करोडौं कुम्ल्याएर कैलाश विकास बैंकका म्यानेजर फरार

करोडौं कुम्ल्याएर कैलाश विकास बैंकका म्यानेजर फरार


  • जनसञ्चार डट कम समाचारदाता
  • बुधबार, ६ बैशाख २०७४
  • 21.6K
    Shares

पोखराको लामाचौरस्थित कैलाश  बैंक शाखाका प्रबन्धक रविचन्द्र खनाल वैशाख १ मा भागेका हुन् । उनले नेपाल छाडिसकेका छन् । लायन्स क्लबको कार्यक्रमका सिलसिलामा एकपटक अमेरिका घुमेर फर्केका उनीसँग उक्त देशको ५ वर्षको भिसा रहेकाले उतै गएको अनुमान छ ।

६ महिनाअघिमात्रै लामाचौर शाखा प्रबन्धक भएर गएका खनालले बैंकका ग्राहकको खाताको पैसा लिएको प्रारम्भिक अनुमान भए पनि कति करोड हिनामिना भयो भन्ने यकीन जानकारीका लागि बैंकले अहिले धमाधम अडिट गरिरहेको छ । त्यसबाहेक पनि उनले आफ्ना साथीभाइ, चिनेजानेका तथा बैंकका ग्राहकसँग पनि व्यक्तिगत रुपमा पैसा उठाएको र सहकारीबाट पनि पैसा लिएको बैंकरहरू बताउँछन् ।

जिल्ला प्रहरी कार्यालय कास्कीमा कैलाश बैंकले आफ्ना शाखा प्रबन्धक सम्पर्कविहीन बनेको र पैसा अनियमितता गरेको भन्दै उजुरी दिएको छ । बैंकले प्रहरीलाई काठमाडौंमा पनि उजुरी गरेको छ । विभिन्न सहकारीमा आवद्ध भएर त्यहाँ कारोबार गर्ने र सेयर किनबेचमा पनि सक्रिय हुँदै आएकी खनालकी पत्नी लक्ष्मी फेवा फाइनान्समा कार्यरत छिन् । पति भागेलगत्तै उनी पनि कार्यालय नगएको बुझिएको छ । लक्ष्मी फेवामा मानव संशाधन विभाग प्रमुख छिन् ।

‘कर्मचारीलाई फलानो मान्छे यति नम्बरको चेक लिएर आउँछ, अहिले मलाई पैसा दिँदै गर भन्दै खनालले पैसा लिएका रहेछन्’, स्रोतले बतायो, ‘तर पछि चेक लिएर कोही जाँदो रहेनछ ।’ कतिपयले डिपोजिटका लागि दिएको रकम र चेक पनि खातामा जम्मा नगरिएको पनि बताइएको छ ।

काठमाडौंमा केन्द्रीय कार्यालय रहेको बैंक व्यवस्थापनले खनाल भागेको थाहा पाउनासाथ अडिट टोलीलाई पोखरा पठाएको हो । उनले गरेको आर्थिक अनियमितताबारे यकीन रिपोर्ट लिएर प्रहरीलाई बैंकले बुझाउने भएको छ । ‘त्यस्तो रिपोर्टको आधारमा प्रहरीले खनाललाई पक्रने र कारबाही गर्ने प्रक्रिया थाल्न सजिलो हुन्छ’, स्रोत भन्छ ।

छानबिन र लेखापरीक्षण अनुसार खनालले कैलाश बैंक शाखाबाट डेढ करोडभन्दा बढी हिनामिना गरेको प्रारम्भिक अनुमान छ । तर त्यो रकम अझै बढी हुन सक्ने र उनले सबैतिर ठगीको रकम १० करोडसम्म पुग्न सक्ने अडकल काटिएको छ । जग्गाको कारोबार गर्नेहरूसँग ब्याजको लोभमा पैसा लेनदेन कारोबारमा संलग्न हुँदा खनाल फसेको उनका निकटस्थहरू बताउँछन् ।

जिल्ला प्रहरी कार्यालयले सादा पोशाकका प्रहरी लगाएर रविचन्द्रको खोजीलाई तीव्रता दिएको थियो । तर पछिल्लो समय उनले देश छाडिसकेको बुझिएको छ । खनाल कैलाश विकास बैंकमा आउनुअघि नेपाल एक्सप्रेस फाइनान्सको पोखरा, सभागृहचोकस्थित शाखा प्रमुख थिए ।

उक्त फाइनान्स गएको वर्षमात्रै कैलाश विकास बैंकमा मर्ज भएको हो । सँगसँगै मेट्रो विकास बैंक पनि मर्ज भएको थियो । एउटा शाखा हेरिसकेको व्यक्ति भनेरै कैलाशले लामाचौर शाखामा खनाललाई जिम्मेवारी सुम्पेको थियो ।

 

प्रतिक्रिया