कुवेतमा इरानले गरेको ड्रोन आक्रमणमा परेर मृत्यु भएका नेपालीको खुल्यो पहिचान, पार्थिव शरीर नेपाल ल्याउने प्रक्रिया शुरु

कुवेतमा इरानले गरेको ड्रोन आक्रमणमा परेर मृत्यु भएका नेपालीको खुल्यो पहिचान, पार्थिव शरीर नेपाल ल्याउने प्रक्रिया शुरु


  • जनसञ्चार डट कम संवाददाता
  • शुक्रबार, १५ साउन २०८३
  • 855
    Shares

काठमाडौँ, १५ साउन २०८३।

कुवेतमा इरानले गरेको ड्रोन आक्रमणमा परेर मृत्यु भएका नेपालीको पहिचान खुलेको छ।

कुवेतको उत्तरी क्षेत्रमा इरानले बिहिबार गरेको ड्रोन आक्रमणमा परी नेपालको तेह्रथुम घर भएका सवारी चालक ४४ वर्षीय सोमकुमार तामाङको मृत्यु भएको  कुवेतस्थित नेपाली राजदूतावासले जानकारी दिएको छ।

कुवेतस्थित नेपाली राजदूतावासका अनुसार बिहिबार भएको उक्त घटनाबारे कुवेतको परराष्ट्र मन्त्रालयले औपचारिक रूपमा नेपाली दूतावासलाई जानकारी गराएको हो।

घटनाप्रति गहिरो दुःख व्यक्त गर्दै दूतावासले स्वर्गीय तामाङप्रति श्रद्धाञ्जली अर्पण गरेको छ भने शोकसन्तप्त परिवारजनप्रति हार्दिक समवेदना प्रकट गरेको छ।

दूतावासले तामाङको पार्थिव शरीर यथाशीघ्र नेपाल पठाउने तयारी भइरहेको जनाएको छ। त्यसका लागि कुवेती अधिकारीहरू तथा सम्बन्धित निकायसँग आवश्यक समन्वय र कूटनीतिक प्रक्रिया अघि बढाइएको दूतावासले जनाएको छ।

यसैबीच, कुवेतमा विकसित सुरक्षा अवस्थालाई ध्यानमा राख्दै नेपाली दूतावासले त्यहाँ रहेका सम्पूर्ण नेपाली नागरिकलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ। दूतावासले कुवेत सरकारले जारी गरेका सुरक्षा निर्देशन तथा मापदण्डको पूर्ण पालना गर्न, अनावश्यक आवतजावत नगर्न र सुरक्षित स्थानमा रहन सबै नेपालीलाई अपिल गरेको छ।

कुवेतको उत्तरी क्षेत्रमा पछिल्लो समय बढ्दो सुरक्षा संवेदनशीलताका कारण दूतावासले परिस्थितिको निरन्तर अनुगमन गरिरहेको जनाएको छ। साथै, आवश्यक परेमा नेपाली नागरिकलाई दूतावाससँग सम्पर्कमा रहन पनि अनुरोध गरिएको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार