पोखरा , १० साउन २०८३ ।
पोखरा उद्योग वाणिज्य संघको आगामी नेतृत्वका लागि तीन जना आकांक्षीले अध्यक्ष पदमा आफ्नो दाबी प्रस्तुत गरेका छन्। संघको ३६औँ महाधिवेशन तथा ७२औँ वार्षिक साधारणसभा आगामी भदौ २० र २१ गते आयोजना हुने तय भएसँगै नेतृत्व चयनलाई लिएर व्यवसायीमाझ चुनावी गतिविधि बढेको हो।
अध्यक्ष पदका लागि वर्तमान वरिष्ठ उपाध्यक्ष उत्तममान बुद्धाचार्य, महासचिव शोभा गौतम र उपाध्यक्ष बलराम आचार्यले उम्मेदवारी घोषणा गरिसकेका छन्।
बुद्धाचार्यले लामो समयदेखि सामाजिक, धार्मिक तथा व्यावसायिक क्षेत्रमा सक्रिय रहँदै हासिल गरेको अनुभवलाई नेतृत्वमा उपयोग गर्ने बताएका छन्। संघको कार्यसमिति सदस्य हुँदै वाणिज्य उपाध्यक्ष र वरिष्ठ उपाध्यक्षसम्मको जिम्मेवारी सम्हालिसकेका उनले व्यवसायीको हकहित, एकता र संस्थागत सुदृढीकरणलाई प्राथमिकतामा राखेर अध्यक्ष पदमा उम्मेदवारी दिएको बताएका छन्।
उनले व्यवसायीहरूसँगको निरन्तर सम्पर्क र विगतमा प्राप्त सद्भावलाई आगामी नेतृत्वका लागि आधार बनाउँदै थप प्रभावकारी रूपमा काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।
त्यस्तै, संघकी वर्तमान महासचिव शोभा गौतमले पनि अध्यक्ष पदमा आफ्नो उम्मेदवारी अघि सारेकी छन्। संघका विभिन्न उपसमिति, कार्यसमिति सदस्य र उपमहासचिव हुँदै महासचिवको जिम्मेवारी सम्हालेकी गौतमले आफ्नो सांगठनिक अनुभवलाई नेतृत्वमा उपयोग गर्ने बताएकी छन्।
उम्मेदवारी घोषणा गर्दै उनले पद प्राप्त गर्नुभन्दा जिम्मेवारीलाई सेवाका रूपमा ग्रहण गरेर काम गर्नु महत्वपूर्ण रहेको धारणा व्यक्त गरिन्। संघको इतिहासमा हालसम्म महिला अध्यक्ष बन्न नसकेको उल्लेख गर्दै गौतमले आफूलाई पोखराका उद्योगी–व्यवसायीको ‘छोरी–चेली’ का रूपमा प्रस्तुत गरेकी छन्। उनले आगामी दिनमा सक्षम र समावेशी टिमसहित आफ्नो कार्ययोजना सार्वजनिक गर्ने बताएकी छन्।
यसैगरी, संघका उपाध्यक्ष बलराम आचार्यले पनि अध्यक्ष पदका लागि उम्मेदवारी घोषणा गरेका छन्। एक दशकभन्दा बढी समयदेखि संघमा निरन्तर सक्रिय रहेको अनुभव, व्यवसायीहरूको आग्रह र आफ्नो प्रतिबद्धताका आधारमा चुनावी मैदानमा उत्रिएको उनले बताएका छन्।
आचार्यले विगतका निर्वाचनमा जस्तै यसपटक पनि व्यवसायीको साथ र सहयोग प्राप्त हुने विश्वास व्यक्त गरेका छन्। व्यवसायीका समस्या समाधान तथा निजी क्षेत्रका मुद्दालाई प्रभावकारी रूपमा अघि बढाउने प्रतिबद्धता जनाउँदै उनले इमानदारीपूर्वक काम गर्ने बताएका छन्।
पोखरा उद्योग वाणिज्य संघ पोखराको निजी क्षेत्रको पुरानो र प्रतिष्ठित संस्था भएकाले यसको नेतृत्व चयनलाई व्यवसायीहरूले विशेष महत्वका साथ हेर्ने गरेका छन्। विगतमा संस्थागत प्रतिष्ठा र व्यावसायिक घरानासँग जोडिने संघको निर्वाचन पछिल्ला वर्षहरूमा भने व्यक्ति, समूह र विभिन्न सामाजिक समीकरणको प्रभावसमेत देखिन थालेको व्यवसायीहरू बताउँछन्।
तीन आकांक्षीले उम्मेदवारी घोषणा गरिसकेपछि आगामी महाधिवेशनमा प्रतिस्पर्धा थप रोचक बन्ने देखिएको छ। अब उम्मेदवारहरूले आफ्नो टिम, एजेन्डा र चुनावी रणनीति सार्वजनिक गर्दै मतदाता व्यवसायीलाई आफ्नो पक्षमा आकर्षित गर्ने तयारी थालेका छन्।