पोखराको चिसाखोलाका खाजाघरहरुमा यौनधन्दा : एक जना किशोरीको उद्धार, चार महिला पक्राउ

पोखराको चिसाखोलाका खाजाघरहरुमा यौनधन्दा : एक जना किशोरीको उद्धार, चार महिला पक्राउ


  • जनसञ्चार डट कम संवाददाता
  • शुक्रबार, १५ साउन २०८३
  • 1.7K
    Shares

पोखरा, १४ साउन २०८३।

आर्थिक अवस्था कमजोर रहेकी किशोरीलाई यौनजन्य गतिबिधि गर्न बाध्य पारेको आरोपमा पोखरा महानगरपालिकाको वडा नम्बर १८ चिसाखोलाबाट चार जना महिला पक्राउ परेका छन्। पक्राउ पर्नेहरुमा पोखरा महानगरपालिका–१८ निवासी ४२ वर्षीया मनदेवी क्षेत्री, ४१ वर्षीया इन्द्रा लामा, ४५ वर्षीया टिकामाया तामाङ र ४० वर्षीया मिनकुमारी गुरुङ रहेका छन्।

चिसाखोला क्षेत्रमा सञ्चालित विभिन्न खाजाघरमा अनैतिक गतिविधि भइरहेको सूचना पाएको प्रहरीले उनीहलाई उक्त आरोपमा पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कास्कीले जानकारी दिएको छ।

जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार , बिहिबार साँझ करिब ६ बजे चिसाखोला क्षेत्रका खाजाघरहरुमा छापा मार्ने क्रममा प्रहरीले आर्थिक अवस्था कमजोर भएकी एक बालिकालाई विभिन्न प्रलोभन देखाई राम्रो आम्दानी हुने भन्दै होटलमा आउने पुरुषहरूसँग रकम लिएर जबरजस्ती रात बिताउन तथा अनैतिक कार्यमा संलग्न गराउने गरिएको फेला पारेको थियो । त्यसपछि प्रहरीले ती किशोरीलाई उद्धार गरेर उनको संरक्षण तथा आवश्यक कानुनी प्रक्रिया सम्बन्धित निकायसँग समन्वय गरी अघि बढाइएको प्रहरीले जनाएको छ।

पक्राउ परेका महिलाहरुविरुद्ध मानव बेचबिखन तथा ओसारपसार सम्बन्धी कसूरमा कास्की जिल्ला अदालतबाट सात दिनको म्याद थप अनुमति लिई थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ।

उद्धार गरिएकी बालिकाको संरक्षण तथा आवश्यक कानुनी प्रक्रिया सम्बन्धित निकायसँग समन्वय गरी अघि बढाइएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया