदि आरोप लगाउने काम गरे । माओवादी नेताहरुले यसमा हामीलाई जसरी हेरे पनि केही गुनासो छैन । किनभने हामीले व्यक्तिगत लाभका लागि सेनको हत्यासम्बन्धी समाचारमा जोखिम मोलेका थिएनौं । पत्रकारिताको धर्म निर्वाह गरेका हौं, जोखिम मोलेका हौं । उनीहरुले धन्यवाद देलान् भनेर यो काम गरिएको होइन । स्रोतका अगाडि हामीले आफूहरु काँतर नरहेको देखायौं र उनले दिएको सूचनालाई सलाम गर्यौं । समाचार सही सावित भयो । हामीले यो काम नगरेको भए अहिले पत्रकार कृष्ण सेनलाई माओवादीले बेपत्ताको सूचिमै राखिरहेका हुने थिए ।

कृष्ण सेन मेरा पनि साथी थिए । उनको आस्था र विचार जे भए पनि स्वाभाविकरुपमा एउटा पत्रकार त्यसरी मारिनु जघन्य अपराध हो । मरेको मान्छेलाई छातीमा गोली दागेर इन्काउन्टरमा मारिएको मुचुल्का तयार पार्नुजस्तो ठूलो अपराध अरु केही हुनै सक्दैन !
(पत्रकार सेनको हत्यासम्बन्धी समाचार ब्रेकिङ गर्ने जनआस्था साप्ताहिकका सम्पादक किशोर श्रेष्ठसँग सेन मारिएको ११ वर्षमा अनलाइनखबरले गरेको कुराकानीमा आधारित )

प्रतिक्रिया