युनाइटेड र आयाक्स युरोपा लिगको फाइनलमा भिड्ने

युनाइटेड र आयाक्स युरोपा लिगको फाइनलमा भिड्ने


  • जनसञ्चार डट कम समाचारदाता
  • शुक्रबार, २९ बैशाख २०७४
  • 10.4K
    Shares

एजेन्सी

म्यान्चेस्टर, वैशाख २९ – खेलको अन्त्यतिर गोलको खतराबाट बच्दै इंग्लिस क्लब म्यान्चेस्टर युनाइटेड युरोपा लिगको फाइनलमा प्रवेश गरेको छ ।

स्पेनिस क्लब सेल्टा भिगोलाई १–१ को बराबरीमा रोक्दै समग्रमा २–१ को जित निकाल्दै युनाइटेडले फाइनलमा डच जायन्ट आयाक्ससँगको भिडन्तको पक्का गरेको हो ।

पहिलो लेगमा १–० को अग्रता बनाएको युनाइटेडले मारुयेन फेलानीको गोलको मद्दतले खेलमा नियन्त्रण बनाएको थियो ।


मार्कस रासफोर्डको पासमा खेलको १७ औँ मिनेटमा गोल गर्दै फेलानीले युनाइटेडलाई आफ्नो घरेलु मैदानमा अग्रता दिलाएका थिए ।

तर, अन्त्यतिर फाकुन्डो रोन्काग्लियाले गोल गरेपछि खेल निकै रोमाञ्चक बनेको थियो ।

त्यसपछि दुई टोलीका खेलाडीहरु बीच झगडा हुँदा रोन्काग्लिया र युनाइटेडका एरिक बेलीले रातो कार्ड पाएका थिए ।

खेलको अन्तिम प्रहारको रुपमा सेल्टाका स्ट्राक्यर जोन गुइडेटीले गोल गर्ने अवसर चुकेपछि मात्र युनाइटेडको जीत सुनिश्चित भएको थियो ।

जितसँगै युनाइटेड पहिलो पटक युरोपा लिगको फाइनलमा प्रवेश गर्दै च्याम्पियन्स लिगमा स्वतः प्रवेश पाउने सम्भावना कायम राखेको छ ।

अब युनाइटेडले मे २४ मा स्टोकहोममा आयाक्सको सामना गर्दैछ ।


उता, आयाक्सले पनि लियोनको पुनरागमनलाई रोक्दै फाइनलको यात्रा तय गर्यो । सन् १९९६ पछि युरोपियन प्रतियोगिताको फाइनलमा आयाक्स पुगेको यो पहिलो अवसर हो ।

कास्पर डोल्बर्गले गोल गरेपछि डच टोलीले खेलमा ५–१ को समग्र अग्रता बनाएको थियो ।

तर, अलेक्जान्डर लाकाजेटेको दुई तथा राचिड गेजेलको एक गोलको मद्दतले लियोनलाई खेलमा फर्कने आशा मिलेको थियो ।

अझ निक भियरगेभेरले रातो कार्ड पाएपछि आयाक्स १० खेलाडीमा सिमित बनेको थियो ।

तर, त्यसपछि लियोनले पाएको थुप्रै अवसर सदुपयोग गर्न नसक्दा ३–१ को जीत हासिल गरेपनि आयाक्सले खेल समग्रमा ५–४ ले आफ्नो पक्षमा पार्न सफल रह्यो ।

प्रतिक्रिया
सम्बन्धित समाचार