पोखरा , १० साउन २०८३ ।
काठमाडौं — सानिमा क्यापिटल लिमिटेडकी प्रवक्ता रश्मी रिजालको मृत्यु प्रकरणमा प्रहरीको प्रारम्भिक अनुसन्धानले आत्महत्यातर्फ संकेत गरेको छ। यद्यपि, पोस्टमार्टम तथा फरेन्सिक परीक्षणको विस्तृत प्रतिवेदन प्राप्त भएपछि मात्रै घटनाबारे अन्तिम निष्कर्षमा पुगिने जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ।
प्रहरीका अनुसार सीसीटीभी फुटेजमा रिजाल आफैँ पेट्रोल र लाइटर बोकेर घटनास्थलतर्फ गएको देखिएको छ। घटनास्थलमा पुगेपछि गाडीको पछाडिको सिटमा बस्नासाथ आगोको झिल्को देखिएको फुटेजसमेत प्राप्त भएको प्रहरी स्रोतले जनाएको छ। यही आधारमा प्रहरीले प्रारम्भिक रूपमा घटनालाई आत्महत्याको कोणबाट अनुसन्धान गरिरहेको हो।
४५ वर्षीया रिजाल साउन ८ गते बिहानदेखि परिवार तथा आफन्तको सम्पर्कबाट बाहिर थिइन्। उनको खोजी भइरहेको अवस्थामा साउन ९ गते शनिबार काठमाडौंको तारकेश्वर नगरपालिका–१ स्थित कालेबासे चुनदेवी बालुवा प्रशोधन केन्द्र नजिकै आफ्नै विद्युतीय कारभित्र जलेको अवस्थामा शव फेला परेको थियो।
प्रहरीका अनुसार बा.ई. ०३१० (BAE 0410) नम्बरको विद्युतीय कारको पछाडिको सिटमा रिजालको शव फेला परेको हो। घटनास्थल तथा सीसीटीभी फुटेजका आधारमा अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ।
प्रहरीले घटनाको थप अनुसन्धानसँगै शवको पोस्टमार्टम र फरेन्सिक परीक्षण गरिरहेको छ। ती प्रतिवेदन प्राप्त भएपछि मात्रै मृत्युको वास्तविक कारणबारे अन्तिम निष्कर्ष सार्वजनिक गरिने जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ।